पाल्पा स्थानीय सरकार : पुरानै नीति, कार्यक्रमलाई निरन्तरता

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 21 mins

पाल्पा । पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले नीति, कार्यक्रम र बजेट निर्माण गरी धमाधम काम थालेका छन् । उनीहरूले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई नै निरन्तरता दिएका छन् । यहाँका चारवटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायः नीति तथा कार्यक्रम भने पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरानै योजनालाई निरन्तरता दिँदै आफ्ना पूर्ववर्तीले रोजेको बाटोमै उनीहरू हिँडेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये यसपटकको निर्वाचनमा एमालेले बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा जित्न सफल भएको छ भने कांग्रेसले तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिका जितेको छ । यस्तै, माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा जित हासिल गरेको छ ।

यसअघि कांग्रेसले जितेको माथागढी र बगनासकालीमा अहिले एमालेले नेतृत्व गरेको छ । यता, एमालेको गढ मानिँदै आएको तानसेन नगरपालिकामा २८ वर्षपछि कांग्रेसले जितेको छ । यस्तै, यसअघि एमालेले जितेको रिब्दीकोटमा भने अहिले माओवादीले जितेको छ । यहाँका ६ स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि आएका छन् । तानसेन, बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, माथागढीमा नयाँ प्रतिनिधि आएका हुन् । अन्य चार स्थानीय तहमा भने पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाको नेतृत्वमा भने उही पुरानै व्यक्ति आएका छन् ।

यहाँका चार स्थानीय तहमा भने सत्ता नै परिवर्तन भएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकामा अहिले फरक दलका प्रतिनिधिले सत्ता सम्हालेका छन् । अहिले एमालेले जितेका माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो । अहिले कांग्रेसले जितेको तानसेन नगरपालिकामा भने यसअघि एमालेले जितेको थियो । त्यस्तै, माओवादी केन्द्रले जितेको रिब्दीकोट गाउँपालिकामा यसअघि एमालेले जितेको थियो । यहाँ सत्ता चलाउने राजनीतिक दलहरू परिवर्तन भए तर उनीहरूले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिँदैन । नयाँ जनप्रतिनिधिले ल्याउने नीति तथा कार्यक्रमप्रति धेरैको चासोसमेत रहने गर्दछ । तर, उनीहरूले ल्याएको पहिलो नीति तथा कार्यक्रम नै जनअपेक्षाभन्दा फरक देखियो । उनीहरूले केही नयाँ योजना ल्याउन प्रयास भने नगरेका होइनन् तर अधिकांश नीति तथा योजनालाई भने हुबहु गरिएको छ । सबैको चासो र ध्यान परिवर्तित सत्तातर्फ हुने भएकाले यस आलेख सत्ता परिवर्तन भएका पाल्पाका चार स्थानीय तहले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेको छ ।

रिब्दीकोटमा अधिकांश पुरानै
रिब्दीकोट गाउँपालिकामा यसअघिको नेतृत्वले ल्याएका प्रायः नीति तथा कार्यक्रम नै अहिले ल्याइएको छ । आर्थिक, सामाजिक र भौतिक क्षेत्रका अधिकांश योजना पुराना नै छन् । यसअघिका अध्यक्ष एमालेका नारायण जिसीले कृषि तथा पशुपालनलाई व्यावसायीकरण गर्ने, टमाटर, सुन्तला र उत्पादनमा आधारित अनुदान दिने, कृषिको फकेट क्षेत्र बनाउने, पशु बीमा कार्य, भैरवस्थानको मन्दिर जलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, विद्यालयहरूको भौतिक संरचना बालमैत्री र अपांगमैत्री बनाउने, एक घर एक धाराको नीति, महिलालाई स्वरोजगार बनाउने जस्ता कार्यक्रम ल्याउनुभएको थियो । गएको आर्थिक वर्ष २०७८/०७९ मा उहाँले ल्याएको नीति तथा कार्यक्रम अहिले माओवादी केन्द्रबाट निर्वाचित नारायणबहादुर कार्कीले पनि ल्याउनुभयो । यी नीति तथा कार्यक्रम केही उदाहरणमात्रै हुन् ।

‘समृद्ध रिब्दीकोटको निर्माणको आधार शिक्षा, कृषि र पर्यटन पूर्वाधार’ नारासहित गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएका अधिकांश नीति तथा कार्यक्रमहरू अघिल्लो वर्षकै साभार छन् । अधिकांश प्रदेश सरकारअन्तर्गतका बहुवर्षीय कार्यक्रम भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष कार्कीले प्रतिक्रिया दिनुभयो । ‘प्रदेश सरकारअन्तर्गतका केही काम भएकाले उनीहरूलाई निरन्तरता दिनुपरेको हो, जसले गर्दा केही दोहोरिए होलान्,’ उहाँले भन्नुभयो, ‘एक वडा, एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौँ आफ्नो माटो, छाडौँ विदेशको बाटो जस्ता नीति तथा कार्यक्रम नयाँ पनि छन् ।’ गाउँपालिकाभित्र साहसिक पर्यटन र साइकल लेनको सम्भाव्य अध्ययन गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम, अभिभावकविहीन बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी लिने जस्ता नीति पनि केही नयाँ छन् ।

बगनासकालीमा पनि अधिकांश साभार
बगनासकाली गाउँपालिकाले पनि ल्याएका नीतिहरू अधिकांश पुरानै छन् । यसअघि कांग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेकी सरस्वती चिदी अध्यक्ष हुनुहुन्छ । यहाँ विगतमा जस्ता नीति थिए, अहिले पनि तिनै नीतिलाई हुबहु गरिएको छ । गाउँपालिकाले ‘सुन्दर, शान्त, सभ्य बगनासकाली गाउँको सार : आर्थिक, सामाजिक, पर्यटन र पूर्वधार विकासको दिगो आधार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ । जुन यसअघि नेपाली कांग्रेसका कृष्ण बस्याल नेतृत्वको स्थानीय सरकारले पनि प्राथमिकता दिएको थियो । कृषि बजारीकरणको व्यवस्था सुनिश्चित गर्ने, आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषि र पशुपालनलाई व्यावसायिकतामा प्राथमिकता दिइने, छुवाछुत तथा भेदभावजन्य क्रियाकलापहरूलाई निरुत्साहित गरिने, बाँदर, दुम्सीलगायतका वन्यजन्तु व्यवस्थापन र नियन्त्रण गर्न उचित व्यवस्था गरिने जस्ता नीति गएको आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो सरकारले ल्याएको थियो । अहिले यिनै नीति एमालेकी सरस्वती चिदीले पनि ल्याउनुभयो, त्यो पनि जस्ताको त्यस्तै । चिदीले ल्याएको नीतिमा दलित वर्गको उत्थानका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, आदिवासी तथा जनजाति वर्गको समग्र आर्थिक, सामाजिक विकासका लागि सीपमूलक तालिम र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, महिलाहरूको क्षमता अभिवृद्धिका लागि आयमूलक, सीपमूलक र रोजगारमूलक कार्यक्रमको व्यवस्था गरिने नीति ल्याउनुभएको छ । अघिल्लो पटक कांग्रेसको सरकारले पनि यिनै कुरालाई प्राथमिकतामा राखेको थियो ।

पहिले कार्यान्वयन नभएका र केही कार्यान्वयन भई नसकिएका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । ‘पुराना हटाउनुपर्ने कार्यक्रम हामीले हटायौँ, केही पुराना तर कार्यान्वयन नभएका कार्यक्रम पनि थिए, ती कार्यक्रमलाई समावेश गरेका छौँ भने केही नयाँ पनि ल्याएका छौँ,’ उहाँले भन्नुभयो । एक किसान ः एक उत्पादनलाई प्राथमिकता, वडागतरूपमा कृषि विशेष क्षेत्र छनोट गरी एक वडाः एक पकेट क्षेत्र बनाइने, किसान परिचयपत्र वितरण गरिने, सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने र ग र घ वर्गको परिचयपत्र वाहकलाई क्रमशः पाँच सय र तीन सय मासिक भत्ता दिइने, गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई बाहिर जानबाट रोक्ने र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दुर्घटना बीमाको व्यवस्था गरिने, जनतासँग जवाफदेही हुनका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, हाम्रो वनः हाम्रै मन भन्ने अभिप्रायका साथ सामुदायिक तथा सार्वजनिक वन संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने र आयआर्जनमा टेवा पुग्ने खालका जडीबुटी जन्य वृक्षारोपण गर्ने व्यवस्था मिलाइने जस्ता केही नीति भने नयाँ पनि छन् ।

माथागढीमा पनि पुरानालाई नै प्राथमिकता
माथागढी गाउँपालिकामा पनि नयाँ नीति तथा कार्यक्रमले प्राथमिकता पाउन सकेनन् । यसअघि कांग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेका यम चिदीले जित्नुभएको छ । यहाँ अघिल्लो स्थानीय सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका सन्तोष थापा मगरले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुभएको थियो । अहिलेका अध्यक्ष चिदीले पनि तिनै क्षेत्रलाई चालु आर्थिक वर्ष २०७९/०८० मा दोहो¥याउनुभएको छ । कृषिका पकेट क्षेत्र कार्यक्रम, कृषिलाई रोजगारीसँग जोड्न विभिन्न प्रविधि, बिउबिजनलगायतका प्रविधि सहयोग गर्ने, कृषि प्रवद्र्धन तथा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्ने, सौभाग्य माविमा सञ्चालित प्राविधिक विषयको पठनपाठनलाई व्यवस्थित गरिने, १५ शøयाको अस्पताल निर्माणलाई निरन्तरता दिने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, शिक्षक, कर्मचारीको बीमा जस्ता नीति तथा कार्यक्रम अघिल्लो सरकारले लिएको थियो । यिनै कार्यक्रमलाई अहिलेका एमालेबाट निर्वाचित चिदीले साभार गर्नुभएको छ ।

यद्यपि माथागढीले केही राम्रा कामहरू पनि अघि सारेको छ । उसले बाली बीमा, खानीजन्य पदार्थ एवं नदीजन्य पदार्थको उचित सदुपयोग गर्न आवश्यक व्यवस्था मिलाउने, खेलाडी बीमाको व्यवस्था गर्ने, महिलाहरूको आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गर्ने, विद्यालयहरूमा क्रमशः इन्टरनेट पुर्‍याउने जस्ता कुराहरू नीतिमा ल्याएको छ । ‘केही पुराना कार्यक्रम भए पनि, धेरै कुरा नयाँ ल्याएका छौँ,’ अध्यक्ष चिदीले भन्नुभयो, ‘हामीले स-साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महसुस हुने गरी काम गर्ने नीति ल्याएका छौँ ।’ राम्रो र जनतालाई हित हुने कुराहरूलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । अध्यक्ष चिदीले भन्नुभयो, ‘जनप्रतिनिधि परिवर्तन हुँदैमा सबै नीति परिवर्तन गर्नुपर्छ भन्ने छैन, पहिलेकै सरकारले ल्याएका केही राम्रा विषयहरूलाई पनि अविच्छिन्न निरन्तरता दिन सकिन्छ ।’

तानसेन नगरपालिकामा पनि उस्तै
तानसेन नगरपालिकाले ‘सुव्यवस्थित पूर्वाधार, पहिचनामूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ नारा दिएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । छोरी शिक्षा कार्यक्रम प्रभावकारी बनाइने, विद्यार्थी संख्या बढी भएका तथा शिक्षक संख्या न्यून भएका विद्यालयहरूमा शिक्षक सहयोग अनुदान उपलब्ध गराइने, स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई व्यवस्थित गरिने, पशु र बाली बीमाको सहज कार्यान्वयन गरिने जस्ता नीति तथा कार्यक्रम नगर सरकारले अगाडि सारेको छ । जुन अघिल्लो सरकारले नै ल्याएको थियो । शीतभण्डार निर्माणलाई पूर्णता दिन विशेष पहल गरिनेछ, नगरकै गौरवका रूपमा रहेको ‘बिग बुद्ध आयोजना’ को निर्माण कार्य थालनी गरिनेछ, नगर क्षेत्रका मठमन्दिर, मदरसा, गुम्बा, विहार, चैत्य, चर्च, मस्जिद संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइनेछ, पाल्पा दरबार संंग्रहालयको विकासका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिनेछ, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्न आवश्यक कार्य अगाडि बढाइनेछ, वनदेवीमा वातावरणमैत्री बसपार्क निर्माण गरिनेछ, नगर क्षेत्रमा पार्किङ पूर्वाधार व्यवस्थित बनाइनेछ भन्ने कुरा पनि त्यतिबेलै नीति तथा कार्यक्रममा समावेश थियो । यी कार्यक्रम अहिले पनि हुबहुरूपमा आएका छन् । नगरपालिकामा यसअघिको निर्वाचनमा एमालेबाट अशोककुमार शाहीले जित्नुभएको थियो । अहिले कांग्रेसका सन्तोषलाल श्रेष्ठले जित्नुभयो । तर, नीति भने एमालेकै पालामा ल्याएकाले निरन्तरता पाए । यद्यपि तानसेन नगर सरकारले केही राम्रा काम र अभ्यासहरू पनि अघि नसारेको भने होइन । उसले उपमेयरसँग सुत्केरी पोषण कार्यक्रम, रैथाने जातको बालीको संरक्षण र प्रवद्र्धनका साथै ‘एक वडा एक उत्पादन’ कार्यक्रम, दूध उत्पादन वृद्धि गर्न गाई र भंैसीपालक व्यावसायिक समूह वा किसानलाई उत्पादनका आधारमा प्रतिलिटर दूधमा सहकारीमार्फत् अनुदान दिने व्यवस्था, संघीय सरकार, प्रदेश सरकार र ढाका संघ पाल्पाको सहकार्यमा ढाका मेला आयोजना गर्ने, पाल्पाली करुवाको विकास र प्रवद्र्धन गर्ने, तानसेन नगरपालिकाको उपयुक्त स्थानमा पाल्पाली ढाका टोपीको प्रतीक निर्माण गर्ने जस्ता कुराहरू नीतिमा ल्याएर कार्यान्वयन पनि गरेको छ । कार्यान्वयन भइरहेका कार्यक्रम भएकाले केही दोहोरिएको हुन सक्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । ‘अघिल्लो सरकारले ल्याएर पूरा गर्न नसकेका कार्यक्रमलाई हामीले निरन्तरता दिएका हौंँ’, उहाँले भन्नुभयो । ‘पुराना कार्यक्रमहरूबाट पनि हामीले रिफ्रेन्स लिनुपर्ने हुन्छ,’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वाभाविक पनि हो तर, धेरै नयाँ गर्ने प्रयास गरेका छौँ ।’

यहाँ सत्ता परिवर्तन भए पनि लगातार पाँच वर्षदेखि प्राथमिकतामा पर्दै आएका सडक निर्माण, सडकको स्तर सुधार, खानेपानी योजना, सिँचाइका साना योजना, मठमन्दिरको जीर्णोद्धार र सामुदायिक निर्माण जस्ता विकास योजना यसपटक पनि प्राथमिकतामा छन् । ‘नयाँ जनप्रतिनिधि आए पनि जनताले फरक अनुभूति पाउने कुनै कार्यक्रम आएनन्,’ तानसेनका हरि थापाले भन्नुभयो, ‘सबै कुरा कपिपेस्ट भएपछि हामीले कसरी समृद्धिको आशा गर्ने ?’ ‘जे-जे गर्दा विगतका जनप्रतिनिधिको आलोचना हुन्थ्यो, अहिले पनि त्योभन्दा फरक किसिमले जनप्रतिनिधि हिँड्न सकेका छैनन्,’ उहाँले भन्नुभयो । अझै पनि स्थानीय सरकारको महत्व स्वयं जनप्रतिनिधिले पनि बुझ्न नसकेको थापाले गुनासो गर्नुभयो । ‘अधिकांश विकास बजेट र योजना कार्यकर्तामुखी, भागबण्डा गरेर बाँडीचुँडी गर्ने किसिमले बनाउने काम अहिले पनि जारी छ,’ उहाँले भन्नुभयो, ‘विगतमा जनप्रतिनिधिको जसरी आलोचना भयो त्यही बाटोमा नयाँ जनप्रतिनिधि पनि हिँड्न थालेको देखिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?