कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक ओलीलाई बुझाइएको हो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जतता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।

शीर्षनेताले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?