शोकमा पाल्पाको खुर्साने गाउँ

बस दुर्घटनामा ६ जनाको मृत्यु, ईश्वरले सुुनेनन् ज्यान गुमाउनेको प्रार्थना

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको खुर्साने गाउँ अहिले शोकमा डुबेको छ । कारण हो बस दुर्घटना । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ टाँडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाए । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस बिहीबार राति दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा-८ की ३६ वर्षीया निर्मला घिमिरे, उहाँको ११ वर्षीया छोरी सरुमाया घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहनुभएको छ ।

मृतक ६ जना नै बुटवल गोलपार्कमा रहेको सच्चाइ केन्द्र नेपालको सत्य वचन सुन्न गएको बुुझिएको छ । उहाँहरू सच्चाइ केन्द्र नेपालको बुटवलस्थित शाखाले आयोजना गरेको प्रार्थना तथा सत्य वचन सुन्ने कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नुभएको थियो । सच्चाइ केन्द्रले इसाई धर्मावलम्बीको प्रार्थना गराउने कार्यक्रम गर्छ । बिहीबार दिनभर ईश्वरको महिमा गाउँदै सत्य वचन सुनेर घर फर्किंदै गर्नुभएका उहाँहरू सवार बस राति करिब साढे १० बजेको समयमा दुर्घटना हुुन पुुगेको हो । दिनभर भगवानको प्रार्थना गरेका उनीहरूलाई भगवानले नै लगे ।

यहाँका सिंगो गाउँका महिलाहरू नै मिलेर ईश्वरको वचन सुन्न त्यहाँ पुुगेको घाइते २८ वर्षीया लिमकली पाण्डेले बताउनुुभयो । तीन महिने बच्चाकी आमा लिमकलाको अहिले बुटवलस्थित एडमनसिटी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । उनीहरूको प्रहरी र स्थानीयले उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेमध्ये १० जना अस्पतालबाट घर फर्किसकेका छन् भने आठ जनाको एडमनसिटी हस्पिटल जितगढी बुटवल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनामा सोही ठाउँकी ६० वर्षीय यमकली रास्कोटी र ३९ वर्षीया यमकला पाण्डे घाइते हुनुभएको छ । उहाँहरू दुवै जनाको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परी ७२ वर्षीया पूर्णकला दर्जी, २३ वर्षीया लालकुमारी गाहा, सात वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लीला गाहा, नौ वर्षीया अप्सना रास्कोटी, ६५ वर्षीया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया लिमकली पाण्डे, उहाँको तीन महिने छोरी अर्या पाण्डे, ७३ वर्षीया श्यानिकला बस्नेत घाइते हुनुभएको छ । यस्तै, सोही ठाउँकै २२ वर्षीया श्रेया राना, उहाँको १८ महिने छोरा दीपसन राना, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, २५ वर्षीया चुमा घर्ती, गाडी धनी ४१ वर्षीय रामहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेस्मी घाइते हुनुभएको छ । दुर्घटनाग्रस्त बस सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनास्थल सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने र खुर्साने गाउँनजिकै पुग्दा बस दुर्घटना भएको हो । बस के कति कारणले दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एउटै टोलका ६ जनाको मृत्यु भएको खबरले सिंगो खुर्साने टोल यतिबेला शोकमा डुबेको छ । गाउँमा रुवाबासी चलेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमको लागि ६ जनाको शव राखिएको छ । गाउँमा र बुटवल बजारमासमेत रुवाबासी चलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?