पाल्पा बस दुर्घटनामा चालकको लापरवाही

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको खुुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस गत बिहीबार राती रैनादेवी छहरा-८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए ।

चालक चेतबहादुर दर्जीले रातीको समयमा मदिरा सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘चालकले मदिरा सेवन गरेर गाडी चलाएको रहेछ, रातको समयमा मदिरा सेवनले गर्दा गाडी एकातिर मोड्न पुगेपछि दुर्घटना भएको हुन सक्छ । मेडिकल रिपोर्ट अनुसार चालकले मदिरा सेवन गरेको खुलेको छ, अन्य कारणबारे पनि अनुसन्धान जारी रहेको छ ।’ चालक आफु घाइते हुनुहुन्छ । उहाँको अहिले प्रहरी कै निगरानीमा उपचार भइरहेको छ । उपचारपछि सवारी ऐन अनुसार कानुनी कारवाही अगाडि बढाइने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

उपचारत घाइतेहरुले पनि चालकले मदिरा सेवन गरेर गाडी चलाएको बताउँदै आएको रैनादेवी छहरा गाउँपालिका-८ वडा अध्यक्ष रेमबहादुर रानाले बताउनुभयो । बाटोमा गाडी रोकेर बस धनी रामबहादुर बस्नेत र चालक दर्जीले मदिरा खाएको घाइतेहरुले बताउने गरेको वडा अध्यक्ष रानाको भनाई छ । उहाँले भन्नुभयो,‘ चालकै लापरवाहीले दुर्घटना भएको हो, जहाँ १० मिटर चौडा रहेको सडकमा न घुम्ती छ नत साँघुरो नै राम्रै सडक भएको ठाउँमा नै गाडी दुर्घटना भएको छ, हामीहरु समेत अचम्म भयौं यहाँ कसरी दुर्घटना भयो ? घाइतेहरुले चालकले रक्सी सेवन गरेर जवरजस्ती गाडी चलाएको बताएका छन् ।’

टारीखेतको नास्ता पसलमा गाडी रोकेर चालक र गाडी धनीले मदिरा सेवन गरेकाले दुर्घटना भएको बुझिएको छ । चालकले पहिले गाडी सडकको कुनामा ठोक्न लगेका थिए । त्यति बेला यात्रुहरु अत्तालिएर झर्न खोज्दा गाडीधनी बस्नेतले झर्न नदिएको बताइएको छ । यात्रुुहरु डराएर झर्छौं, हिँडेर जान्छौंँ भन्दा गाडी धनी बस्नेतले झर्न नदिएको घाइतेहरुले बताएका छन् । केही समयमै अलि पर लगेर चालकले गाडी बाटो मुनी फालेको बताइएको छ । दुर्घटनामा परी चालक र गाडी धनी समेत घाइते छन् ।

दुर्घटनाका विविध कारण हुने गर्छन् तर एउटै कारण, एउटै प्रकृति र उस्तै अवस्थामा पनि ठूला दुर्घटना दोहोरिनुको प्रमुख कारण चालकको लापरवाही नै हो भन्ने पुष्टि भएको छ । पछिल्लो समय चालककै लापरवाहीका कारण सडक दुर्घटनामा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो पाल्पाको यो बस दुर्घटनाको दृश्य र यसबाट पुगेको मानवीय क्षतिले त कतिपयले सवारी तथा यातायात व्यवस्था ऐनको प्रभावकारी कार्यान्वयनमा नियमनकारी निकाय उदासिन बनेको गुनासो समेत गर्न थालेका छन् । सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, सडक विभाग र यातायात व्यवसायीलगायतका सरोकारवाला निकायबीच नियमितरुपमा आपसी तादात्म्यता हुन जरुरी भइसकेको महसुस सर्वत्र गर्न थालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?