काँग्रेसले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन : प्रमुख सचेतक लेखक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनु भएको छ ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट्याउनु भएको हो । उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिनु भयो ।

आफूहरु अहिले पार्टी संसदीय दलको भोलि (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाई थियो ।

प्रमुख सचेतक लेखकले भन्नु भयो, ‘हामी यो समिकरण भत्काउने, नयाँ समिकरण बनाउने काममा लागेका छैनौं । हाम्रो भोली संसदीय दलको बैठक छ । त्यसपछि हामी २६ गते बिहान फेरी संसदीय दलको बैठक बस्छौं । र, सरकारलाई विश्वासको मत दिने प्रस्तावमा हाम्रो दलको धारणा हामी २६ गतेको बिहान सार्वजनिक गर्छौै । अहिलेलाई यहाँले भन्नु भएको जस्तो गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी हाम्रो आन्तरिक तयारीमा छौं । हामी अव यो नयाँ प्रतिनिधिसभामा पार्टीलाई एकतावद्ध, सशक्त रुपले कसरी अगाडि लिएर जान्छौं, हाम्रा भूमिकाहरु के हुन्छन ? त्यसमा केन्द्रित भएर आन्तरिक तयारीमा जुटिसकेका छौं । भोलीबाट हाम्रो पनि संसदीय दलको औंपचारिक बैठकहरु सुरु हुन्छन । अहिले पनि हामी आन्तरिक तयारी र गृहकार्य गरिरहेका छौं । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनु हुनेछ । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?