वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको कांग्रेसको आरोप

प्रचण्ड पाँच दलीय गठबन्धन बीचको प्रतिबद्धताबाट हटेको जिकिर

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन अवसरवादीहरूको भएको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पार्टी कार्यालय सानेपामा बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको आरोप लगाउनुभएको हो । सत्ता गठबन्धनका दलहरूमा विचार र दृष्टिकोणमा कुनै एकता नभएको जिकिर गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयताविरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पद मात्र छ । पदको भागबण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भावना देखेका छौँ ।’

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन
कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिबद्धताबाट पछि हटेको समेत आरोप लगाएको छ । पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिबद्धताबाट पछि हटेपछि गठबन्धन फुटेको आरोप लगाउनुभएको हो । चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको र नेकपा माओवादी केन्द्रले गठबन्धन छाड्नुमा कांग्रेस दोषी नभएको जिकिर गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘प्रतिबद्धताबाट हामी हटेको होइनौँ । प्रचण्डजी हट्नुभएको हो । वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई हामीले प्राथमिकता दिएनौँ । यो अवस्थामा गठबन्धन टुट्नुमा नेपाली कांग्रेस दोषी छैन । यद्यपि, प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन बचाउनेबारे छलफल गरेर निष्कर्षमा पुग्ने समय हामीलाई प्राप्त भएन ।’

डा.महतले निर्वाचन अघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको आरोप लगाउनुभयो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनका दलहरूमा विचार र दृष्टिकोणमा कुनै एकता नभएको जिकिर गर्नुभयो । सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाउनुभयो । हालको सत्ता गठबन्धनमा रहेका दलहरूको भविष्यप्रतिको दृष्टिकोणमा कुनै एकता नभएको टिप्पणी गर्दै डा.महतले भन्नुभयो, ‘यो गठबन्धनको विचारमा एकता छैन, दृष्किोणमा एकता छैन । भविष्यप्रतिको दृष्टिकोणमा एकता छैन ।’

आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउँदै प्रवक्ता महतले पछिल्लो राजनीतिक घटनाक्रमको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको जानकारी दिनुभयो । नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको जिकिर गर्दै डा.महतले भन्नुभयो, ‘कांग्रेस विचलित भएको छैन । हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौँ । अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौँ । पार्टी संगठन विस्तारलगायत काम गर्छौं ।’

आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको डा.महतको दाबी छ । निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक रहेको तर सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको महतको भनाइ छ । प्रवक्ता महतले आगामी निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने दाबी गर्नुभयो ।

नयाँ दल पनि पदकै लागि कुदेको टिप्पणी
नेपाली कांग्रेसले वैकल्पिक शक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता र पद प्राप्तिकै पछि कुदेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले युवाहरूलाई नयाँ विश्वास र आकांक्षा दिन सफल पार्टी पनि सरकारमा गएपछि पद प्राप्तिकै लागि कुदेको उल्लेख गर्दै भन्नुभयो, ‘युवाहरूलाई विश्वास र आकांक्षा जगाएर बनेको पार्टी पनि अहिलेको गठबन्धन सरकारमा गएको छ । चुनाव अगाडि ‘नो नट अगेन’ भन्नेहरू पनि अहिले पद प्राप्तिमै सीमित भएका छन् ।’

भ्रातृ संस्थाहरूलाई पूर्णता दिन थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकअघि भ्रातृ संस्थाहरूलाई पूर्णता दिन प्रस्ताव गर्नुभएको छ । आगामी बैठकमा सभापतिले विभागको नामसमेत प्रस्तुत गर्नुपर्ने माग गर्दै महामन्त्री थापाले अब बस्ने बैठकले विभाग र भ्रातृ संस्थाहरूलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । कुनै पक्ष विपक्षभन्दा पनि अहिले पार्टीका कमिटीलाई पूर्णता दिन नसकेकै कारणले पार्टी सञ्चालनमा समस्या भएको टिप्पणी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘बैठक आसपासमा हाम्रो पार्टीको भ्रातृ संस्थाहरूलाई पूर्णता दिने विषयहरू २८ गतेको बैठकभन्दा पहिला टुंग्याऔँ भन्ने पक्षमा छु । मैले सबैसँग कुरा गर्दै छु, नेविसंघ, महिला संघ, तरुण दल, किसान संघलगायत केन्द्रीय समिति बनाउने काम अहिल्यै टुंग्याऔँ ।’ पार्टी विधानले सभापतिलाई सबै अधिकार दिए पनि कार्यसम्पादन नहुँदा पार्टी सञ्चालनमा समस्या भएको महामन्त्री थापाको आरोप छ ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने पार्टी विधानको व्यवस्था छ । विधानअनुसार २८ वटा विभाग गठन गर्नुपर्छ । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू गरी बढीमा ५१ जना रहने व्यवस्था छ । संघको निर्वाचन भएको तीन महिनाभित्र भ्रातृ संस्थाहरूको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ । तर, भंग भएका १० मध्ये पाँचवटा भ्रातृ संस्थाको मात्रै मूल नेतृत्व मनोनीत गरिएको छ । मूल नेतृत्व मनोनीत गरिएका ती भ्रातृ संस्थाले समेत पूर्णता पाउन सकेका छैनन् ।

एक हप्तापछि सर्‍यो कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक साता पर धकेलिएको छ । सभापति शेरबहादुर देउवाले चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही शुक्रबारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको थियो । तर, प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसद्को अधिवेशनभन्दा पछि सार्नुभएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक २८ पुसका लागि स्थगित भएको जानकारी दिनुभएको छ । चुनावमा गठबन्धन गरेर ८९ सिटसहित पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा केन्द्र र सातै प्रदेशमा सत्ताविमुख हुन पुगेको छ । त्यसबारे निर्णय प्रक्रियामा सभापति देउवाले कमजोरी गरेको भन्दै नेताहरूले असन्तुष्टि पोखिरहेका छन् ।

संसदीय दलको बैठक पुस २३ गते बस्ने
नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते बोलाएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । पार्टी संसदीय दलको नेतामा निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखकलाई नियुक्त गर्नुभएको छ । दलको सचेतक भने नियुक्त गर्न बाँकी छ ।

सातै प्रदेशमा सभापति देउवा पक्षको बैठक बस्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । सभापति देउवाले आफू निकटका नेताहरूलाई समन्वय गर्न जिम्मेवारीसमेत दिनुभएको छ । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ । प्रदेश १ मा देउवा पक्षको बैठक बसेको छ । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिनुभएको थियो । यस्तै, अन्य प्रदेशहरूमा पनि समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरूले आफूअनुकूल समय मिलाएर बैठक बोलाउन निर्देशन दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?