सीमा नाकाबाट हुने अवैध व्यापार रोक्न माग

Read Time = 3 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ । चेम्बर प्रतिनिधिमण्डलले बुधबार गृहमन्त्री लामिछानेसँग भेट गरी सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो । सो अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमा व्यवस्थित गरेर अवैध कारोबार नियन्त्रण गर्नुपर्ने बताउनुभयो । दुई देशबीचको खुला सीमाको फाइदा उठाएर अवैध कारोबार हुने भन्दै उहाँले अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैया“ राजस्वसमेत गुमाइरहेको बताउनुभयो ।

खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै चेम्बरले व्यापारिक सन्तुलनका लागि आयात–निर्यात पनि व्यवस्थित गराउनुपर्नेमा जोड दिएको छ । सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्नेसहित विभिन्न १० बु“दे सुझाव दिएको चेम्बरले नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर हृयाक हुने, एटिएमबाट अनधिकृतरूपमा पैसा चोरी हुनेलगायतका वित्तीय अपराधका घटना वृद्धि भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

आमसर्वसाधारणसँगै निजी क्षेत्र पनि साइबर अपराधको शिकार भइरहेकाले सरोकारवाला सबैसँग सुझाव लिई अन्तर्राष्ट्रिय अभ्यासका आधारमा साइबर सुरक्षासम्बन्धी कानुन बनाई व्यवस्थित गर्नुपर्ने चेम्बरको सुझाव छ । पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै चेम्बरले काठमाडौंको ठमेल, चितवनको सौराहा तथा पोखरास्थित रात्रिकालीन व्यवसाय निर्वाध सञ्चालन हुने वातावरण मिलाउनसमेत आग्रह गरेको छ ।

सो अवसरमा गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराइएको जानकारी दिँदै नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?