प्रचण्डप्रति सकारात्मक छौँ, विश्वासको मतबारे निर्णय भइसकेको छैन : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक रहेपनि विश्वासको मत दिने–नदिने भन्ने विषयमा निर्णय भने भइनसकेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

एकीकृत समाजवादीकै दोस्रो तहका केही नेतले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने तर सरकारमा सामेल हुने विषयमा भने निर्णय नभैसकेको बताउँदै आएका छन् ।

तर, अध्यक्ष नेपालले भने व्यक्तिगत रूपमा प्रचण्डप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै विश्वासको मतको विषयमा भने पार्टीले निर्णय गर्न बाँकी रहेको बताउनु भयो।

सरकार कुन ढंगले अगाडि बढछ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राख्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन् । जुन गाउँ जानु छैन । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अव यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अव विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीेले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पार्नु भयो । उहाँले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताउनु भयो ।

अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताउनु भयो ।

अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढने उहाँले बताउनु भयो ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने कार्यतालिका छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?