चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो ।

जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताउनुभयाे । उहाँका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ ।

हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरीरबतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उहाँले बताउनुभयाे । हिमपातपश्चात् हिम पहिराे जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ । पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ ।

चिसो मौसममा कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ । होटल तथा कोठामा आगो, हिटर तथा गिजर प्रयोग गर्नुपर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न सूचनामार्फत जिल्लावासीलाई अनुरोध गरिएको छ । चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?