सुदूरपश्चिममा सरकार बनाउन नाउपालाई फकाउँदै कांग्रेस

हिमालय टाइम्स
Read Time = 3 mins

यज्ञराज जोशी/हिटा
धनगढी । केन्द्र सरकार गुमाए पनि सुदूरपश्चिम सरकार आफ्नो नेतृत्वमा गठन गर्न नेपाली कांग्रेसले यस प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी(नाउपा)लाई मनाउने अभियान सुरु गरेको छ । प्रदेश प्रमुखले यही पुस २७ गतेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरूलाई आहृवान गरेसँगै कांग्रेस नेताहरूले नाउपाका नेताहरूसँग छलफल तीव्र पारेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । कांग्रेसले नाउपा र स्वतन्त्र (एक) गरी २८ सांसद पुर्‍याउने योजना अघि सारेको छ । यही एकीकृत समाजवादी पनि सरकारमा आउन खोजे उसका चार सांसदलाई पनि तान्ने योजनामा कांग्रेस छ ।

तर, यी दुवै विकल्पमार्फत सरकार बनाउनका लागि नागरिक उन्मुक्ति निर्णायक शक्ति हो । सोही कारण आन्तरिक छलफल तीव्र पारिएको हो । ‘नाउपा निर्णायक शक्ति भएकाले उहाँहरूसँगको संवादलाई हामीले निरन्तरता दिएका छौँ,’ कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भन्नुभयो, ‘छलफल सकरात्मक छ । उहाँहरूका केही माग छन् । ती यहाँबाट मात्रै नभएर केन्द्रीयस्तरबाट मात्रै पूरा हुन सक्छन् । बटम प्वाइन्ट के हुनसक्छ हामी खोजीमा छौँ ।’

नाउपाले रेशम चौधरीलाई छोड्नुपर्ने, टीकापुर घटनामा जेल परेकालाई छोड्नुपर्ने र मुख्यमन्त्री आफूले पाउनुपर्ने माग राखेको छ । तर, जेलमा रहेका कार्यकर्तालाई छोडे सभामुख लिएर भए पनि मुख्यमन्त्री कांग्रेसलाई दिने सम्भावनामा नाउपा छ ।

अर्कातिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै रेशम चौधरीलगायत छुट्ने प्रतिबद्धता जनाउँदा नाउपाले कांग्रेसलाई साथ दिनेमा आशंका पनि गरिएको छ । नाउपाले माओवादी, एमालेलाई साथ दिए कांग्रेस यस प्रदेशमा पनि प्रमुख प्रतिपक्ष दल बन्ने निश्चित छ । प्रदेशमा माओवादी केन्द्रका ११ र एमालेका १० गरी २१ सांसद छन् । जसमा नागरिक उन्मुक्तिका सातजना मिल्दा सरकारलाई चाहिने बहुमत पुग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?