काठमाडौं । खुलामञ्चमा पार्किङ बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काठमाडौं महानगरको निर्णयविरुद्ध अकुपाई टुँडिखेल अभियानले खबरदारी गरेको छ । अकुपाई टुँडिखेल अभियानले सोमबार सुनधारास्थित महानगरको कार्यालय पुगेर विरोध प्रदर्शन गरेको हो । स्थानीयवासी र संरक्षण अभियान्ताले सोमबार विरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाउन गएका थिए । तर, मेयर साहले स्थानीयबासी र अभियन्ताहरूलाई भेट्न अस्वीकार गर्नुभयो । उहाँले समय नभएको भन्दै भेट्न अस्वीकार गरेपछि अभियान्ताहरूको टोलीले उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरूको माग छ । खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरूले बताउँदै आएका छन् । विरोध कार्यक्रममा बोल्दै अकुुपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उहाँले जनतादेखि जनप्रतिनिधिहरू सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावनाविपरीत काम गरिरहेको आरोपसमेत लगाउनुभयो । महानगरपालिका सार्वजनिक जग्गाको संरक्षक भए पनि मालिक नभएको उहाँको भनाइ थियो ।
त्यस्तै, अभियानको कार्यक्रममा सहभागी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने धारणा राख्नुभयो । उहाँले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिनु नहुनेमा जोड दिनुभयो । पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन उहाँको सुझाव थियो ।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।
जनचाहनाविपरीत अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभयो । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो धारणा राख्नुभयो । डंगोलले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने स्पष्ट पार्नुभयो । उहाँले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको धारणा राख्नुभयो ।
टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने उहाँको भनाइ थियो । ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यकता हो कि होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डिपिआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझावबिना महानगरले कुनै काम गर्नेछैन,’ उहाँले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका