युवाविहीन बन्दै दोलखाका गाउँ

हिमालय टाइम्स
Read Time = 5 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाका गाउँहरू अहिले युवाविहीन बन्न थालेका छन् । रोजगारीको अभावका कारण युवाहरू विदेश तथा सहर पस्ने क्रम बढेसँगै गाउँहरू युवाविहीन बन्न थालेका हुन् । दोलखाका विभिन्न गाउँमध्ये बिगु गाउँपालिका-५ मा रहेको शेर्पा बस्तीका रूपमा चर्चित खार्ताल गाउँ पनि एक हो । गाउँमा रोजगारीका अवसर नभएकै कारण अहिले युवाहरूले गाउँ छाड्ने क्रम बढेको बिगु गाउँपालिका खार्तालका ६१ वर्षीय लाक्पा शेर्पाले बताउनुभयो । गाउँमा रोजगारीको अवसर भए बुढेसकाल लागेका आमा बाबुलाई छाडेर विदेश जाने रहर कसैलाई नहुने शेर्पाको भनाइ छ ।

खार्तालका युवाहरू अहिले कोही विदेश त कोही सहर पसेका छन् । विवाहित श्रीमतीहरू पनि छोराछोरी बोर्डिङ पढाउन भन्दै सहरमै बस्ने गरेका छन् । गाउँका अधिकांश घरहरूमा ताला लागेको खार्तालका अर्का स्थानीय च्याङलोमा शेर्पाले बताउनुभयो । ‘खार्तालमा घरहरू त बाक्लै देखिन्छन् तर मानिसहरू छैनन् ।’ उहाँले भन्नुभयो, ‘मानिस भएका घरहरूमा पनि बुढापाका मात्रै छन् ।’ भूकम्पपछि गाउँमा नयाँ चिटिक्क परेका विद्यालय भवनहरू बनेका छन्् । तर, विद्यार्थीको संख्या भने घटिरहेको छ । गाउँमा काम गर्ने युवाको संख्या घटेको कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन थालेको खार्तालकै अर्का स्थानीय च्यामार शेर्पाले दुःखेसो व्यक्त गर्नुभयो ।

विशेष गरी शेर्पाहरूको बसोवास भएको खार्ताल गाउँमा ८० घर रहेकोमा आधाभन्दा कममा मात्र मानिस रहेका शेर्पाको भनाइ छ । पहिले चौँरी पालनलाई आफ्नो मुख्य पेसा बनाएका खार्तालका शेर्पाहरूले अहिले चौँरी पाल्न छाडेका छन् । पहिले घरैपिच्छे जस्तो चौँरीपालन हुन्थ्यो तर अहिले मुस्किलले दुई-चार गोठ चौँरी छन् । कच्ची सडक गाउँको माझबाट गएको छ । भूकम्पपछि नयाँ घरहरू बनेका छन् । केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा पुगेको छ । सदरमुकामसँगको दूरी छोटिएको छ । गाउँमा सामान ल्याउन सजिलो भएको छ । तर, रोजगारी नभएका कारण युवाहरूले गाउँ छोडिरहेका छन् । ‘सबै कुराको असुविधा हुँदा गाउँमा टन्नै मानिस थिए । अब सुविधा आयो गाउँमा मान्छे भएनन् । खै के भयो भयो ?’ च्यामार शेर्पाले भन्नुभयो, ‘रोजगारी नभएर युवा विदेश भासिए गाउँ रित्तियो । सरकारले रोजगारीको व्यवस्था मिलाए गाउँ पहिले जस्तै हुने थियो ।’

सडक पक्की बनाउने तथा स्थानीय खोलाहरूमा पुल हाल्ने अनि जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यो सरकारले नै खरिद गरिदिने व्यवस्था गरिदिए रोजगारीका अवसर बढ्ने शेर्पाको अनुमान छ । बढी उचाइको ठाउँ भएकाले खार्तालमा कोदो, गहुँ तथा आलु मात्र खेती हुन्छ । त्यसैको भरमा जीवन गुजारा नचल्ने स्थानीयहरू बताउँछन् । खार्ताल निकटको स्याँखु गाउँको पनि हालत उस्तै छ । भूकम्पपछि घरहरू बाक्लै बनेका छन् तर मानिस छैनन् । खार्ताल गाउँ त नमुना मात्र हो दोलखाका हरेक गाउँको कथा यस्तै छ । गाउँका प्रायः युवा रोजगारीको खोजीमा विदेश तथा देशकै सहरी क्षेत्रतर्फ लागेका दोलखाका ग्रामीण भेगमा बसोवास गर्नेहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?