तातोपानी नाका पूर्ववत रूपमा सञ्चालनमा ल्याउन आग्रह

Read Time = 4 mins

काठमाडौं । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ ।

शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गर्नुभएको हो ।

उहाँहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गर्नुभएको छ । ‘पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ । प्रभावकारी ढङ्गबाट सुचारु हुन सकेको छैन’, ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रम अघि बढाइयोस् ।’ अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र पहल जारी रहने बताउनु भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।

विद्यालयहरूले स्रोत साधनको समस्या झेल्नुपर्दैन

सांसद माधव सापकोटाले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयले समस्या झेल्नु नपर्ने बताउनुभएको छ ।

शुक्रबार जिल्लाको जुगल गाउँपालिका–५ स्थित रत्नराज्य माध्यमिक विद्यालयले गाउँपालिकाभित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तक्र्रियामा सांसद सापकोटाले विद्यालयलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रीय विद्यालयका रुपमा विकास गर्न प्रस्ताव गर्नुभयो । ‘प्रविधि र व्यवस्थापन पक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ’, उहाँले भन्नुभयो ।

यसैबीच रत्नराज्य मावि चनौटे र काठमाडौंस्थित स्लिङ्टन कलेजबीच प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्ने सहमति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?