शिक्षण पेशा छाडेर जनप्रतिनिधि अनि व्यावसायिक कालिजपालनबाट मनग्य आन्दानी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । दाङको बंगलाचुली गाउँपालिका–५ मुर्कुटी निवासी पूर्व वडाध्यक्ष एनुराज खत्रीले १६ लाख बढी रुपैयाँ लगानी गरेर व्यावसायिक कालिजपालन गर्दै आउनुभएको छ ।

शिक्षण पेशाबाट करिब ६ बर्ष अघि राजीनामा दिएर जनप्रतिनिधि बनेका खत्रीले विगत ढाई बर्षदेखि कालिजपालन गर्दै आउनुभएको छ । खत्री २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बंगलाचुली वडा नं- ५ मा वडाध्यक्षमा निर्वाचित भएर काम गर्नुभएको थियो । जनप्रतिनिधिका रुपमा पाँच बर्ष बिताएपछि पछिल्लो समय खत्री गाउँमै व्यावसायिक कालिजपालन गर्दै आउनुभएको छ । कालिजको व्यावसायिक पालनका लागि घोराही बजारमा रहेको घर करिब १ करोड रूपैयाँमा बेचेर व्यवसाय सुरु गरेको उहाँ वताउनुहुन्छ । बजारभन्दा आफू जन्मे हुर्केकै ठाउँमा बस्नका लागि सहरको घर बिक्री गरेको बताउनुहुन्छ । ‘आफू जन्मे हुर्केको ठाउँ छोड्न मन लागेन । त्यसैले गाउँ छोड्नुभन्दा बजारको घर बिक्री गर्ने सोच बनाएर कालिजपालनमा लागेको हुँ, खत्रीले भन्नुभयो, ‘अहिले आफ्नै गाउँमा व्यवसाय गर्न पाउँदा खुसी लागेको छ ( खत्री पूर्व शिक्षक समेत हुनुहुन्छ । खत्रीले गाउँकै एक विद्यालयमा करिब ३० वर्ष शिक्षण पेशा गरेका गर्नुभएको थियो । बंगलाचुलीमा व्यावसायिक बाख्रापालनसमेत गरेका निवर्तमान वडाध्यक्ष खत्रीले कार्यकाल सकिनुभन्दा करिब एक वर्षअघि ‘लेकाली व्यावसायिक पशुपंछी फार्म दर्ता गरेर कालिज पाल्न सुरू गरेको बताउनुहुन्छ ।

‘पहिले पढाउने काम गर्ने गर्थे । पढाउने काम छोडेर राजनीतिमा आएर पाँच बर्ष जनप्रतिनिधिका रुपमा जनताको सेवा गरे, उहाँले भन्नुभयो(‘पाँच बर्ष जनप्रतिनिधिका रुपमा काम सकिएपछि के गर्ने भन्ने सोच थियो । त्यही सोच अनुसार पशुपंछी फार्म दर्ता गरेर कालिज पाल्न थालेको हुँ । जुनसुकै क्षेत्रमा लागे पनि सक्रिय जीवन बिताउनुपर्छ भन्ने मान्यता अनुसार जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा एक बर्षअघि नै फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको उहाँ वताउनुहुन्छ । त्यसका लागि आफूले तुलसीपुरमा रहेको एक कालिज फार्मबाट १ हजार रूपैयाँका दरले ९ सय वटा बच्चा किनेर व्यवसाय सुरू गरेको बताउनुहुन्छ ।

‘बंगलाचुलीमा कालिज पालन नयाँ काम थियो । जसले गर्दा धेरै बच्चा सुरुमा बचाउन सकिएन, उहाँले भन्नुभयाे, ‘नौ सय बच्चाहरुमध्ये ५ सय जति बचे । तिनैलाई हुर्काएर व्यवसाय गरिरहेको छु । उहाँका अनुसार अहिले उत्पादन समेत सुरु भएको छ । यो बर्ष करिब १५ सय बच्चा उत्पादन भएको बताउनुभयाे । फार्ममा कालिजको संख्या करिब २५ सय बढी पुगेका थिए तर अहिले आधाभन्दा बढी बेचिसकेका छन् । अझै करिब फार्ममा १२ सय बढी कालिजहरु रहेका छन् ।

सुरुमा कालिज (भाले) साढे तीन हजार रूपैयाँसम्ममा बिक्री गरे पनि पछिल्लो समय भाउ घटेर दुई हजारसम्ममा बिक्री गर्दै आएको बताउनुभयो । जिल्लामा व्यावसायिकरुपमा कालिजपालन बढ्न थालेपछि कालिजको मूल्य क्रमिकरूपमा घट्दै गएको उहाँ वताउनुहुन्छ । उहाँका अनुसार कालिजका पारखीहरू फार्ममै आएर किन्ने गर्दछन् । बाँकी बिक्रीका लागि घोराही, तुलसीपुरलगायतका बजारसम्म पठाउने गर्नुभएको छ । उहाँका अनुसार तराईको भन्दा अग्लो चिसो पहाडी हावापानीमा हुर्केको कालिज स्वादिलो हुने गर्दछ ।

त्यही कारण बजारबाट समेत किन्न २९ किलोमिटर टाढा बंगलाचुलीसम्म उद्योगी तथा व्यवसायीहरू पुग्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार कालिज पालनमा व्यवसायमा सजिलो र अप्ठ्यारो दुबै छ । आफू कसरी सन्तुष्ट हुने भन्ने महत्वपूर्ण कुरा भएको उहाँ वताउनुहुन्छ । व्यावसायिक पालन गरे पनि आफूसँग ह्याचिङ मेसिन नभएका कारण कालिजका अण्डा घोराही वा तुलसीपुरसम्म लगेर बच्चा निकाल्ने गरेको खत्री बताउनुहुन्छ ।

‘व्यावसायिकरुपमा कालिज पाल्न थाले पनि मसँग बच्चा उत्पादनका लागि ह्याचिङ मेसिन छैन, उहाँले भन्नुभयो( ‘जसले गर्दा घोराही वा तुलसीपुरसम्म गएर बच्चा निकाल्नुपर्ने बाध्यता छ । तर बाटो खराब भएका कारण अण्डा फुटेर खेर जाने र ढुवानी खर्च बढी लाग्ने गरेको छ । उहाँलाई घरायसी कामसँगै व्यवसायमा श्रीमती केशरी र कान्छा छोरा द्रोण खत्रीले सघाउँने गर्दै आउनुभएको छ । पाँच जनाको परिवारमध्ये खत्रीका जेठा छोरा बेलायत छन् भने छोरीको विवाह भइसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?