हलेसीमा पाठेघर खसेकाहरुको उपचार गर्न घरघरमा स्वास्थ्यकर्मी पठाईने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई घर घरमा पठाउने भएको छ । पाठेघर (आङ) खस्ने महिलाहरुको मुख्य समस्याको रुपमा रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वाथ्यकर्मी खटाउन निर्णय गरेको हो ।

महिलाको पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणमा शुक्रबार ११ वटै वडाका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । पाठेघरको रोग पहिचान र त्यसको उपचार सम्बन्धि सुनौलो परिवारबाट प्रशिक्षक ल्याएर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत तालिम लिएका स्वास्थ्यकर्मीहरु माघ १ गतेबाट ९ गतेसम्म नगरपालिकाको प्रत्येक घरमा पुग्नेछन् । एकजना सहयोगी लिएर स्वास्थ्यकर्मीहरु आफ्नो वडाको घरघरमा पुगेर महिलाहरुको पाठेघर परीक्षण गर्नेछन् । परिक्षण पश्चात पाठेघर अर्थात(आङ)खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीहरुले तत्काल रिङप्रेसरी लगाउने लगायतका उपचार गर्नेछन् ।
(आङ) खस्ने तेस्रो वा चौथो चरण पुगेको अवस्थामा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने भएकाले त्यस्ता महिलाहरुको तथ्याङ्क संकलन गरिने घिमिरेले बताउनुभयो।कार्यक्रमको तेस्रो चरण अन्तरगत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक झिकाएर उक्त महिलाहरुको शल्यक्रियामार्फत उपचार गरिनेछ । रक्तसञ्चार केन्द्र जिल्ला अस्पतालमा भएकाले नगरपालिकाले आफ्नो लगानीमा दिक्तेल लगेर (आङ) खस्ने तेस्रो वा चौथो चरण पुगेकाका महिलाहरुको उपचार गर्नेछ ।

दिक्तेलमा असम्भव भएमा अन्य अस्पतालमा लगेर भएपनि निःशुल्क नगरपालिकाले उपचार गरिदिने नगरप्रमुख विमला राईले बताउनुभयो ।
मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिका लागेको मेयर राईको भनाइ छ । ‘पाठेघर खस्ने समस्या सबै उमेरका महिलाहरुमा हुने रहेछ, बिशेषगरी उमेर बढ्दै गएपछि बृद्ध अवस्थामा आमाहरुमा यस्तो समस्या देखिदो रहेछ । अघिल्लो आर्थिक वर्षमा हामीले केही ठाउँमा शिविर सञ्चालन गरेका थियौ । स्वास्थ्यकर्मीले खिचेका पाठेघर खसेको तस्विर हेर्दा मन धेरै दुख्यो । त्यसैले हामी जनप्रतिनिधिले नागरिकको दुःख बुझ्नु पर्छ भनेर कार्यक्रम सुरु गर्ने निर्णय गरेका हौ ।’ मेयर राईले भन्नुभयो ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटार गरी चार ठाउँमा पाठेघर खसेका महिलाहरुका लागि शिविर सञ्चालन गरेको थियो । महिलाहरुमा समस्या धेरै देखिए पनि धकाउने, लजाउने जस्ता कारणले शिविरमा कम उपस्थित भएकाले घरमै गएर समस्या पत्ता लगाउँदै उपचार गर्ने कार्यक्रम तयार पारिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?