आजदेखि स्वस्थानी व्रत आरम्भ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आजदेखि स्वस्थानी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याहृन कालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए पनि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुमा रहेको शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।

श्रीस्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

हिन्दू धर्मालम्बीहरूले चोखो रही घर-घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ ।

श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरिएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शालीनदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपालकै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?