सडक निर्माण, विस्तार र मर्मतमा सधैं किन द्वन्द्व ?

प्रा. देवीभक्त ढकाल
Read Time = 18 mins

जल र रेल यातायातको व्यवस्था नभएको नेपाल जस्तो देशका लागि सडक नै यातायातको प्रमुख क्षेत्र हो । अहिले नेपालमा मानव र मानव सामग्रीहरूको ओसारपसार गर्ने एकमात्र भरपर्दो साधन सडक यातायात नै हो । विश्वमा स्थल, जल र वायु यातायातका साधन प्रचलनमा छन् । नेपाल भूपरिवेष्टित देश भएकाले जल परिवहनको सम्भावना शून्यप्रायः छ । वायु यातायात पनि तुलनात्मक रूपमा सीमितमात्रै भएर भरपर्दो नहुँदा सडक यातायातको भूमिका मुख्य छ । सडकहरूको औसत लम्बाइ छिमेकीहरूको तुलनामा कम मात्रै छैन कि सडकको गुणस्तरसमेत अत्यन्तै न्यून छ । तिनै न्यून गुणस्तरीय सडकहरूको विस्तार, पुनर्निर्माणको काम निरन्तर हुन्छ । तर, हाम्रो दुर्भाग्य सडकको गुणस्तर वृद्धि गर्न आजका मितिसम्म सरकार पूर्णतः असफल छ ।

तिनै गुणस्तरहीन सडकको विस्तार र पुनर्निर्माणको क्रममा सरकारी निकायहरू र जनताबीच जताततै द्वन्द्व किन हुन्छ ? जनतामात्रै दोषी छन् कि यो नकारात्मक परिस्थिति सिर्जना गर्न सरकार दोषी छ ? सरकारका सडकसँग जिम्मेवार निकायहरू र जनताबीच निरन्तर हुँदै आएको द्वन्द्वका विषयमा स्थायी निकास खोज्नका लागि अब यसबारे बहस, अन्तक्र्रिया, छलफल, विचारविमर्श, अध्ययन, अनुसन्धान जस्ता विविध विषयलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता टड्कारो रूपमा देखियो । अहिलेका स्थानीय निकायले गर्ने विकासको कामअन्तर्गत सडकको विस्तार, मर्मत मुख्य हुन् । सडकका लागि प्राप्त सरकारी बजेटलाई उपयोग गर्न यस्ता काम गर्न जनप्रतिनिधि बाध्य छन् ।

गएको सडक विस्तारको नाममा नगरपालिकाले गरेको उर्दीको भरमा व्यक्तिले आफ्नो जमिन अनिवार्य दान गर्नुपर्ने कुरा देशको कुन कानुनले भन्छ ? व्यक्तिको लालपुर्जाको जमिन कसैको उर्दी र लहडको भरमा अनिवार्य स्वामित्व हस्तान्तरण गर्नुपर्ने विषयले अहिले देशभर आतंक र द्वन्द्वको अवस्था छ ।

त्यस्ता कामबाट कतियप ठाउँमा जनप्रतिनिधि र कर्मचारीसमेतले नाजायज फाइदाको खेती गर्ने गरेका विषय चर्चामा छन् । भनिन्छ, पहाडी क्षेत्रहरूमा प्रायः धेरै जनप्रतिनिधि र कर्मचारीले निजी डोजर र ट्रयाक्टर नै खरिद गरेर सडक मर्मत र विस्तारको कामलाई निजी व्यवसायसमेत बनाएका कारण सडक विस्तार र मर्मतका काम तिनीहरूको उच्च प्राथमिकता पर्ने गर्छ । बढ्दो शहरीकरण र यातायातका साधनको पहुँच पुर्‍याउँदा जनतालाई आवश्यक वस्तुहरू आयात गर्न र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने काममा सडक यातायातको अहं भूमिका हुन्छ । सडक यातायातलाई सबैको पहुँचमा पु¥याउन अहिले जताततै सडक निर्माण र विस्तारको काम भइरहेको छ ।

जनप्रतिनिधिले सडक निर्माण र विस्तारको नाममा जनताको निजी हकभोगमा रहेको जमिनलाई अबका मितिदेखि यति मिटर सडक बढाउने भन्ने निर्णयका भरमा उर्दी जारी गर्ने र आफूखुशी सडक विस्तार गर्ने शैली र प्रवृत्तिले जनअसन्तोष बढेको हो । अहिले शहरमा बढ्दो बसाइँसराइको लहरका कारण नगरपालिकाहरूमा घडेरी लिने, घर बनाउनेको अत्यधिक चाप छ । तसर्थ शहरमा थोरै भने पनि घडेरी किन्ने देखासिकी प्रभावले अहिले नेपाली समाज ग्रस्त छ । थोरै क्षेत्रफलमा घर बनाएका र बनाउने योजना भएकाका लागि सडक विस्तारको उर्दीले धेरै नागरिक प्रभावित छन् । के तिनीहरूको आवाजको सुनुवाइ सरकारले गर्नु पर्दैन ?

सडक विस्तारको नाममा नगरपालिकाले गरेको उर्दीको भरमा व्यक्तिले आफ्नो जमिन अनिवार्य दान गर्नुपर्ने कुरा देशको कुन कानुनले भन्छ ? व्यक्तिको लालपुर्जाको जमिन कसैको उर्दी र लहडको भरमा अनिवार्य स्वामित्व हस्तान्तरण गर्नुपर्ने विषयले अहिले देशभर आतंक र द्वन्द्वको अवस्था छ । यसरी जमिनलाई जबर्जस्ती अधिग्रहण गर्न पाइँदैन भन्ने परमादेश समेत सरकारका नाममा सर्वोच्च अदालतले जारी गरेको अवस्थामा शहरमा भएको जमिनको क्षेत्रफल सडक विस्तारका नाममा जबर्जस्ती अधिग्रहण गर्दा जनता र जिम्मेवार निकायबीच बारम्बार द्वन्द्वको अवस्था सिर्जना हुनु विकास र समृद्धिको दृष्टिकोणले अशोभनीय भन्नुपर्छ । सडक विस्तार गर्ने नाममा हुने काम कारबाहीलाई प्रतिशोधात्मक शैलीमा कार्यान्वयन गर्ने विषयमा सबै नागरिकको अभिभावकीय भूमिकासमेत निर्वाह गर्नुपर्ने सरकारी निकायका जिम्मेवारले विशेष विचार पुर्‍याउनुपर्छ ।

नियम र कानुनको परिधिलाई सबैले पालना गर्ने वातावरण निर्माण गर्ने काममा जिम्मेवारहरू चुकेका कारण सबैले कानुन र नियमको सम्मान र पालना गर्ने संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । पैसा र शक्ति हुनेहरू र तिनका आसेपासेलाई नियमले नछुने जस्ता विभेदकारी भूमिका सरकारका निकायबाट हुँदा गलत सन्देश प्रवाह भएको छ । त्यसैले कानुनको परिधिभित्र रहन सबैलाई बाध्य पार्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सरकार असफल छ ।

अहिले चितवनको नारायणगढ बजार सरकारको डोजर आतंकले कुरूपमात्रै छैन व्यवसाय र व्यवसायीहरूको विचल्लीसमेत भएको छ । सडक व्यवस्थित गर्ने काम समयको माग हो । तथापि सडकलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारी सरकारको मात्रै हो कि समाजको पनि ? सरकार सधैं नागरिकको सहजकर्ताको भूमिकामा रहनुपर्छ । सरकारले आफूलाई सहजकर्ताकोे हैसियतमा मात्रै सीमित हुने परिस्थिति बनाउन किन सकेन ?

सडकलाई समाजले उपभोग गर्ने भएकाले त्यसको निर्माण, विस्तार र मर्मतको काममा समाजलाई जिम्मेवार बनाउन सरकार किन सक्दैन ? सडकको उपभोक्ता पनि समाज भएकाले समाजलाई विश्वासमा लिएर समाजमार्फत नै सडक क्षेत्रलाई खाली गर्ने काममा दबाब सिर्जना गर्न सकेको भए राज्यले डोजर आतंकको कलंक भिर्नुपर्ने थिएन । भनिन्छ, राज्य र नागरिकबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ । जनतासँग नङ र मासुको सम्बन्ध बनाउन राज्यका जिम्मेवार निकाय किन चुक्छन् ? सरकार सबै नागरिकको अभिभावक भएकाले सबैका गुनासा, मर्काहरूको सुनुवाइ, सम्बोधन र निकाससमेत खोज्ने जिम्मेवारीबाट सरकार पन्छन मिल्दैन ।

सरकारमा जनताका मर्का, समस्यालाई आफ्नै समस्याको रूपमा आत्मसात गर्ने चरित्र भएको भए ध्वंसात्मक समाधानको उपाय खोज्ने थिएन । प्रजातान्त्रिक पद्धतिमा ध्वंसात्मक समाधान निषेधित हुन्छ । जनताको सम्पत्ति नै राज्यको सम्पत्ति हो भन्ने भावना सरकारसँग भएको भए ध्वंसात्मक समाधानको बाटो राज्यले अख्तियार गर्ने थिएन । सरकारका काम कार्यबाहीहरूमा निष्पक्षता, तटस्थताप्रति जनताको विश्वास डग्मगाउने काम गर्नु हुँदैन । यदि जिम्मेवारहरू निष्पक्षता, तटस्थता र न्यायिक पक्षमा नचुकेको भए सडक विस्तारको क्रममा जताततै राज्य र नागरिकबीचको वर्तमान द्वन्द्वको अवस्था सिर्जना हुने थिएन । द्वन्द्वको मुख्य कारण विश्वासको संकट हो ।

नियम सबैलाई समान लागू हुने वातावरण यसअघि निर्माण भएको भए सबै नियम र कानुनसँग भयभीत हुन्थे । तर, यहाँ शक्ति जोसँग छ ऊसँग नियम र कानुन लज्जावती हुने संस्कार र संस्कृति जनतामा नियम र कानुनलाई सम्मान गर्ने जुन वातावरण बन्नुपर्ने थियोे त्यो बनाउन सरकारका निकाय असफल सावित भएको प्रमाण हो सडक विस्तार जस्तो लोककल्याणकारी काममा उत्पन्न द्वन्द्व । जनतालाई पूर्णविश्वासमा लिने योजना र वातावरण सिर्जना नगरिकन डोजर आतंक सिर्जना गरेर आतंकित बनाउने शैलीमा विकास र निर्माणका काम हुनुभनेको सिर्जनशीलतालाई हतोत्साही गराउने विधि हो ।

अभिभावकीय भूमिका निर्वाह गर्न सरकार असफल भएको प्रमाण हो । अभिभावकीय भूमिकालाई निर्वाह गर्न सरकारका निकाय सक्षम हुने बित्तिकै द्वन्द्वको अवस्था आउँदैन । सरकारले प्रक्रियालाई नियमसँग भन्दा व्यवहारसँग तालमेल गर्नुपर्छ । सडक विस्तारको विषय राम्रो हो तर विस्तारको क्रममा जनताको सम्पत्ति ध्वस्त गर्ने र आतंक सिर्जना गर्ने विषय किमार्थ राम्रो होइन ।

नियमलाई कार्यान्वयन गराउने विषयलाई राज्यले यस्ता विषयमा ध्वंसात्मक बाटोभन्दा समाजका अगुवालाई विश्वासमा लिएर सम्बन्धित पक्षलाई सम्झाउने र समाजरूपी समस्या समाधानको हतियारको रूपमा समाजका अगुवाहरूलाई प्रयोग गर्न सकेको भए राज्यको अभिभावकीय भूमिकामा कसैले प्रश्न गर्ने ठाउँ हँुदैनथ्यो । जनतालाई सम्झाउने र विश्वासमा लिने प्रयासलाई सरकारका निकायले कार्यान्वयन गर्न प्राथमिकता दिनु पर्दथ्यो । जनताको विश्वास जित्ने विधिलाई सरकारका जिम्मेवार निकायले सधैँ बेवास्ता गर्नुभनेको जनता र सरकारबीच विद्यमान सम्बन्धमा दरार उत्पन्न गर्ने दुष्प्रयास हो । जनता र सरकारबीचको सुमधुर सम्बन्धमा खलल ल्याउने पद्धति, शैलीद्वारा हुने विकासले जनतामा असन्तुष्टि ल्याउँछ । जनअसन्तुष्टि ल्याउने विकासलाई कसरी विकास भन्ने ?

सरकारका सबै काम कारबाहीको अन्तिम गन्तव्य भनेको नै जनतालाई अधिकतम सन्तुष्टि दिनु हो । जनतासँग द्वन्द्वको खेती गर्ने काम कुनै लोकतान्त्रिक सरकारले गर्दैन । गर्नु हुँदैन । सरकार र जनताबीच द्वन्द्व उत्पादन नै नहुने वातावरण निर्माण गर्नु नै सरकारको बुद्धिमानी हो । विकास निर्माण जस्तो जनउपयोगी काममा द्वन्द्वको आभाससम्म दिनु भनेको सरकार असफल हुनु हो । सडक जस्तो लोककल्याणकारी कामका सन्दर्भमा सरकार अलोकप्रिय हुने विषय लोकतान्त्रिक सरकारको लागि दुर्भाग्य हो ।
विकासको काममा नागरिकलाई आतंकित गर्न सरकारले प्रहरी, सेनालाई प्रयोग गर्नु सरकारको असफलताको प्रमाण हो । विकास र निर्माणका कामहरू जनताका लागि भएकाले जनतालाई नै विश्वासमा लिएर यस्ता कामहरू स्वतः व्यवस्थित गर्ने परिस्थितिको निर्माणका विधि र प्रविधिहरूलाई सक्रियतापूर्वक परिचालन गर्न नसक्नु सरकारको मुख्य कमजोरी हो ।

नागरिकले घरमा प्रयोग गर्न खरिद गरेका सिसा, फर्निचर लगायतका सामानहरू हिजो किन्दा पनि दुर्लभ विदेशी मुद्रा नै खर्च भएको थियो । अहिले कुरूप बनाइएका घरहरूलाई मर्मतसंहार गर्न पनि फेरि दुर्लभ मुद्रा नै जरुरी हुन्छ ।

सडक विस्तारको क्रममा चितवनको नारायणगढ बजारमा सरकाररूपी अभिभावकबाट डोजर आतंकबाट भएको क्षतिको दृश्य अत्यन्तै दुःखद् र हृदयविदारक थियो । व्यावसायिक घर निर्माणमा भएको लगानी राष्ट्रिय लगानी हो । त्यसलाई नोक्सान नगरिकन झिक्ने प्रबन्ध गर्ने जिम्मेवारी सरकारको पनि हो । घरमा जडित सिसा, फर्निचरलगायत सामानहरूलाई ध्वंसात्मक शैलीमा फाल्ने र नष्ट गर्ने दृश्यले सबै देख्ने नागरिकहरूको मन खिन्न बनायो । सरकारले गरेको उक्त ध्वंसात्मक विधिका कारण अन्य नागरिकको समेत अभिभावकीय विश्वास गुमाएको विषय लोकतान्त्रिक सरकारका लागि दुर्भाग्य नै भन्नुपर्छ ।

नागरिकले घरमा प्रयोग गर्न खरिद गरेका सिसा, फर्निचरलगायत सामानहरू हिजो किन्दा पनि दुर्लभ विदेशी मुद्रा नै खर्च भएको थियो । अहिले कुरूप बनाइएका घरहरूलाई मर्मतसंहार गर्न फेरि दुर्लभ मुद्रा नै जरुरी हुन्छ । त्यहाँ भएका सामग्री निकाल्ने प्रबन्ध गर्न सकेको भए ती सबै पुनः प्रयोग हुनसक्थे । करोडौं मूल्यका सामग्रीलाई नष्ट गरेर सरकारले के पायो ? व्यवस्थित रूपमा सबै सामग्रीहरू कमभन्दा कम नोक्सानी हुनेगरी झिक्नुपर्ने सरकारको दायित्वलाई सरकार आफैँले अवहेलना गर्ने विषय सभ्य समाजमा कुनै पनि तर्क र बाहनामा स्वीकार्य हुँदैन ।

यस्ता घटना होइन धेरै दुर्घटना हामीले देख्दै र भोग्दै आएका छौँ, यसलाई व्यवस्थित र जनअसन्तोषलाई न्यूनीकरण गर्ने दिशामा सरकार किन व्यावहारिक अग्रसरता देखाउँदैन ? यो विशेष चासो र चिन्ताको विषय हो । सडक निर्माण किन नागरिकमैत्री हुन सक्दैन ? आगामी दिनमा विकासका काममा ध्वंसात्मक समाधानको बाटो अख्तियार नगर्न सरकारले आफूलाई गम्भीरतापूर्वक समीक्षा र पुनर्विचार गर्नुपर्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
साधुराम खनाल
साधुराम खनाल
2023-01-03 9:13 am

सुझाव मननयोग्य छ, सरकारले देशका प्रबुद्ध बर्गहरू संग देश सञ्चालन गर्ने सन्दर्भमा सहकार्यका
हातहरू बिन सर्त बडाउनु पर्छ, प्रबुद्ध बर्गहरूसंगको
सहकार्यले नै हामीलाई समृद्ध गन्तव्यतर्फ पुर्याउन
मद्दत गर्दछ।प्रबुद्ध बर्गले देशका समसामयिक जल्दो बल्दा समस्या र निदान बारे खेलिने भुमिका आफ्नो कर्तव्य हो भन्ने पनि जिम्मेवारी बहन गर्न सक्नु पर्दछ। रचना सान्दर्भिक छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?