विवादमा घेरियो नेपाल टी-२० लिग, म्याच फिक्सिङको गम्भीर आरोप

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र भारतको सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा जारी नेपाल टी-२० लिग विवादले घेरिएको छ । लिगमाथि म्याच फिक्सिङको गम्भीर आरोपसमेत लागेको छ । आधिकारिक प्रसारणमा कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उहाँले नेपालीसहित विदेशी खेलाडीहरूसमेत मिलेमेतोमा रहेको बयान दिनुभएको हो ।

उहाँले कमेन्टरका रूपमा आफूले प्रत्येक बल हेर्ने गरेको र त्यसक्रममा खेल भावना विपरीतका गतिविधि भइरहेको देखेको बताउनुभएको छ । उहाँले त्यसबारे एन्टिकरप्सन युनिट, क्यानका पदाधिकारीलगायत सम्पूर्णलाई जानकारी दिए पनि कसैले चासो नदेखाएको जिकिर गर्नुभएको छ ।

उहाँले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जालगायत खेलाडीहरूका गतिविधि सामान्य नरहेको समेत उदाहरण दिनुभएको छ । त्यसबाहेक नेपाली टोलीका एक बलरले पनि खेल भावनाविपरीत नो बल फालेको उहाँको भनाइ छ ।
सरोकारवालाले उक्त कुरा सही भए सम्बन्धितलाई तत्काल कारबाहीको माग गरेका छन् । क्रिकेट खेलाडी अन्तिम थापाले यदि यो सत्य हो भने लिग तत्काल रोकी त्यस्ता गतिविधि गरिरहेकालाई कारबाही हुनुपर्ने धारणा राख्नुभएको छ ।

यस्तै, क्रिकेट समर्थक विमल पौडेलले क्यानका अध्यक्ष, कोषाध्यक्ष, कार्यवाहक सचिवलगायत कसैको पनि अब पदमा बसिरहने नैतिकता नभएको भन्दै राजीनामा माग्नुभएको छ ।

मंगलबार काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेनन् । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्नेमा खेल नै सुरु हुन सकेन । दुवै टोलीका खेलाडी मैदानमा भए पनि टस नै गर्न आएका थिएनन् ।

खेलाडीहरूले सम्झौताअनुसार पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय गरेका थिए । सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भए पनि हालसम्म पोखराका खेलाडीले ५० प्रतिशत र अन्य खेलाडीले कुनै रकम पाएका छैनन् ।

आयोजक सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालियासहित फारवेस्ट युनाइटेड, जनकपुर र विराटनगरका मालिकहरू सम्पर्कमा नआएपछि खेलाडीहरू टस गर्न नै नआएका हुन् । क्यानसँगको छलफलपछि खेलाडीहरू मैदान आएका थिए ।

यसअघि पनि नेपाल टी-२० लिग विवादमा घेरिएको छ । पटक-पटक गरी लिग तेस्रोपटक स्थगित भएको थियो । तेस्रो पटकलाई सारिएको मितिमा पनि खेलाडीहरूको श्रम सम्झौता नभएको भन्दै रोकिएको थियो ।

त्यसअघि काठमाडौं गोर्खाजले प्रतियोगिताबाट हात झिकेको थियो । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले लिगमा कानुनी उल्झन रहेको भन्दै नाम फिर्ता लिएको थियो । त्यसको ठाउँमा क्यानले नयाँ व्यवस्थापनसँगै काठमाडौं नाइट्स टोलीको घोषणा गरेपछि प्रतियोगिता सञ्चालनमा आएको हो ।

यसअघि काठमाडौंमा हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपिएल)ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुनविपरीत रहेको र यो प्रक्रिया पारदर्शी नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उसले भारतीय कम्पनीलाई बिनाप्रतिस्पर्धा आयोजनाको अधिकार दिने निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) गर्न मागसमेत गरेको छ । क्यानले खुला प्रतिस्पर्धाबिना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० लिग आयोजनाको अधिकार आठ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

काठमाडौंको जित
यस्तै, प्रतियोगितामा मंगलबार भएको खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्समाथि ३४ रनको जित हात पारेको छ । काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा ५८ रन बनाउँदै सबै विकेट गुमाएको थियो ।

विराटनगरका गौरांशु शर्माले १३ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २२, विवेक यादवले १५ बलमा १२ रन तथा नन्दन यादवले ११ रन बनाउनुभयो । काठमाडौंका कमलसिंह ऐरीले १.५ ओभरमा १३ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, अनिल खरेलले दुई ओभरमा ११ रन खर्चेर दुई तथा सुनम गौतमले एक ओभरमा तीन रन खर्चेर दुई विकेट हात पार्नुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा निर्धारित समयभन्दा ठूलो खेल सुरु भएपछि नौ ओभरमा झारिएको खेलमा काठमाडौंले पाँच विकेट गुमाउँदै ९२ रन बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन बनाउनुभयो । यस्तै, कमलसिंह ऐरी पाँच बलमा दुई छक्कासहित १४ रनमा अविजित रहनुभयो । विकेटका लागि एलेक्स ब्लेक र सन्दीप रजालीले ३२ रनको साझेदारी गर्दै टोलीलाई अघि बढाउनुभएको हो ।

एलेक्स ब्लेक नौ बलमा दुई चौकासहित १३ रन तथा ज्ञानेन्द्र मल्ल ११ बलमा एक चौकासहित १४ रन बनाउनुभयो । विराटनगरका नन्दन यादवले २ ओभरमा एक मेडनसहित आठ रन खर्चेर तीन विकेट लिनुभयो । हुसेन तालत र केओन जोसेफले एक–एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?