छात्रालाई साइकल वितरण

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 3 mins

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका-३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो ।

त्यस्तै गाउँपालिका-६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिनुभयो । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताउनुभयो । सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन् ।

सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो । विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिनुभयो ।

बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ । हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?