भवन भाडामा नलगाउँदा लाखौं गुमाउँदै भीमेश्वर नगरपालिका

हिमालय टाइम्स
Read Time = 4 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा सदरमुकामस्थित सातदोबाटेमा निर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउनेबारे समयमै निर्णय गर्न नसक्दा भीमेश्वर नगरपालिकाले लाखौं रकम गुमाइरहेको छ । सदरमुकाम चरिकोटको मुटु सातदोबाटेमा नगरविकास कोषको अनुदान तथा आंशिक ऋणमा निर्मित भवन कुन मोडालिटीमा भाडामा लगाउने भन्नेबारे नगरपालिकाले लामो समयसम्म निर्णय गर्न नसक्दा लाखौं रकम गुमाइरहेको हो ।

भीमेश्वर नगरको गौरवको आयोजनाका रूपमा निर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउने सम्बन्धमा गत आर्थिक वर्षमा नै आशयपत्र माग गरिएकोमा आठवटा आशयपत्रमध्ये सातवटाको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । तर, स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि परिवर्तन भएपछि भवन भाडामा दिने मोडालिटी परिवर्तन गर्ने अथवा पहिलेकै मोडालिटीमा भाडामा लगाउने भन्नेबारेमा नगरपालिका लामो समयसम्म अनिर्णयको बन्दी बन्दा भवन भाडामा लगाउन ढिलाइ भएको भीमेश्वर नगरपालिकाका कर्मचारीहरूको भनाइ छ । आशयपत्र पेश गर्ने र्फम तथा कम्पनीहरूमध्ये छनोट भएका सातवटा प्रस्तावहरूलाई आर्थिक प्रस्ताव पेश गर्न सूचना निस्कने क्रममा रहेको भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेश राउतले बताउनुभयो । आर्थिक प्रस्ताव पेश भएपछि त्यसको मूल्यांकनपछि भवन भाडामा लगाइने उहाँको भनाइ छ ।

आशयपत्र माग गरिएको लामो समयसम्म पनि भवन भाडामा लगाउन नगरले ढिलाइ गर्दा ऋणको सावाँ तथा ब्याजको रकम सर्वसाधारणले तिरेको करबाट भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ । यही पुस ३० गते बहुउद्देश्यीय भवनको ऋणको किस्ताबापत सावाँ र ब्याज गरी ६ लाख ७३ हजार ५५९ रुपैयाँ ७५ पैसा नगरविकास कोषलाई नगरपालिकाले बुझाउनुपर्ने भीमेश्वर नगरपालिकाले बताएको छ ।
नगरपालिकाले आशयपत्र माग्दा दुई तला थप्ने तथा लिफ्ट राख्ने समेत कुरा उल्लेख भएकोमा चोकबाट देखिने गौरीशंकर हिमालको दृश्य हेर्न अवरोध हुने हुनाले तला थप्ने प्रावधान हटाउन आग्रह गरिए पनि नगरले स्वीकार नगरेको आशयपत्र बुझाएको व्यवसायीहरूको गुनासो छ ।

बहुउद्देश्यीय भवन निर्माणमा करिब १२ करोड खर्च भएको इञ्जिनियर राउतको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा आशयपत्र माग गरी चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दासमेत भवन भाडामा लगाउन तदारुकता नदेखाई जनताले तिरेको करबाट किस्ता तिरेर बस्न नहुने चरिकोटका स्थानीयहरूको भनाइ छ । कृषि हाटबजारका लागि निर्माण गरिएको भवन मासेर बनाइएको बहुउद्देश्यीय भवन भुइँतलासहित पाँचतले रहेको छ । चरिकोट बजारमा परेको वर्षाको पानी बग्ने निकास रहेको खोल्सोलाई हृयुम पाइपभित्रबाट बग्ने गरी भवनमुनिबाट छिराई आफैंले बनाएको मापदण्ड उल्लंघन गरी बनाइएको सो भवन निर्माण गर्दा नै स्थानीयले आलोचना गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?