आकाशीय ग्रह-तारा अवलोकन परम्परा

Read Time = 14 mins

✍️ डा. नारायणप्रसाद निरौला

आकाशमा देखिने चम्किला वस्तु के हुन् भन्ने जिज्ञासा सबैमा हुन सक्छ । यो स्वाभाविक पनि हो । यस्तै जिज्ञासा हजारौँ वर्षपहिले भएर नै आकाशका ग्रहतारा अवलोकन गरी तिनीहरूको गति, स्थिति र पृथ्वीवासीलाई पर्ने प्रभावका बारेमा हाम्रा ऋषि-महर्षिहरूले थुप्रै खोज अनुसन्धान गरिसकेका छन् । ज्योतिष आकाशीय ग्रहहरूको अवलोकन गरी ग्रहहरूको अवस्थितिअनुसार व्याख्या विवेचना गर्ने शास्त्र हो ।
ज्योतिषशस्त्रमा सर्वप्रथम ग्रहहरूको गतिस्थित्यादि गणना गरिन्छ । यसरी गणना गरिएका ग्रहहरूको यथास्थिति तथ्याङ्कन गर्न आकाशीय अवलोकनको आवश्यकता पर्दछ । गणना गरिएका ग्रहहरू निश्चित ठाउँमै देखिनु ज्योतिषीय गणना सही हुनु हो । जबसम्म गणना र तद्स्थानको ग्रहीय उपस्थिति मिल्दैन तबसम्म गणना र अवलोकन दुवै नै निरुद्देश्य बन्न पुग्छन् ।

ज्योतिष एक वैज्ञानिक शास्त्र हो । विभिन्न यन्त्रका सहायताले आकाशीय ग्रहहरूको अवलोकन गरी चराचर जगत्को अवस्थिति अनुरूप फल वर्णन गर्ने कार्य यसअन्तर्गत हुने गर्दछ । हालसम्म ग्रहहरूको अवलोकन गर्ने परम्पराको लामो कालखण्ड व्यतित भइसकेको छ । वेद नै लिखित आधिकारिक प्रमाण भएका कारण वैदिक कालदेखि नै यसको आरम्भ भएको कुरा पुष्टि गर्न सकिन्छ । ऋग्वेद विश्वको सर्वप्राचीन ग्रन्थ हो । सूर्यकै केन्द्रीयतामा यो धर्ती अडेको छ, ऋतुको कारण सूर्य हो, वायुको कारण सूर्य हो भन्ने कुरा ऋग्वेदमा उल्लेख छ ः ‘सूर्यस्य चक्षु रजसैत्यावृतं तस्मिन्नार्पितं भुवनानिविश्वा ।’ (ऋग्वेद, १।१६४।१४) भुवन अर्थात् पृथ्वीको आधार सूर्य हो ।

यसको केन्द्रीयतामा अन्य ग्रहहरू रहेका छन् । जसको आधारमा दिशाहरू निर्धारित छन् : ‘पूर्वामनु प्रदिशं पार्थिवानामृतून् प्रशासद्विदधावनुष्ठु ।’ (ऋग्वेद, १।९५।३) त्यस्तो सूर्यद्वारा ऋतुहरूको नियमन गरेर क्रमशः पृथ्वीका पूर्वादि दिशाको निर्माण गरिन्छ । यसैगरी आकाशीय नक्षत्रहरूको चर्चा ऋग्वेदमा उल्लेख पाइन्छ । ग्रहण विषयक परिचर्चा पनि वेदमा पाइन्छ–‘यत्वा सूर्य स्वर्भानुस्तमसा विध्यदासुरः ..........’ (ऋग्वेदः ५।४०।।५९) । यसरी सूर्यको अवलोकन गरेर सूर्यलाई नै आधार मानेर ग्रहको रूपमा लिई अन्य गोलीय ताराहरको वर्णन गर्नुबाट पनि आकाशीय ग्रहहरूको अवलोकन प्राचीन रहेको पुष्टि हुन्छ ।

ज्योतिष एक वैज्ञानिक शास्त्र हो । विभिन्न यन्त्रका सहायताले आकाशीय ग्रहहरूको अवलोकन गरी चराचर जगत्को अवस्थिति अनुरूप फल वर्णन गर्ने कार्य यसअन्तर्गत हुने गर्दछ । हालसम्म ग्रहहरूको अवलोकन गर्ने परम्पराको लामो कालखण्ड व्यतित भइसकेको छ ।

ऋग्वेद पछिका ब्राहृमण ग्रन्थ, तैत्तिरीय संहिता आदिमा सावन, सौर चन्द्रवर्षको उल्लेख गर्नुबाट ग्रहहरूको अवलोकन गर्ने परम्परा निरन्तर रहेको बुझ्न सकिन्छ । अयन चलनसम्बन्धी प्रसङ्ग तैत्तिरीय संहितामा उल्लेख छ : ‘तस्मादित्यः षण्मासो दक्षिणे नै षडुत्तरे ।’ (तैत्तिरीय संहिता ६।५।३।) (सूर्य छ महिना उत्तर र छ महिना दक्षिण दिशातर्फ जान्छन् ।) यसैगरी आकाशका सप्तर्षिको चर्चा निरुक्तमा गरिएको छ । ‘सप्तऋर्षिणानि ज्योतींषि’ (निरुक्त १०।२६) । यसरी संहिता र सोही संहिताका उत्तरवर्ती ग्रन्थमा आकाशीय पिण्डहरूको उल्लेख गर्नु, विभिन्न नक्षत्रहरूको चर्चा हुनु आदि प्रसङ्गबाट आकाशीय ग्रहहरूको अवलोकन परम्परा प्राचीन हो भन्ने सिद्ध हुन आउँछ ।

ऋग्वेदमा सप्तर्षि ताराको उल्लेख पाइनु, यजुर्वेदका अनेक स्थानमा सत्ताइस नक्षत्रको वर्णन पाइनु, आश्वालायन सूत्रमा ध्रुवतारा, रोहिणी नक्षत्रको उल्लेख हुनुले ग्रहहरूको आकाशीय अवलोकन परम्परा प्राचीन रहेको प्रमाणित हुन्छ । वाल्मीकि रामायणका अनेक स्थानमा नक्षत्र ग्रहका साथै धुम्रकेतुको वर्णन पाइनु, याज्ञवल्क्य स्मृतिमा नक्षत्रवीथिहरूको चर्चा हुनु (दीक्षित, २००२ : ४५२), गर्गादि संहितामा पनि ज्योतिषीय गणना पद्धतिको उल्लेख पाइनुले पनि ग्रहनक्षत्र एवं आकाशीय पिण्डहरूको अवलोकन परम्परा पुरानो रहेको प्रष्टिन्छ । यसैगरी पराशर, असितदेवल आदि अनेक ऋषिहरूले पनि ग्रहनक्षत्रको विशद् विवेचना गरेका छन् । (शङ्करबालकृष्ण दीक्षित, २००२ : ४५४) अतः ग्रहावलोकन विना तिनीहरको स्वभाव, पिण्डको स्वरूप, वर्ण एवं फलादि कथन गर्नु असम्भव प्रायः रहेकाले पनि ग्रहवेध गर्ने परम्परा प्राचीनकालदेखिकै हो भन्न सकिन्छ ।

वेदांग ज्योतिषमालगधाचार्यले श्रविष्ठाको आरम्भमा सूर्य र चन्द्रमा उत्तरतिर ढलिकन्छन् र अश्लेषाको आधि भएपछि दक्षिणतिर बढ्छन् । सूर्य माघमा उत्तरतिर र श्रावणमा दक्षिणतिर सर्छन् (लगध, सन् २००५ : १।६) भनी उल्लेख गरेका छन् । आकाशीय ग्रह अवलोकनार्थ वेधशाला र यन्त्रनिर्माणकार्य सम्बन्धी चर्चा आर्यभट्ट (सन् ४७६) ले गरेको पाइन्छ । गोलयन्त्रको निर्माण, प्रयोग र ग्रहवेधसम्बन्धी अवधारणा प्रस्तुत आर्यभटीयम् (सन् ४७६) मा गरिएको छ । आर्यभट्ट पछि वराहमिमिहराचार्र्य (शक ४०७) ले आकाशलाई विभिन्न भागमा बाँडेर अवलोकन गर्नुपर्ने कुरा उल्लेख गरेका छन् (दीक्षित, २००२ : ४५४) ।

ब्रहृमगुप्त (शक ५२०) ले यन्त्राध्यायको रचना गरी आकाशीय ग्रहावलोकन विधिसहित विभिन्न यन्त्रको समेत चर्चा गरेका छन् । उनले यन्त्राध्यायको आरम्भमै यन्त्रविना आकाशीय ग्रहावलोकन असम्भव हुने भएकाले संक्षिप्त गोलको बारेमा बताउँछु भन्ने कुरा उल्लेख गरेका छन् (ब्रहृमगुप्त, यन्त्राध्याया श्लो ४) । गोलयन्त्र, घटियन्त्र, शङ्गुयन्त्र, चक्रयन्त्र, चापयन्त्र, तुरीययन्त्रका बारेमा पनि उनले चर्चा गरेका छन् । यसैगरी उक्त यन्त्रहरूको निर्माण, प्रयोग र प्रयोजनका बारेमा पनि ब्रहृमागुप्तले व्याख्या गरेको पाइन्छ । भास्कराचार्य (शक.१०३६) ले यन्त्राध्यायको एउटा छुट्टै विशिष्ट अध्याय परिकल्पना गरी वेध परम्परालाई व्यवस्थित गर्ने प्रयत्न गरे ।

यन्त्रहरूको निर्माण, प्रयोग र परिणामको पनि सम्यक् विवेचना यन्त्राध्याय अन्तर्गत गरिएको छ । यन्त्रद्वारा अवलोकन विना दिनगत कालको सूक्ष्माति सूक्ष्म अवयवको ज्ञान हुन असम्भव हुने भएकाले यन्त्राध्यायको आवश्यकता दर्शाउँदै गोलयन्त्र, नाडीवलय, यष्टि, शंगु, घडी, चक्र, चाप, तुरीय, फलक यन्त्रहरूको वर्णन भास्कराचार्यले गरेका छन् । (भास्कर, सन् १९९८ : ४३७) ।

शक संवत १२९२ मा महेन्द्र सूरिले सूर्यादि ग्रहहरूको अवलोकन गर्ने यन्त्र यन्त्रराजको रचना गरी उक्त यन्त्रबाट सूर्यादि ग्रहताराहरूको नतांश, भोगशर, अक्षांश, लग्न, दिनमान ज्ञान गरेको पाइन्छ । समयको क्रमसँगै आकाशीय ग्रहपिण्डहरूको अवलोकन गर्ने विधि प्रविधिको विकास हुँदै आएको पाइन्छ । शकसंवत् १२९२ पछि पद्मनाभ नामक ज्योतिषीले ध्रुवभ्रम यन्त्रको निर्माण गरेको उल्लेख पाइन्छ । यो यन्त्रले राति नक्षत्रहरूको र दिनमा सूर्यको अवलोकन गरेर काल निर्धारण गर्ने कार्य गर्दथ्यो । चक्रधर नामक ज्योतिषीले यन्त्रचिन्तामणि नामक ग्रन्थ रचना गरेका छन् । जहाँ तुरीय यन्त्रको चर्चा गरिएको छ । जुन यन्त्रद्वारा रविचन्द्र भोगकाल, ग्रहहरूको भोगकाल, इष्टकाल, लग्नसाधन ज्ञान गर्न सकिन्छ ।

पाश्चात्य ग्रहावलोकन प्रविधिमयी बनेर अघि बढिरहेको परिप्रेक्ष्यमा तदनुकुल हुन उक्त प्रविधि हाम्रा खोज अनुसन्धानमा पनि भित्र्याउनु आवश्यक छ । विश्वका वेधशालासँग समन्वय गरेर नेपालमा पनि त्यस्तै वेधशाला एवं यन्त्र उपकरण भित्र्याउन सक्नुपर्दछ ।

यसै समयमा चिन्तामणि दीक्षितले गोलानन्द नामक ग्रन्थ रचना गरेको पाइन्छ । उक्त ग्रन्थमा बताइएको गोलयन्त्रद्वारा ग्रहहरूको स्पष्ट गति, चर, लग्न, दिक्, नतांश, वलन, इष्टकाल आदि साधन गर्न सकिन्छ । (शर्मा, सन् २००५ ः २१६) । इशाको १८औँ शताब्दीमा जय सिंहले आकाशीय ग्रहवेध परम्परालाई अर्को मोड दिए । दिल्लीमा वेधशाला निर्माण गरी भित्ति यन्त्र, राजयन्त्र, १७.५० फिट व्यासप्रमाणको उन्नतांश चक्रयन्त्र, क्रान्तिवृत्तयन्त्र स्थापना गरी आकाशीय ग्रहनक्षत्रहरूको अवलोकन गर्ने कार्यारम्भ गरे । बापूदेव शास्त्रीको ‘मानमन्दिरस्थ यन्त्रवर्णन’ नामक ग्रन्थको आधारमा कशीमा मानमन्दिर वेधशालाको निर्माण गरी आकाशीय ग्रहताराको अध्ययन अवलोकन गर्ने परम्परा विद्यमान छ ।

गोलयन्त्रको माध्यमबाट समयको मापन गर्न सकिन्छ । यष्टि यन्त्रको प्रयोगले ग्रहहरूको अवस्थिति जान्न एवं नतांशोन्नतांश साधन गर्न सकिन्छ । घडीको पनि घडी शङ्कु यन्त्र हो । यसैगरी विभिन्न प्रयोजनका लागि धीयन्त्र, स्वयंवह यन्त्र, नाडीवलय यन्त्र, तुरीय यन्त्र आदि थुप्रै यन्त्रहरूको चर्चा शास्त्रहरूमा पाइन्छ । आकाशीय ग्रहहरूको वास्तविकता थाह पाउन यन्त्रको आवश्यक पर्छ । आधुनिक उपकरण थुप्रै निर्माण भइरहेको परिप्रेक्षमा प्राचीन र आधुनिक दुवै विधि र परम्परालाई अवलम्बन गरी ज्योतिषीय ज्ञानलाई दीर्घकालीन उपयोगको विषय बनाउनुपर्ने आजको आवश्यकता छ ।

पाश्चात्य ग्रहावलोकन प्रविधिमयी बनेर अघि बढिरहेको परिप्रेक्ष्यमा तदनुकुल हुन उक्त प्रविधि हाम्रा खोज अनुसन्धानमा पनि भित्र्याउनु आवश्यक छ । विश्वका वेधशालासँग समन्वय गरेर नेपालमा पनि त्यस्तै वेधशाला एवम् यन्त्र उपकरण भित्र्याउन सक्नुपर्दछ । हाल नेपालका वाल्मीकि विद्यापीठमा रहेको वेधशालालाई आधुनिक प्रविधिमयी बनाउनुका साथै अन्य क्षेत्रमा पनि वेधशाला निर्माण गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?