काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगबारे नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ । प्रतियोगितामा ‘म्याच फिक्सिङ’का खबरहरू बाहिर आइरहँदा सिआइबीले क्यानका सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेको हो ।
गृहमन्त्री रवि लामिछानेले उक्त प्रकरणबारे अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिनुभएको थियो । सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले पदाधिकारीहरूलाई बोलाएर सोधपुछ गर्ने क्रम जारी रहेको बताउनुभयो । ‘हामीले क्यानका अध्यक्षसहित सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेका छौँ । केही खेलाडीहरू पनि छन्,’ उहाँले भन्नुभयो, ‘कस-कसलाई सोधपुछमा बोलाइयो अहिले नभनौँ । यो हाम्रो अनुसन्धानको नियमित प्रक्रिया हो । म्याच फिक्सिङका विषयमा विभिन्न तथ्य संकलन गरिरहेका छौँ ।’
सिआइबीले बोलाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वकप्तान तथा म्यानेजर विनोद दाससहित बुधबार सीआइबी कार्यालय पुग्नुभएको थियो ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि नेपाल टी-ट्वान्टी लिग क्रिकेटको छानबिन अघि बढाएको छ । पछिल्ला दिनमा उक्त लिगमा फिक्सिङ भएको तथा खेलाडीले पारिश्रमिक नपाएको कुरा बाहिर आएको छ ।
राखेपको कार्यकारी समितिले पाँचसदस्यीय छानबिन कार्यदल बनाएको छ । कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा बनेको छानबिन कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहनुभएको छ ।
विदेशी खेलाडीको श्रम स्वीकृति र प्रतियोगिता सञ्चालनका सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको राखेपले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी-२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति एवं प्रतियोगिता सञ्चालनका सम्बन्धमा परिषद्ले संघसँग आवश्यक प्रमाण तथा कागजात माग गरिएको पत्राचारको बेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतिका बारेमा सार्वजनिक भएको विषयप्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ,’ राखेपको विज्ञप्तिमा उल्लेख छ ।
त्यसअघि बुधबार क्यानले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला भ्रामक र मिथ्या भएको जनाएको छ । त्यस्ता गतिविधि भएको जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको थियो । क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल टी–ट्वान्टीमा फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन युनिट (एसयू)मा उजुरी गर्न आग्रह गरेको हो ।
‘नेपाल क्रिकेट संघको आयोजनामा पुस ९ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी-ट्वान्टी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलाइएको अनेक भ्रामक तथा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँदै यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी-ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू) मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’
काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले मंगलबारमात्रै आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियू) लाई जानकारी दिएको बताउनुभएको थियो ।
‘अरू टिमका बारे थाहा भएन । हाम्रो टिमको एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको थियो । हामीले नियमअनुसार त्यो एसियूलाई भनेका थियौँ । प्रस्ताव र फिक्सिङ फरक हो । प्रस्ताव गर्यो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन । प्रस्ताव जो र जसले जसरी पनि गर्न सक्छ । हामीले रिपोर्ट गरेका छौँ । एसियूले हेरिसकेको छ,’ ज्ञानेन्द्रले भन्नुभएको थियो ।
यस्तै, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल टी-ट्वान्टी लिगको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । काठमाडौंमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्वकप्तान खड्काले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको हो ।
मंगलबार नै आधिकारिक प्रसारणमा कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको आरोप लगाउनुभएको थियो । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उहाँले नेपालीसहित विदेशी खेलाडीहरू समेत मिलेमतोमा रहेको बयान दिनुभएको थियो ।
उहाँले कमेन्टरका रूपमा आफूले प्रत्येक बल हेर्ने गरेको र त्यसक्रममा खेल भावनाविपरीतका गतिविधि भइरहेको देखेको बताउनुभएको छ । उहाँले त्यसबारे एन्टी करप्सन युनिट, क्यानका पदाधिकारीलगायत सम्पूर्णलाई जानकारी दिए पनि कसैले चासो नदेखाएको बताउनुभएको हो ।
अनुगमन गर्न आइसिसी टोली काठमाडौंमा
‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको भनेर आरोप लागेको नेपाल टी-२० लिगको अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि बिहीबार काठमाडौं आइपुगेका छन् । आइसिसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो । उहाँहरूले बिहीबार बिहान प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गर्नुभएको थियो । त्यस्तै, इफग्रेभको टोली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पनि पुगेर छलफल गरेका थिए । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेर सदस्य-सचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए । यससँगै आइसिसी टोलीले सरोकार सबै निकायसँग छलफल गरेको छ ।
जनकपुर प्लेअफमा
जनकपुर रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै जनकपुले प्लेअफमा स्थान बनाएको हो । छैटौँ जितका साथ जनकपुर शीर्ष दुईमा रहेको हो ।
जितका लागि ६९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै, अर्का ओपनर ट्रभोन ग्रिफिथले १३ बलमा तीन चौकासहित १७ रन बनाउनुभयो । पोखराका कुशल मल्लले तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । पोखराका सिद्धान्त लोहनीले १० बलमा दुई छक्कासहित सर्वाधिक १७, आसिफ शेखले १० बलमा ३ चौकासहित १६, कुशल मल्लले १८ बलमा दुई छक्काहित १६ रन बनाउनुभयो ।
जनकपुरका सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चेर तीन विकेट तथा ललितनारायण राजवंशीले तीन ओभरमा एक मेडनसहित ६ रन खर्चेर दुई विकेट लिनुभयो ।
लुम्बिनी नौ खेलमा आठमा जित र एक हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । जनकपुर रोयल्स नौ खेलमा ६ मा जित र तीनमा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । पोखरा नौ खेलमा तीनमा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच