पक्राउ परे सुदूरपश्चिमका ‘नटवरलाल’ पदमराज भट्ट

करोडौँ रकम ठगी गरेको आरोप, महिला विशेष निसानामा

हिमालय टाइम्स
Read Time = 5 mins

विराज रोस्यारा/हिटा
धनगढी । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो । ठगीमा संलग्न नटवरलाल अर्थात् पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् । उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रूपमै विभिन्न अपराध गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता जोशीले बताउनुभयो ।

यस्तो छ उनको अपराध हिस्ट्री
पदमराज भट्ट सशस्त्र प्रहरी बलका भगौडा व्यक्ति हुन् । अहिले उनी सुदूरपश्चिममा नटवरलालको नामबाट परिचित छन् । उनी पाँच वर्षदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा बसेर संगठित रूपमै फरक-फरक अपराधमा संलग्न छन् । भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरूसँग नजिक भएर संगठित रूपमै ठगी गर्दै आएका छन् ।

समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर छन् । विशेष गरी महिलालाई उनले लक्षित गर्ने गरेका थिए । उनले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनाँै महिलाहरूलाई ठगी गरिसकेका छन् । उनले कहिले नेपाल बैंकको प्रबन्धक भएको परिचय दिने, कहिले प्रहरी अधिकारी भन्दै परिचयपत्र देखाउने मात्र नभएर संयुक्त राष्ट्र संघीय कार्यक्रमको प्रमुख भनेर परिचय दिँदै भट्टले सुदूरपश्चिमबाट करोडौँको ठगी गरिसकेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका घर भई धनगढी बस्दै आएका नटवरलाल कञ्चनपुरको शुक्लाफाँटा नगर रडाहाकी एक महिलाको घरजग्गा बिक्री गराउन लैजाँदै थिए । स्थानीयले शंका लागेर सोधपुछ गर्दा उनको बदनियत खुलेपछि समातिएका थिए । त्यसबेला स्थानीयको कब्जाबाट फुत्किन सफल नटवरलाल अहिले पक्राउ परेका हुन् । दर्जनौँको संख्यामा महिलाहरूलाई आर्थिक प्रलोभन देखाएर भट्टले करोडौँ ठगी गरेको खुलेको छ ।

यसअघि दुई वर्ष कैलाली कारागारमा ठगी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका उनले कारागारबाटै पनि ठगी धन्दा चलाएका थिए । एकल महिला, लामो समयदेखि श्रीमानबाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका युवतीहरू उनको सबैभन्दा बढी ठगीको निसानामा हुन्थे । ठगीको सिकार भएका महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर उनले जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउनेसम्म गरेको खुलेको छ । सम्बन्ध बढाएर अश्लील भिडिओ बनाउने र ब्ल्याकमेल गर्ने उनको मुख्य धन्दा रहेको प्रहरीले जनाएको छ । यसरी खातामा पैसा मगाएर सहयोग गर्ने ६ प्रहरी त्यतिबेला निलम्बनमा पनि परेका थिए । त्यसपछि उनको कैद भुक्तान अवधि सकिएपछि उनी करिब चार महिनाअघि जेलमुक्त भएका थिए । धेरैलाई त बैंकमा जागिर लगाइदिने प्रलोभनमा पारी लाखौँ ठगी गरेका घटना बाहिर आएका छन् ।

प्रहरीका अनुसार भट्टले चार विवाह गरेको खुलेको छ । जेठी श्रीमती सशस्त्र प्रहरीमै छिन् । अरू तीन जनाले ठग भएको थाहा पाउनेबित्तिकै सम्बन्धविच्छेद गरिसकेका छन् । उसको सम्बन्ध प्रहरीका अधिकारी, अपराधी, अदालतका कर्मचारी र नेतासँग भएको पीडित बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?