संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा, १२ राजनीतिक दलहरुलाई गरियो सिटको व्यवस्थापन

हिमालय टाइम्स
Read Time = 8 mins

 काठमाडौं । पुस २५ गते अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराउनुभएको हो ।

आईतबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताउनु भयो । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदको भोलिदेखि अधिवेशन शुरु हुँदैछ । दुवै सभाका बैठकहरु एकसाथ १ बजेबाट शुरु हुन्छन । संघीय संसद सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरु सम्पूर्ण रुपमा पूरा गरिसकेको छ । यस पटक केही नयाँ दलहरु पनि निर्वाचित भएर आएको अवस्था छ । ती दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरु हामीसँग थिएनन् । न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधनको आधारमा भवनहरु बनाउन सकिने अवस्था नै थियो । तत्काल हामीले नेपाल सरकारसँग समन्वय ग¥यौं । र, नेपाल सरकारले केही संरचनाहरु उपलब्ध गराई दियो । र, हामीले त्यसको व्यवस्था मिलाई सकेका छौं । अहिले हामीले ती दलबाट निर्वाचित हुने पदाधिकारीहरु जसलाई कानून बमोजिम सवारीसाधन उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसका लागि हामीसँग पर्याप्त सवारी साधन छैनन् । नेपाल सरकारसँग त्यसबारे पहल गरिरहेका छौं । माग गरेका छौं । हामीले कठिनका साथ भएका स्रोत, साधनहरुको उपयोग गरिरहेका छौैं । अव यसको अतिरिक्त बैठक सम्पादनका लागि, बैठकको व्यवस्थापनका लागि गर्नुपर्ने प्रशासनिक तथा व्यवस्थापकीय कुराहरु, प्राविधिक परीक्षणका कुराहरु सबै सम्पन्न गरिसकेका छौं । प्रविधि फेरि कस्तो हुँदो रहेछ भने आज प्रयोग गर्ने र भोली प्रयोग गर्ने हो भने त्यसमा केही समस्याहरु आउँदा रहेछन् । त्यसैले सम्पूर्ण कुराहरु हामीले एकएक गरेर हाम्रा प्राविधिक कर्मचारीहरुको सहयोगले उहाँहरुले त्यो परीक्षण गरिसक्नुभएको छ । हामीले आज पनि त्यो ट्रायलको रुपमा हेरेका थियौं । सबै हिसावले हामी अधिवेशनका तयारीको काम पूरा गरेका छौं । कर्मचारीहरुलाई खटाउने कुराको पनि व्यवस्था गरेका छाैँ। अरु साजसज्जाका कुराहरु, सरसफाईका कुराहरु हामीले पूरा गरेका छौं । यसका साथै हामीले दुवै सभाका लागि आवश्यक पूर्व बैठकहरु जस्तो प्रतिनिधि सभातर्फ कार्य व्यवस्था परामर्श समिति थिएन । अहिलेसम्म भएको छैन । अब बिस्तारै होला । त्यसका लागि हामीले नयाँ बैठक प्रारम्भ हुनुभन्दा अगाडि सबै दलको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि सभाका सदस्यहरुको सर्वदलीय बैठक सम्पन्न गरेका छौं । राष्ट्रिय सभा अन्तर्गतपनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न भयो । ती बैठकहरुले गरेका निर्णयहरुको आधारमा सचिवालयले गर्ने अरु तयारीका कामहरु आज गरेको छ । हाम्रा तयारीहरु दुई खालका हुन्छन् । एउटा अधिवेशन आह्वान पूर्वको तयारी । अर्को, अधिवेशन पश्चातको तयारी । अधिवेशन पश्चातको पनि हाम्रो दुई खालको तयारी हुन्छ । एउटा तत्काल शुरु गर्छौंं । र, अर्को हिजोआजबाट प्रारम्भ गरेको सम्पन्न गरेका हुन्छौं । यी सबै कामहरु हामीले सम्पन्न गरेका छौं ।’

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनु भयो ।

संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ ।

सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘१२ वटा दलहरुलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ । हामीसँग भौतिक संरचना यति नै हो । थप छैन । कोभिडको संकट बढेर आउने पनि भनिएको छ । हामीले त्यसलाई पनि ख्याल गर्दै एउटा सिट खाली राखेर सिट व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यो भवनलाई थप बिस्तार गर्न सम्भव छैन । हामीले सम्भव भएसम्म सबै दलको कम्तिमा एक जना नेता भएपनि अगाडि रहनेगरी मिलाउन कोशिस ग¥यौं । हरसम्भव प्रयास ग¥यौं । तर, केही दलहरुको त्यो सम्भावना भएन । हामीले त्यस्ता केही दलहरुलाई चाहीँ एउटा रोहमा मिलाएर उहाँहरुको दलीय प्रतिनिधित्वको स्ट्रेन्थको आधारमा मिलाएका छौं । बाँकि अरु सबै दलहरुलाई फ्रन्टमा नेता रहने र पछाडि अरु सदस्यहरु रहनेगरी मिलाएका छौं । यसमा सत्तापक्ष र प्रतिपक्ष मोटामोटी रुपमा विभाजन भइसकेको छैन । किनभने प्रधानमन्त्रीले विश्वासको मत लिने काम पर्सी हुँदैछ । अहिले उहाँहरुसँग समन्वय गरेर तपाईहरु सत्तापक्ष कि प्रतिपक्ष भनेर सोधेर उहाँहरुले जे भन्नुहुुन्छ, त्यसको आधारमा हामीले सत्तापक्ष र प्रतिपक्षमा रहने सदस्यहरुको अनुसार दलगत रुपमा सिटको व्यवस्था मिलाइसकेका छौं ।’

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ । संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?