सिद्धारा घटनाः ढुंगा र हँसियाले हानेर हत्या, लतार्दै खोल्सामा लगेर गहना लुटपाट

तस्बिरः न्युजकार खाना

हिमालय टाइम्स
Read Time = 3 mins

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका-१० सिद्धारा बोखरमा एक ६० वर्षीया महिलाको हत्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको हत्या भएको हो ।

घर नजिकैको खोल्सीमा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट लागेको देखिएकाले थापाको हत्या भएको हो प्रहरीले जनाएको छ । थापाको घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भात जाँदै गरेका भारतीय नागरिक सुशान्त सिंहलाई प्रहरीले शीतगंगा-११ को जंगलबाट नियन्त्रणमा लिएको हो ।

६० वर्षीया राधा थापा हरेक दिनजस्तो आइतवार बिहान पनि छिमेकीको घरमा दूध लिन निस्किइन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अपराधीको निसानामा परिन् । भारतको गुडगाँव घर भई  हाल अर्घाखाँची शीतगंगा नगरपालिका-१० स्थित बोखोरकी शिवकला परियारसँग विवाह गरेका सुशान्त सिंहले गहना लुटपाटकै लागि महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससुराली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आसपासमा हत्या गरेको स्वीकार गरेका छन् ।

दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडिबाट ढुंगा र हँसियाले हानी थापाको हत्या गरेपछि लतार्दै बाटोदेखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सुनका गरगहना लुटपाट गरेको प्रहरीलाई बयान दिएका छन् । आरोपी सिंहलाइ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद लिएर अर्घाखाँची प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?