सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न सभापति देउवाको निर्देशन

प्रधानमन्त्रीलाई विश्वासको मतबारे पुस २६ मै निक्र्योल गर्ने

कृष्ण भुसाल
Read Time = 10 mins

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसद्मा सक्रिय भूमिका निर्वाह गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो । बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउनुभएको थियो ।

प्रमुख सचेतक लेखकले सांसदहरूलाई औपचारिक पोसाक लगाएर मात्रै संसद् बैठकमा सहभागी हुन पनि निर्देशन दिनुभएको थियो । अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नेछ ।
‘संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ’, मुख्य सचेतक लेखकले भन्नुभयो, ‘हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ ।’

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकबद्ध भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको र संविधानसभा सदस्य प्रतिनिधिसभाको पूर्व–सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायत पदाधिकारी एवं संघीय संसद्का सांसद सहभागी थिए । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

कांग्रेस सभापति देउवा संसदीय दलको नेता चयन भएपछि शनिबार पहिलोपटक दलको बैठक बोलाइएको थियो । बैठकमा सभापति देउवा नै एक घण्टा ढिलो आएपछि निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको थियो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताउनुभएको छ । शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको हो । उहाँले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताउनुभयो ।

उहाँले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘२६ गते जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली कांग्रेस पार्टीले यो बेलामा संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’
महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनुभयो । उहाँले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्दै छ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौँ ।’
महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्‍याउन खोजेको बताउनुभयो । उहाँले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरूसँग पार्टी सभापति शेरबहादुर देउवासँगको भेट शीर्ष नेताबीचको सामान्य भेटघाट रहेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा निराधार रहेको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्ने कुरा अफवाह हो, निराधार हो, कानुनले नै मिल्दैन ।’

सत्ता स्वार्थमा निहित राजनीति : उपाध्याय
नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीतिभन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाउनुभएको छ । शनिबार बुटवलमा एक साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘दलहरूभित्र रहेको भागबण्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको र देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी छ ।’
उपाध्यायले विदेशी शक्तिहरूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको पनि आरोप लगाउनुभयो । नेता उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिने दाबीसमेत गर्नुभयो । उहाँले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि एमालेले विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गर्नुभयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरू कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?