कीर्तिमानमार्फत् विश्वमा नेपाल चिनाउने महान् पथमा लाग्नुभएको नाम हो डा. डीआर उपाध्याय । उहाँ आफ्नै राजमार्गमा कुदिरहनुभएको छ । त्यसैले त जन्मिएका छन् नयाँ–नयाँ विश्व कीर्तिमान । हालसम्म उहाँले गीतसंगीत र विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । विश्व मानचित्रमा आफ्ना सिर्जनाका माध्यमबाट एकपछि अर्को विश्व रेकर्ड राख्दै नेपाल चिनाउने अभियानका अभियन्ता डा. उपाध्याय अहोरात्र, निरन्तर अथक पथिकमा रूपमा क्रियाशील हुनुहुन्छ । एक अद्भूत, असाधारण नेपाली व्यक्तित्व डा. उपाध्याय यो उचाइलाई अझ अग्ल्याउन निरन्तर लागिपर्नुभएको छ । डा. उपाध्यायमा आममानिसको पिर, वेदना र आँशुलाई बुझ्ने र आत्मसात गर्न सक्ने खुबी छ । गहिरो वेदना, रंगीन सपना र कठोर संघर्षमा रुमल्लिएकाहरूको अन्तर गहिराइसम्म पुगी साथ सहयोग दिने मन पनि छ उहाँसँग । उहाँका रचनाहरूमा मानवीय भोगाइका अवयवहरू सजिवरूपमा प्रकट भएको पाइन्छ । लेखन नै उहाँको जीवनको महत्वपूर्ण इकाई, सौख र नशा हो । सिर्जनामा निरन्तर बगिरहनुहुने उहाँसँग थकाइ भन्ने शब्द नै छैन । जहिले हंसमुख, फुर्तिलो र नयाँ-नयाँ क्रियशनमा आफूलाई तल्लीन राख्नुहुने डा. उपाध्याय यस क्षेत्रमा अझ कीर्तिमानका इँटा थप्न निरन्तर लागिरहनुभएको छ । उहाँ कीर्तिमानमार्फत् विश्वमा नेपाल चिनाउने महान् पथमा लाग्नुभएको छ । ३० गीति एल्बमका १५० भन्दा बढी गीत भिडियो, १५ उपन्यास र तीन गीति पुस्तकका सर्जक विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायसँग हिमालय टाइम्सको हिँड्दा हिँडदैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
डा. डीआर उपाध्याय को हो ?
म एक आममानिस हुँ । नयाँ र फरक शैलीका कार्य गर्ने मेरो रुचि छ । यही नयाँ र फरक शैलीका कार्य गर्दै जाँदा विभिन्न क्षेत्रमा १३२ विश्व रेकर्ड कायम भएका छन् । म हरेक विषयको गहिराइमा गएर काम गर्न रुचाउँछु । सबैले गरिरहेका काम केही नवीनताका साथ गर्ने मेरो बानी छ । समाजलाई बुझ्ने कोसिसमा हुन्छु हरसमय म । यही विषयमा पिएचडी गरेँ ।
तपाईंको जीवन यात्राका माइलस्टोनहरू के हुन् ?
मलाई लाग्छ हरेक मानिसले आफ्नो जीवनमा केही महान् लक्ष्य राख्नुपर्छ । नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ छ नि- ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ लाई पछ्याउन मन लाग्छ मलाई । आफ्ना विश्व रेकर्डलाई अझ फैलावट गर्ने योजना छ । हजार माइलको यात्रा दुई पाइलाबाट सुरु हुन्छ । म पनि लामो दौडमा छु तर त्यसको सुरुवात दुई पाइलाबाट गरेको छु ।
हरेक व्यक्तिको लक्ष्य घरपरिवार र समाजबाट निर्धारित हुन्छ । सभ्यता र संस्कृतिले उसलाई मार्गनिर्देशन गर्दछ र आफूभित्रको अटल विश्वासले डोर्याउँछ, अघि बढ्न अभिप्रेरित गर्दछ । म आफ्नो लक्ष्यमा निमग्न र अडिग रही समाजका लागि, राष्ट्रका लागि र विश्वका लागि नै केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहिरहन्छ । म भोलिको लोभले होइन, आजको उत्सुकतालाई संग्रहित गर्न, एकीकृत गर्न कलम चलाउँछु ।
तपाईंले सामना गर्नुभएका चुनौतीहरूबाट के सिक्नुभयो र तपाईंले तिनीहरूलाई कसरी पार गर्नुभयो ?
मानिसलाई हरेक क्षण, हरेक पल विभिन्न चुनौतीहरू आउने गर्छन्, मुख्य कुरा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने हो । हरेक कामबाट नयाँ-नयाँ कुरा सिक्ने मौका मिलेको हुन्छ । सफलताबाट पनि सिकिन्छ भने असफलताबाट पनि सिकिन्छ । हरेक मानिस आफैंमा निपूर्ण हुँदैन । कुनै एक क्षेत्रमा विज्ञता हासिल हुन्छ भने अर्को क्षेत्रमा शून्य हुन्छ । जिन्दगीका हरेक मोडमा चुनौती आउँछन् त्यसले हामीलाई नयाँ-नयाँ कुरा सिकाएर जाने गर्दछ ।
तपाईं आफ्नो बारेमा के हाइलाइट गर्न चाहनुहुन्छ ?
हामी एक सामाजिक प्राणी हौँ । समाजमा रहेपछि समाजप्रति हाम्रो पनि केही दायित्व रहने गर्दछ । म त्यही आफ्नो सामाजिक दायित्व पूरा गर्ने कोसिसमा रहन्छु । हरेक काम नयाँ तरिकाले गर्न मलाई मन पर्छ । नयाँ तरिकाले, अरूले भन्दा फरक तरिकाले गर्दै जाँदा विभिन्न रेकर्ड बनेका छन् जसले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । यसलाई म आगामी दिनमा पनि निरन्तरता दिन चाहन्छु ।
यहाँका कति कृति श्रोता/दर्शक र पाठकमाझ आएका छन् ?
मेरा अहिलेसम्म ३० एल्बमका सयौं गीत र भिडियो सार्वजनिक भएका छन् भने १५ उपन्यास र तीन गीति पुस्तक पाठकमाझ आएका छन् । यतिबेला १६औँ उपन्यास लेखिरहेको छु ।
तपाईंलाई यो सबैका लागि केले प्रेरित गर्दछ ?
हरेक व्यक्तिको लक्ष्य घरपरिवार र समाजबाट निर्धारित हुन्छ । सभ्यता र संस्कृतिले उसलाई मार्गनिर्देशन गर्दछ र आफूभित्रको अटल विश्वासले डोर्याउँछ, अघि बढ्न अभिप्रेरित गर्दछ । म आफ्नो लक्ष्यमा निमग्न र अडिग रही समाजका लागि, राष्ट्रका लागि र विश्वका लागि नै केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहिरहन्छ । म भोलिको लोभले होइन, आजको उत्सुकतालाई संग्रहित गर्न, एकीकृत गर्न कलम चलाउँछु ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका