ताराले गर्‍यो रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । व्यावसायिक उडानका लागि गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान गरिएको छ । रेसुंगा विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि पहिलोपटक यस विमानस्थलमा तारा एयरको नाइन एन-एएलओ ट्वीनअटर-४०० विमानले गरेको परीक्षण उडान सफल भएको हो । रेसुंगा विमानस्थल रेसुंगा नगरपालिका-१० सिमिचौरमा पर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एयरलाइन्स र रेसुंगा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले सफलतापूर्वक परीक्षण उडान गरिएको रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । गुल्मेली जनताको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलबाट सफल परीक्षण उडान हुनुले गुल्मेली जनतामा विकासको नयाँ आयाम थपिएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः१४ बजे रेसुंगा विमानस्थलको लागि उडान भरेको तारा एयरको नाइन एन-एएलओ ट्वीनअटर–४०० जहाज मध्यान्ह १२ः०० बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । तारा एयरका क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठसहितको चालक दल एवम् प्राविधिक सहितको टोलीले विमान स्थलमा सफलतापूर्वक परीक्षण उडान भरेको हो ।

क्याप्टेन श्रेष्ठले गुल्मीमा जहाज अवतरण र उडानका लागि कुनै पनि समस्या नदेखिएको बताउनुभयो । यहाँको धावनमार्ग र टर्मिनल टावर पनि राम्रो बनाइएको पाइएको श्रेष्ठले बताउनुभयो । अहिलेकै अवस्थामा उडान गर्दा बिहान ११ः०० बजे अघिको समय उत्तम हुने क्याप्टेन श्रेष्ठको भनाइ छ ।

तारा एयरलाइन्स तथा यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले फ्लाइटको सफल भएको बताउनुभयो । गुल्मी–काठमाडौंको हवाई समय ५० मिनेट लाग्ने र भाडा अहिले आठ÷नौ हजारको बीचमा हुने उहाँले जानकारी दिनुभयो । ‘कार्यालय व्यवस्थापन र अन्य प्राविधिक काम सकेपछि दुई हप्तापछि नियमित उडानको योजना छ ।’ उहाँले भन्नुभयो, ‘हामीले यहाँको नगरपालिकासँग समन्वय गरीरहेका छौँ ।’ इलामको मोडलमा नियमित हवाई उडान गर्न सकिने उहाँको भनाइ छ ।

गुल्मी क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एसका सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी लगायतको टोली उक्त जहाजमा काठमाडौंदेखि अवतरण गर्नुभएको थियो ।

कुल ३३ करोड लागतमा निर्माण गरिएको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । विमानस्थल २०७५ जेठ २५ गते धुले परीक्षण उडान भएको थियो । २०६३ सालदेखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?