काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ । व्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको थियो । प्रत्येक वर्षजसो व्रत सुरु हुनु अघिल्लो दिन यसरी नै चिभ्वय नेयगु कार्यक्रम हुन्छ । व्रस्त बस्ने महिलाहरूले एक महिनासम्म नुन खान नहुने भएकाले व्रत सुरु हुनु अघिल्लो दिन यसरी नुन भोज खाने परम्परा छ ।
यसअघि मेलाको एक हप्तादेखि नै व्रतालुले पूजापाठ सुरु गरेका थिए । यो व्रतलाई कठिन व्रत मानिन्छ । व्रतालुले एक छाकमात्र खान्छन् । जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ । यो बेला व्रतालुले सात्विक भोजन गर्छन् । व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ । नुन खान नहुने, हिँड्डुल गर्दा जुता नलगाई खाली खुट्टा हिँड्नुपर्नेलगायत कारण यो व्रतलाई कठिन अनि कठोर व्रत मानिन्छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना लाग्ने मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ । यो वर्ष ३० देखि ३५ लाखले मेला अवलोकन गर्ने अपेक्षा राखिएको छ । यति संख्यामा शंखरापुर नगरपालिकास्थित शालिनदीमा बाहृय तथा आन्तरिक हिन्दू धर्मावलम्बीले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको जनाइएको छ । पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला अहिले राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ ।
मेलामा आउने भक्तजनका लागि सहजरूपमा सार्वजनिक यातायातको व्यवस्था गरिएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको जनाइएको छ । मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनुका साथै स्यानिटाइजर, मास्क निःशुल्क वितरण गरिनेछ ।
मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको शहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था छ । यसपटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण श्रेष्ठ अध्यक्ष बनेको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो शहरका रूपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमितरूपमा सञ्चालन हुँदै आएको विश्वास छ ।
मेला क्षेत्रमा प्लाष्टिक निषेध गरिएको छ । मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । मेलाका लागि आवश्यक अन्य सहयोग पनि नगरपालिकाले गर्ने वचन दिएको उहाँको भनाइ छ । मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।
स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ महात्म्यबाट उद्धृत गरिएको हो भन्ने मान्यता छ । साथै पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाऊँं भनी व्रत बसेको भन्ने आधार पनि चर्चित छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका