पाल्पा बस दुर्घटना: दिनभर भगवानको प्रार्थना गरेर फर्किएका यात्रुको ईश्वरले सुुनेनन् प्रार्थना

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राति दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, उनको ११ वर्षीया छोरी सरुमाया घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, ४० वर्षीया गुनाक्मारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।

मृत ६ जना नै बुटवल गोलपार्कमा रहेको सच्चाइ केन्द्र नेपालको सत्य वचन सुन्न गएको बुुझिएको छ । .उनीहरू सच्चाइ केन्द्र नेपालको बुटवलस्थित शाखाले आयोजना गरेको प्रार्थना तथा सत्य वचन सुन्ने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए । सच्चाइ केन्द्रले इसाई धर्मावलम्बीको प्रार्थना गराउने कार्यक्रम गर्छ । विहिबार दिनभर ईश्वरको महिमा गाउँदै सत्य वचन सुनेर घर फर्किदै गरेका उनीहरु सवार बस विहिबार राति १० ः २५ बजे दुर्घटना हुुन पुुगेको हो । दिनभर भगवानको प्रार्थाना गरेका उनीहरुलाई भगवानले नै लगे । यहाँका सिंगो गाउँका महिलाहरु नै मिलेर इश्वरको वचन सुन्न त्यहाँ पुुगेको घाइते २८ वर्षीया लिमकली पाण्डेले बताउनुुभयो । तीनमहिने बच्चाकी आमा लिमकलाको अहिले बुटवलस्थित एडमनसिटी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परी १८ जना घाइते छन् । उनीहरुको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते मध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी बुटवल, र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनामा सोही ठाउँकी ६० वर्षीय यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे घाइते भएका छन् । उनीहरु दुवै जनाको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी ७२ वर्षीया पूर्णकला दर्जी, २३ वर्षीया लालकुमारी गाहा, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाहा, ९वर्षीया अप्सना रास्कोटी, ६५ वर्षीया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया वर्ष भन्ने लिमकली पाण्डे, उनको ३ महिने छोरी अर्या पाण्डे, ७३ वर्षीया श्यानिकला बस्नेत घाइते रहेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यस्तै सोही ठाउँकै २२ वर्षीया श्रेया राना, उनको १८ महिने छोरा दिपसन राना, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, २५ वर्षीया चुमा घर्ती, गाडी धनी ४१ वर्षीय रामहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेस्मी घाइते भएका छन् । उनीहरुको एडमनसिटी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने र खुर्साने गाउँ नजिकै पुग्दा बस दुर्घटना भएको हो । दुर्घटना गए राति १०ः२५ बजे भएको थियो । बस के कति कारणले दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एउटै टोलका ६ जनाको मृत्यु १८ जना घाइते भएको खबरले सिंगो खुर्साने टोल यतिबेला शोकमा डुबेको छ । गाउँमा रुवाबासी चलेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ जनाको शव राखिएको छ । अहिले पोष्टमार्टम भइरहेको छ । अहिले सिंगो गाउँका मानिस विक्षिप्त अवस्थामा छन् । गाउँमा र बुटवल बजारमा समेत रुवाबासी चलेको छ । शव पोष्टमार्टम गरेर गाउँमै ल्याउने तयारी भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?