ज्ञानको चिहान : शैक्षिक मुद्दामा राजनीतिक बहस

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 16 mins

अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह परिकल्पनाकार रहेको नाटक ‘ज्ञानको चिहान’ हेर्नका लागि पुस १८ गतेका दिनमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले निम्तो दिनुभयो । सोही संगठनको शैक्षिक विभागले कलासी प्रोडक्सनसँग सहकार्य गरी प्रस्तुत गरेको यो नाटक पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशीष घिमिरेद्वारा लिखित हो । पुस ३० गतेसम्मका लागि शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको यो नाटक सारमा भन्नुपर्दा हेर्न लायक रहेको छ । विशेषतः शिक्षाक्षेत्रमा संलग्नहरूले र नीति निर्माताहरूले एकपटक हेर्दा आफ्ना कमी कमजोरीहरूलाई केलाउन नाटकले धेरथोर मद्दत गर्दछ । नाटक हेर्दै जाँदा यो साँच्चै बोध गरेर तयार गरिएको हो कि नाटकका लागि नाटक गरिएको हो भन्ने जिज्ञासा जाग्दछ ।

करिब डेढ घण्टाको प्रस्तुतिमा विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मका विसंगतिहरूलाई नाटकले समेट्ने प्रयास गरेको छ । निजी विद्यालयहरूले मच्चाएको लुटलाई सशक्त ढंगले देखाइएको छ भने ती विद्यालयहरूमा हाम्रा बालबालिकाले परीक्षामा पाएको नम्बर यथार्थ होइन भन्ने व्यंग्यवाणसमेत प्रहार गरिएको छ । राम्रो विद्यार्थीको अंकलाई तलमाथि गरी अयोग्य देखाउने र विद्यालयमा ट्युसन कक्षा लिन बाध्य बनाई शुल्क असुल्न निजी विद्यालयहरू माहिर छन् भन्ने देखाइएको छ । अर्थात् शिक्षाक्षेत्रलाई व्यापारिक परिवेशमा निजी विद्यालयहरूले पुर्‍याएको यथार्थ छर्लंग हुनेगरी नाटकमा समावेश गरिएको छ ।

नाटकका हरेक पात्र सशक्त छन् । कुनै पनि पात्रको प्रस्तुतिमा खोट लगाउन मिल्ने ठाउँ पाइँदैन । कुनै कलाकार भर्खरैका छन् भने कुनै केही पाका तर पनि कलिला कलाकारहरूका प्रस्तुति समेत दर्शकलाई आकर्षित गर्न सफल छन् । उच्चारण शुद्ध छ, भाषिक प्रखरता सबैमा देखिन्छ, बोलाइमा कतै कुनै अवरोध देखिँदैन । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय मालिक, विद्यार्थी नेता आदिको भूमिकामा रहेका सबै पात्रले आआफ्नो परिचयलाई स्थापित गर्न कुनै कसर राखेको पाइन्न । शुल्क तिरेर हेर्न गएका दर्शकले बेफ्वाँकमा पैसा खर्च गरियो भनेर पछुताउन पर्दैन ।

निजी विद्यालयहरूको लुट रोक्न भन्दै बेलाबेलामा विद्यार्थी संगठनहरूले निकालेका विज्ञप्ति पढ्न पाइन्छ । प्रत्येक वर्षको वैशाखमा नयाँ भर्ना लिने बेलामा शुल्क बढाउन पाइँदैन भनेर विद्यार्थी संगठनहरूले आन्दोलन घोषणा गरेको सुन्न पाइन्छ तर निजी विद्यालयहरूले शुल्क बढाएकै हुन्छन् ।

विद्यालयतर्फ भन्दा पनि बढी विश्वविद्यालयतर्फ नाटकलाई केन्द्रित गरिएको छ । विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू र विद्यार्थीहरूका चरित्रलाई राम्रैसँग उजागर गर्न नाटक सफल भएको छ । जो जस्तो छ, त्यस्तै हिसाबले प्रस्तुत गरिएको छ । शिक्षाक्षेत्र भन्दा बाहिरकालाई त केही बढाइचढाइ गरेको अनुभव होला तर विश्वविद्यालयमै रहेकाहरूले भने आफ्नै अनुहार नाटकमा हेर्न मनग्ये अवसर नाटकले प्रदान गरेको छ ।

विश्वविद्यालयहरू तालाबन्दीले जर्जर बनेका छन् । कहिले विद्यार्थीले त कहिले प्राध्यापकहरूले आफैँले पढ्ने र पढाउने ठाउँमा ताला लगाउनु सामान्य बनिसकेको छ भने कहिलेकाहीँ कर्मचारीहरू समेत थपिने गर्दछन् । विद्यार्थी आन्दोलन भनेको नियमित प्रक्रिया नै हो । योग्यलाई पञ्छाएर दलीयकरणका नाममा अयोग्यलाई भर्ती गर्नु कुनै नौलो कुरो होइन । सीमित सिट रहेका कक्षाहरूमा समेत विद्यार्थी संगठनहरूका दबाबमा केही बढी विद्यार्थी भर्ना लिने, संगठनका सिफारिशमा मेरिट लिष्टलाई थन्क्याएर संगठनकालाई भर्ना गर्ने र रकमको चलखेल हुने जस्ता कुराहरू पनि भइरहेकै छन् । यिनै कुराहरूलाई रिठ्ठो नबिराई नाटकका माध्यमबाट सबैका सामु प्रस्तुत गरिएको छ ।

राजनीतिक दलहरूले विद्यार्थीलाई शिक्षक, प्राध्यापक पिट्न सिकाए । पार्टीहरूले आफ्नो दुनो सोझ्याउन कक्षा प्रवेश गर्नभन्दा जुलुसमा हिँड्न विद्यार्थीलाई अभिप्रेरित गरे । विद्यार्थी संगठनका नेताहरूले आफू इतरकालाई अपमान गर्न सहपाठीहरूलाई उत्प्रेरित गरे । पढ्नभन्दा चन्दा उठाएर रमाइलो गर्न विद्यार्थीहरूलाई राजनीतिमा आकर्षित गरियो । यस्तै यस्तै विसंगतिलाई मनोरञ्जनात्मक तबरले ज्ञानको चिहान नाटकमा प्रस्तुत गरिएको छ । बीचबीचमा गीतका माध्यमबाट पनि शिक्षाक्षेत्रमा रहेका कमजोरीलाई उजागर गर्ने प्रयास गरेको भेटिन्छ ।

विश्वविद्यालयमा राजनीति गर्न हुँदैन । विश्वविद्यालयमै हो राजनीति गर्ने, पढाउने र सिकाउने । क्याम्पसहरूमा रहेका राजनीतिक विद्यार्थी संगठनहरू सबै बन्द गरिनु पर्दछ । होइन, विद्यार्थी संगठनहरू बन्द गर्ने होइन कि यिनीहरूलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउनुपर्दछ । यस्ता बहसहरू नाटक हेर्दाहेर्दै सुन्न पाइन्छ । नाटकले मनोरञ्जन दिँदा दिँदै पनि शैक्षिक मुद्दालाई राजनीतिक बहसमा उतारेर सकारात्मक सन्देश दिन भरमग्दुर प्रयास गरेको छ ।

नाटक सकिएपछि प्रेक्षालय बाहिर चिनजानका केही विद्यार्थीहरूले नाटक सम्बन्धमा प्रतिक्रिया मागे । नाटक प्रस्तोता संगठन सम्बद्ध विद्यार्थीहरूले नै यसका बारेमा सोधेका थिए । सो ठाउँमा विद्यार्थीसँग पक्ष र विपक्ष या नाटकको सशक्त पक्ष र कमजोर पक्षका बारेमा बहस गर्न उपयुक्त ठानिन । तसर्थ आउँदो बिहीबारको हिमालय टाइम्स हेर्नू, मेरो प्रतिक्रिया त्यहीँ आउँछ भनी म बाहिरिएँ । त्यसैले त्यही नाटकका बारेमा केही मनमा उब्जिएका प्रश्नहरू यहाँ प्रस्तुत गरेको छु ।

यो नाटक अन्य कुनै नाटक प्रस्तोताले प्रस्तुत गरेको भए अब्बल नाटक हो । नाटक हेरेपछि वाहवाही गर्नु र प्रशंसामा केही शब्द खर्चिनुबाहेक कुनै प्रश्न उठ्ने थिएन । माओवादी केन्द्रको भ्रातृ संगठनकी अध्यक्ष परिकल्पनाकार रहेको भए तापनि यसले दिएको सन्देश अत्यन्त सबल छ तर राजनीतिक दलहरूकै निकम्मापनले विश्वविद्यालयहरू अधोगतिमा दौडिरहेका बेला राजनीतिक संगठनबाटै यो प्रकृतिको नाटक आउँदा भने प्रशंसाका साथै केही जिज्ञासाहरू पलाउने रहेछन् ।

हुन त आफूले देखेको कुरा बताउन सहज हुन्छ । भोगेको कुरालाई जस्ताको तस्तै प्रस्तुत गर्न देखेको भन्दा सरल हुन्छ । अझ आफैँले गरेको कुरालाई पुनः प्रस्तुत गर्न प¥यो भने देखेको र भोगेको कुरालाई बताएभन्दा पनि छर्लंगै हुने गरी प्रदर्शन गर्न सकिन्छ । त्यस्तै विश्वविद्यालयमा उब्जिएका विसंगतिहरूमा कतै न कतै अन्य संगठनहरूका साथमा यो संगठनको पनि कुनै न कुनै भूमिका रहेका कारण यति सशक्त ढंगङ्गले यो नाटक आएको त होइन भन्ने प्रश्न उठ्दछ ।

भागबण्डाले विश्वविद्यालय ध्वस्त बनाएको छ । नाटकले यही भन्दछ । पछिल्ला कालखण्डमा माओवादी केन्द्रका नेताहरू गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, दीननाथ शर्माहरू नै शिक्षामन्त्री भएका थिए । यी नेताहरूलाई भागबण्डाका विरुद्धमा उभिन त्यही पार्टीको विद्यार्थी संगठनले बाध्य बनाउन किन नसकेको होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ । हुन त पार्टीका ठूला नेतालाई विद्यार्थी संगठनले निर्देशन दिन या नियन्त्रणमा राख्न सक्दैन तर विकृतिका विरुद्धमा आवाज उठाउन भने सक्दछ तैपनि सशक्त आवाज उठाएको त्यति सुन्न पाइए जस्तो लाग्दैन । पुरानो र अव्यावहारिक शिक्षा नीतिका सवालमा पनि यस्तै प्रश्न जाग्दछ ।

निजी विद्यालयहरूको लुट रोक्न भन्दै बेलाबेलामा विद्यार्थी संगठनहरूले निकालेका विज्ञप्ति पढ्न पाइन्छ । प्रत्येक वर्षको वैशाखमा नयाँ भर्ना लिने बेलामा शुल्क बढाउन पाइँदैन भनेर विद्यार्थी संगठनहरूले आन्दोलन घोषणा गरेको सुन्न पाइन्छ तर निजी विद्यालयहरूले शुल्क बढाएकै हुन्छन् र विद्यार्थी संगठनहरू त्यत्तिकै मौन बस्न पुग्दछन् । यो हुनुका पछाडि हुने पर्दा पछाडिको खेलमा यस्तो नाटक प्रस्तुत गर्ने विद्यार्थी संगठन सामेल छ कि छैन भन्ने त थाहा छैन तर अन्य संगठनहरूसँगै यो पनि चुप लागेको देख्दा शंका गर्ने प्रशस्त ठाउँ भेटिन्छ ।

क्याम्पसहरूमा अहिले पनि भागबण्डामै आंशिक शिक्षकदेखि क्याम्पस प्रमुख र सहायक प्रमुखहरू नियुक्त हुने गरेका छन् । अनेरास्ववियु क्रान्तिकारीले यसमा विरोध जनाएको पाइँदैन बरु त्यसैमा आफ्नो अंश मागेको देखिन्छ । विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिमा पनि त्यस्तै नै छ । योग्यलाई स्थान दिने परिपाटीको अन्त्य भएको लामो समय बितिसकेको छ । ज्ञानको चिहान नाटकले सुधार्नु पर्दछ भनेको छ तर नाटक प्रस्तोताहरू नै अब के गर्लान् भन्ने जिज्ञासा जागेको छ ।

नेताहरूमाथिको जनताको विश्वास घट्दै गएको छ । विद्यार्थी संगठनका अगुवाहरू पनि नेता नै हुन् । यो नाटकका परिकल्पनाकार र यसमा संलग्नहरूमध्ये कतिपय नेता नै हुन् । यिनका पनि कर्म र बोलीमा तादात्म्य भेटिन्छ कि भेटिँदैन भन्ने प्रश्न नाटकले जन्माएको छ ।

एक्लै गर्न सकिँदैन । होइन, एक्लै भए पनि सत्यका पक्षमा लडिरहनु पर्दछ । नाटकले यस्तै सन्देश दिएको छ । अन्य संगठन नमाने पनि यो नाटक हेरेकाहरूले अब अनेरास्ववियु क्रान्तिकारी विश्वविद्यालयको सुधारका पक्षमा उभिन्छ भन्ने ठान्दछन् । विश्वास गरेकाहरूलाई यो संगठनले भोलिका दिनमा आशा जगाउँदछ कि निराश बनाउँछ ? हेर्न बाँकी नै छ । सत्यका पक्षमा एक्लै उभिएर शिक्षाक्षेत्रलाई उज्ज्वल बनाउने अभियानमा हिँड्छ भन्ने आशा गर्नै पर्दछ । ज्ञानको चिहान बनेका शिक्षालयहरूलाई ज्ञानको मुहान बनाउने कार्यको अगुवाइ यही संगठनले गरोस्, हार्दिक शुभकामना ।

नेताहरूका कथनी र करनी फरक हुन्छन् भन्ने गरिन्छ । बोलाइ एकातिर र गराइ अर्कातिर आमनेपाली नेताहरूको परिचय नै बनिसकेको छ । चन्दाका विपक्षमा नाटक छ यद्यपि विगत सम्झेर मान्छेहरू शंका गर्दछन्, कतै यही नाटक प्रस्तुत गर्ने क्रममा पनि जबर्जस्ती चन्दा त उठाइएको छैन भनेर । त्यस्तो नभएको होस् । नेताहरूमाथिको जनताको विश्वास घट्दै गएको छ । विद्यार्थी संगठनका अगुवाहरू पनि नेता नै हुन् । यो नाटकका परिकल्पनाकार र यसमा संलग्नहरू मध्ये कतिपय नेता नै हुन् । यिनका पनि कर्म र बोलीमा तादात्म्य भेटिन्छ कि भेटिँदैन भन्ने प्रश्न नाटकले जन्माएको छ ।

नाटकले भन्छ, पञ्चा सिंहको आँखा खुलेको छ । पञ्चा सिंहले बाटो समाउँदा अनेरास्ववियु क्रान्तिकारीले सुमार्ग पक्डन्छ । प्रमुख सत्ताधारी संगठनको भ्रातृ संगठन सुबाटोमा हिँड्दा मातृ पार्टी समेत सच्चिन कर लाग्दछ । विश्वविद्यालय र क्याम्पसहरूमा Œठनलाई कुबाटोमा अग्रसर हुन केही न केही अप्ठेरो निश्चय नै लाग्दछ । आशा गरौँ, सबैमा यस्तै चेत पलाए निकट भविष्यमै हाम्रा शिक्षालयहरू सुन्दर बन्नेछन् । ज्ञानको चिहानलाई हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?