बैतडीमा औद्योगिक ग्राम स्थापनाको काम सुस्त

 मेलौली -५ मा औद्योगिक ग्राम स्थापनाका लागि छनोट गरिएको क्षेत्र 

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीका दुई स्थानीय तहमा स्थापना गर्ने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको छ । जिल्लाको मेलौली नगरपालिका – ५ र पञ्चेश्वर गाउँपालिकाको – ४ मा स्थापना हुने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको हो । औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पर्ने सामान्य संरचना बाहेकको अन्य काम अघि बढ्न सकेको छैन ।

आर्थिक बर्ष २०७६/०७७ मा आएको ७५ लाख बजेटले ३ किलोमिटर सडक निर्माण गरिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । सडकसँगै खानेपानीको व्यवस्था र आवस्यक संरचना निर्माणको लागि फिल्ड तयार भएको उपाध्यक्ष भट्टले बताउनुभयोे । ‘पहिलो बर्ष ७५ लाख बजेट आएको थियो त्यो बजेट अनुसार काम ग¥यौ । त्यसपछि सरकारसंग थप बजेटका लागि माग गरिएको भएपनि बजेट आएन’ उहाँले भन्नुभयो ‘संघिय सरकारबाट बजेट प्राप्त नहुँदा अघि बढ्न सकेन ।’

मेलौली नगरपालिकामा भने बजेट प्राप्त भएर पनि ३ बर्ष सम्म औद्योगिक ग्राम स्थापनाको कुनै काम अघि बढाउन सकेको छैन । नगरपालिकाको वडा नम्बर ५ को सामुदायिक वनमा छनोट गरिएको तर बातावरणीय प्रभाव मुल्याङ्कन समेत नगरिएकाले काम अघि नबढेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले बताउनुभयो । ‘यसवर्ष वातावरणीय प्रभाव मुल्याङ्कन गरिरहेका छौँ, त्यसपछि निर्माण प्रक्रिया सुरु हुन्छ,’ योजना शाखा प्रमुख बागले भन्नुभयो । संघीय सरकारबाट बजेट प्राप्त भएरपनि बिगतमा काम गर्न नसकेपछि यस वर्ष औद्योगिक ग्रामको काम सुरु गर्ने तयारीमा रहेको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बिष्टले बताउनुभयो ।

औद्योगिक ग्राम निर्माण गर्नसके साना तथा मझौला उद्योग खोल्नको लागि सहज हुने पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभयो । ‘यस क्षेत्रमा साना उद्योग स्थापनाका लागि थुप्रै सम्भावना छन्, चिउरी उद्योग, मसला उद्योग, खानेपानी प्रसोधन लगायतका उद्योगको थुप्रै सम्भावना छ,’ उपाध्यक्ष भट्टले भन्नुभयो । स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण लक्ष राखेर निर्माणको सुरुवात गरेका औद्योगिक ग्राम अलपत्र अवस्थामा छोड्न नहुने मेलौली–५ का भुवन जोशीले बताउनुभयो । औद्योगिक ग्रामले व्यावसाय गरेर स्वरोजगार बन्ने युवाहरुले राम्रो अवसरकोरुपमा सदुपयोग गर्न सक्छन्, औद्योगिक ग्राम सम्पन्न हुन जरुरी रहेको उहाँले बताउनुभयो । औद्योगिक ग्राममा निर्माण गरिएका भवनहरुमा युवाहरुले स्टल सञ्चालन गर्नसक्ने बताइएको ।

औद्योगिक ग्रामका लागि पहाडी क्षेत्रमा ३५ रोपनी आवस्यक पर्छ । औद्योगिक ग्राममा सडक पुर्वाधार, खानेपानी, बिजुलीलगायत साना उद्योग सञ्चालनका लागि आवस्यक संरचना निर्माण गनुपर्ने हुन्छ । स्थानीय श्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सिपको परिचालन गर्दै लघु, घरेलु तथा साना उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्ने लक्ष राखेको थियो । । यसकासाथै सभाहल, क्यान्टीन, अग्नि नियन्त्रण केन्द्र लगायतका संरचना पनि निर्माण गर्न भनिएको छ । सरकारले ओद्योगिक ग्राम सम्बन्धी २०७५ सालमा कार्यबिधि पारीत गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?