बाँकेमा महामारीको रूप लिँदै दादुरा

एक बालकको मृत्यु, दर्जनौँ बिरामी, खोप सञ्चालन गर्ने तयारीमा स्वास्थ्य कार्यालय

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । बाँकेमा दादुराले महामारीको रूप लिँदै गरेकोमा स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन् । दादुराकै कारण ३१ महिने बालकको बुधबार मृत्यु भएसँगै दर्जनौँ दादुराका बिरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले बताएका हुन् । दादुराले बिरामी भएका नेपालगञ्ज उपमहानगर-५ का ३१ महिने बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँका अनुसार सिकिस्त रहेका ती बालकको थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बाँकेमा पछिल्लोपटक दादुरा महामारीको रूपमा फैलिरहेको पाइएको छ । केही दिन पहिलेसम्म नेपालगञ्ज उप-महानगरपालिका ५, ७ र ८ मा मात्र देखिएको दादुरा हाल आएर १०, ११, १५ र २२ नम्बर वडाहरूमा पनि देखिएको श्रेष्ठले बताउनुभयो । सुरुमा देखिएको दादुरालाई स्याम्पल परीक्षणका लागि काठमाडौं पठाइएकोमा त्यहाँबाट दादुरा भएको पुष्टि भएसँगै दादुरा अन्य वडाहरूमा पनि फैलिएको उहाँले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका र आसपासका पालिकाहरूमा बिरामी खोज्ने, चेक जाँच गर्ने काम तत्कालै सुरु गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले नौ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप सञ्चालन गर्ने तयारी पनि चलिरहेको बताउनुभयो ।

यता, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले एउटै घरका चारजना बालबालिकाहरूमा दादुरा देखिएको हुँदा प्रभावित क्षेत्रहरूमा थप बिरामी खोज्ने काम भइहेको बताउनुभयो । अहिले ती प्रभावित वडाहरूमा करिब तीन दर्जनको हाराहारीमा बालबालिका दादुराका कारण बिरामी परेको उहाँको भनाइ छ ।

अहिले नेपालगञ्ज उपमहानगरपालिकाका ५, ७, ८, १०, ११, १५ र २२ गरी सातवटा वडाहरू प्रभावित बनेका छन् । ती क्षेत्रहरूमा तत्कालै बिरामीको थप उपचार र नयाँ बिरामीको खोज अभियान चलिरहेको बताइएको छ ।

दादुराको लक्षण देखिएका बिरामी भेटिएको लामो समयसम्म चुप लागेर बसेको स्वास्थ्य कार्यालय र उप-महानगरपालिकाको स्वास्थ्य शाखाले ३१ महिने बालकको मृत्यु भएसँगै चासो देखाएको स्थानीय बासिन्दा वसिम हलवाईले बताउनुभयो । ज्वरो आउने, शरीरका विभिन्न भागमा राता राता बिबिरा आउने जस्ता लक्षण देखापरेको नेपालगञ्ज फुल्टेग्राका नसिम अहमदले बताउनुभयो । दादुराको बिरामी देखिएकाहरूमा दादुरा विरुद्धको खोप नलगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

एउटा टोल बस्तीमा पाँच जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीको रूपमा लिने गरिन्छ । सरकारले सन २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?