सिँचाइ कुलोले जुम्ली किसानमा खुसी

हिमालय टाइम्स
Read Time = 4 mins

जुम्ला । जुम्लाको चन्दनाथ नगरपालिका–९ की नन्दलक्ष्मी रावलले सिँचाइ कुलो निर्माण भएपछि खेती किसानीबाट निकै नै राम्रो प्रतिफल लिन थालेको बताउनुभयो । सिँचाइ सुविधा हुनु अघिसम्म जसोतसो एक बाली लगाउने रावल अहिले दुई बालीसम्म भिœयाउनुहुन्छ ।
सिँचाइपछि चन्दननाथ-९ मा रिमिज्युलोमा खेत भएका सबै किसान निकै खुसी छन् । उमगाड सिँचाइ कुलो निर्माणपछि किसानले बालीमा सहजै सिँचाइ गर्न पाएका छन् । कृषि विकास कार्यालय जुम्लाको ६ लाख र २० प्रतिशत स्थानीयको लागतमा यहाँ १४२ मिटर आरसिसी कुलो बनेको छ । यसअघि यहाँ माटो ढुंगाले कुलो बनाइएको थियो । सामान्य बाढी आउँदा पनि बगाउने हुँदा किसानहरू दिक्क भएका थिए । आरसिसी कुलो बनेपछि भत्किने र पानी चुहिने समस्या नभएको स्थानीय नवराज रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्की कुलो निर्माण भएसँगै किसानलाई निकै सहज भएको छ ।’

चन्दननाथ नगरपालिका-७ मा रहेको छन्ने ज्युलोमा पनि दुईवटा सिँचाइ कुलो निर्माण भएका छन् । बालढुक्सादेखि दोकामुलसम्म १२० मिटरको कुलो बनेको छ भने दोकामुलदेखि अगाडि १२० मिटर गरी २४० मिटर आरसिसी कुलो निर्माण गरिएको छन्ने ज्युलो सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार कुलो निर्माणसँगै तरकारी लगायतका नगदेबाली उत्पादनमा सहज भएको छ ।

जुम्ला हिमाली क्षेत्र भएकाले प्रायः सुक्खा रहन्छ । यहाँका किसानले माघ महिनामा अनिवार्य रूपमा हिउँदेबालीमा सिँचाइ गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चन्दननाथ नगरपालिकामा मात्रै तीनवटा कुलो निर्माण भएका छन् ।’ उहाँका अनुसार ६ लाख कृषि विकास कार्यालयको बजेट र २० प्रतिशत लागत सहभागितामा तीनवटै आरसिसी कुलो सम्पन्न भएका छन् ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा १०५ वटा सिँचाइ कुलो आयोजना रहेका छन् । जसअन्तर्गत केही सम्पन्न भएका छन् भने केही सम्झौता हुने क्रममा छन् । केही निर्माणधीन अवस्थामा छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जुम्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानले सहज महशुस गरिरहेको बताउनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा सिँचाइ योजना सञ्चालन गरेको खण्डमा पानीको अभावमा कुनै पनि किसानको जमीन बाँझो र रहने अवस्था आउँदैन । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरी २६ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?