भीमेश्वर रंगशालाको प्यारापिट निर्माण अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 4 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको निर्माणाधीन भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भीमेश्वर नगरपालिकाको गौरवको आयोजनामध्येको एक सो रंगशालाको दक्षिण-पूर्वतर्फको प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

१३ करोड नौ लाख ७१ हजार ८७५ रुपैयाँको लागत अनुमान रहेको भीमेश्वर रंगशालाको दक्षिण-पूर्वतर्फको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुभयो । रंगशालाको दक्षिण-पूर्वतर्फको प्यारापिट निर्माणका लागि २०७७ साल असार १२ गते किराँतेश्वर/सिमपानी जेभीसँग १२ करोड ६५ लाख ८२ हजार ५२१ रुपैयाँ (भ्याटसहित) मा निर्माण सम्झौता भएको थियो । प्यारापिट निर्माणको वित्तीय प्रगति भने ८६ प्रतिशत रहेको सूचना अधिकारी अर्यालको भनाइ छ ।

रंगशाला निर्माणको पहिलो चरणमा हुने कामअन्तर्गत दक्षिण-पूर्वतिरको दुईतले भवनसहितको अत्याधुनिक आरसिसी प्यारापिट निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो । रंगशालाको दक्षिण-पूर्वतर्फ हाल २५-२५ मिटर लम्बाइका दुईवटा र ३०-३० मिटरका दुईवटा ब्लक निर्माण सम्पन्न हुने चरणमा छन् । निर्मित संरचनामा भुइँतल्लामा ४० वटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्यारापिट निर्माण सकिएको छ । निर्माण सम्झौताबमोजिम अब ६ वटा शौचालयको फिनिसिङ, स्टिल रेलिङ, युपिभिसीका झ्याल ढोका तथा मञ्चमा ट्रस हाल्ने काममात्र बाँकी रहेको निर्माण कम्पनी सिमपानी जेभीका राजु केसीले जानकारी दिनुभयो । अबको दुई महिनाभित्र काम सम्पन्न गरी प्यारापिट हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।

पूर्णरूपमा निर्माण सम्पन्न भएपछि रंगशालाको मैदानको लम्बाइ ११० मिटर तथा चौडाइ ६५ मिटर हुनेछ । भीमेश्वर रंगशाला निर्माणका लागि २० करोड लागत अनुमान गरिएको । पहिलो चरणमा सो प्यारापिटको निर्माण गरिएको हो । दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आहृवान गरिने भीमेश्वर नगरपालिकाले बताएको छ । दोस्रो चरणमा उत्तरतिरको प्यारापिट, खेलमैदान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुने बताइएको छ ।

रंगशाला निर्माणपछि राष्ट्रियस्तरका खेलहरू सदरमुकाम चरिकोटमा सञ्चालन गर्न सकिनेछ । यसबाट चरिकोटमा खेल पर्यटकहरू आउँदा आन्तरिक पर्यटकहरूको आगमन बढ्ने नगरको विश्वास छ । रंगशालाको उत्तर–पूर्वतर्फ भने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम तथा खेलकुदका कार्यालय राख्ने कोठालगायतका संरचना निर्माण गरिने योजना रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?