क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

सीउल । दक्षिण कोरियामा उत्रिएपछि परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।

मंगलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट वेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु-योङले बताए । संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन् । उनले भने, ‘उनलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ ।’

मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो । कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन् ।

कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउदै आएका सबै प्रतिबन्ध हटाएको थियो ।

प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ । एउटै सहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?