लोकमार्गले फेरियो खौलारा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । ‘विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पना गरेका थिएनौँ ।’ बडिगाड गाउँपालिका-५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दंग हुनुहुन्छ । दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्य भागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावनाहरू पनि खुलेका छन् ।

करिब २३ वर्ष अगाडि मध्यपहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दकश अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार बनेको खौलारामा स्थानीयले धान, गहुँ, तोरी लगायतका खाद्यबाली उत्पादन गरी यहीबाट जीवन चलाउँथे । पाँच वर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो, तब यहाँ तीव्र रूपमा बजार विस्तार भयो । अहिले खौलाराको चारैतिर ठूला-ठूला घर भवनहरू निर्माण भइरहेका छन् ।
पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउनुहुन्छ । उहाँले लोकमार्गले जोडिएपछि खौलाराले मुहार फेरिएको बताउनुभयो । सडकले नजोडिँदासम्म यहाँ चार÷पाँच ओटा मात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला-ठूला सहरमा जस्तै भवनहरू बनेको घिमिरेले सुनाउनुभयो । अब नुन बोक्न बुटवल जानै नपर्ने उहाँको भनाइ छ । ‘खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउँथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ’ घिमिरेले भन्नुभयो, ‘खेती मासियो, घर भवन ठडिए, दिनदिनै घरहरु बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला ।’

उहाँले सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीयहरू अहिले घरै अगाडि सबै सामानहरू किनमेल गर्न पाएको बताउनुभयो । बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ । उहाँले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली (बुटवल) जानु पथ्र्यो, लत्ता कपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसलहरू थिएनन्, बजार देख्न त कि बुटौली नै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ ।’

स्थानीय देविराम खरेलले लोकमार्गका कारण खौलारासँगै स्थानीयहरूको जनजीवन परिवर्तन भएको बताउनुहुन्छ । उहाँले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताउनुभयो । सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो, आजा भोली दुई/चार घण्टा लाग्ने स्थानमा पुग्न दुई/तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा-पु¥याउनुपथ्र्यो, सडकले अहिले धेरै कुराहरूमा सहज ल्याएको छ, पहिले जस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषधि उपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अब पहिलेको जस्तो बागलुङ बजार जान हप्ता दिन लाग्दैन ।’

बडिगाडको सबै ठाउँहरू सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तुहरू बजारसम्म पु¥याउन सहज भएको बताउनुभयो । अहिले लोकमार्ग छेउछाउका जग्गाहरूमा धमाधम बस्ती बिस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उहाँको भनाइ छ । सडक नआउँदा बाँझै रहेका जग्गाहरू अहिले घडेरीमा परिणत भएको घिमिरेले बताउनुभयो । ‘सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूलहरू फ्रिमै बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्यार थोरै भए पनि पैसा पार्ने बानी बस्दै छ,’ उहाँले भन्नुभयो, ‘अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केही ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाँझो बनेका जग्गा पनि अहिले लाखौँ मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन् ।’

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले खौलारा बजारलाई व्यवस्थित बजारका रूपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले पालिकाकै मुख्य बजारका रूपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउनुहुन्छ । अब मापदण्ड पालना गरेर मात्रै संरचना निर्माण हुने उहाँको भनाइ छ । ‘खौलारा बडिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठूलो भूगोल हुँदा यहाँ व्यापक बस्ती विस्तार हुँदै छ र भविष्यमा जिल्लाकै ठूलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिनका लागि हामीहरूले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौँ, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा पनि बस्ती विस्तार भइरहेको छ, ती ठाउँहरूमा पनि घर भवन निर्माण गर्दा मापदण्ड पालना गर्नुपर्ने छ’ उहाँले भन्नुभयो ।

अध्यक्ष अधिकारीले खौलारा बजारमा ढल व्यवस्थापन, फोहोर व्यवास्थापनका, सिसि क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिनुभयो । बजारको सौन्दर्यकरणका लागि पनि गाउँपालिकाले काम सुरु गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाका धेरै बजारहरूमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीहरूले यहाँको सौन्दर्यकरणका लागि के गर्ने फोहोर व्यवस्थापन कहाँ गर्ने, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर एउटा अध्ययन गरिसकेका छौँ, अहिले बनाएको योजनाले दशकौँ वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ ।’

उहाँले खौलारासँगै खर्बाङ, न्वारा, खारा, भीमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताउनुभयो । यी ठाउँहरूको सौन्दर्यकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?