गुरुकुल शिक्षाका कुराहरू

Read Time = 18 mins

✍️ डा.गुरुप्रसाद सुवेदी

गुरुकुल एउटा शिक्षाप्रणाली हो । गुरुकुल कुनै विद्यालयमात्र होइन । वास्तवमा गुरुकुल शिक्षा नेपालको मौलिक शिक्षा प्रणाली हो र राष्ट्रिय शिक्षाको आधार पनि हो । नेपालको भूगोलमा जन्मिएका वेदव्यासले वेदको विस्तार गरे र अठार पुराण लेखे । आदिकवि वाल्मीकिले नेपालकै भूमिमा बसेर रामायण लेखे । याज्ञवल्क्यले राजा जनकको राजसभामा ब्रहृमविद्याको हुँकार गरे । अरू धेरै ऋषिहरूले यही भूमिमा बसेर वेदका मन्त्र देखे । यस्ता अनगिन्ती ऋषि-मुनिहरूले जे पढे जाने त्यो सबै गुरुकुल शिक्षाको देन हो ।

रामले वसिष्ठ ऋषिको र कृष्णले सान्दीपनीको गुरुकुलमा पढेको पौराणिक अख्यान प्रसिद्ध छ । गुरुकुलको महत्वपूर्ण विशेषता भनेको त्यहाँ विद्यार्थीबाट कुनै शुल्क नलिइने हुनाले धनी र गरिबको भेद नहुनु हो । समृद्ध परिवारका कृष्णले र गरिबीको जाँतोमा पिल्सिएका सुदामाले यौटै गुरुकुलमा बसे र सँगै पढे । यसबाट धनी वा गरिब दुवैले समानताको अनुभूति गर्न पाए र एकअपसका सुखदुःखको अनुभूति गरे ।
वैदिक, पौराणिक र महाभारतको अवधिसम्म पनि भारत वर्षभर गुरुकुल शिक्षाको चहलपहल देखिन्छ । नेपालको इतिहास हेर्दा लिच्छवीकालसम्म पनि गुरुकुलको उत्कर्ष भएको पाइन्छ । मल्लकाल हुँदै शाहकालसम्म आउँदा गुरुकुल-शिक्षाको उत्कर्षमा केही कमी हुँदै आए पनि गुरुकुलपरम्पराको अवशेष चलिरहेकै पाइन्छ । त्यही गुरुपरम्पराले नै नेपालमा ज्योतिष, वास्तुशास्त्र, तन्त्रविद्या, आयुर्वेद र परम्परागत शिल्पविद्या समेतको संरक्षण हुँदै आएको हो । नेपालमा शैक्षिक समुन्नतिका नाममा विसं २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि भने गुरुकुल शिक्षाको परम्परा लुप्त हुँदै गयो । शिक्षामा परिवर्तनका लागि २०१२ सालदेखि विभिन्न अयोग बनाएर नेपालको शैक्षिक अवस्था र शैक्षिक समुन्नतिको अध्ययन गराइएको थियो ।

गुरुकुल शिक्षाबट विषयगत ज्ञान त हुन्छ नै, त्यससँगै कडाइका साथ चरित्रनिर्माणको शिक्षा पनि प्राप्त हुन्छ । चरित्रनिर्माणको कुरा भनेर वा पढेर बन्दैन । बाल्यकालदेखिको अभ्यासबाट मात्र बन्दछ । बाल्यकालदेखि चरित्रनिर्माण गर्न गुरुकुलभन्दा पनि पहिले पूर्वाधारको रूपमा मातृकुल शिक्षा आवश्यक हुन्छ ।

त्यतिखेरको चर्चित उड कमिसनको आयोगले परम्परागत संस्कृत शिक्षाले देशको समृद्धि नहुने निष्कर्ष निकाल्यो र परम्परागत गुरुकुललाई पाठशालाको रूपमा परिवर्तन गरायो । त्यसपछि अघि चलिआएका करिब दुई सयभन्दा बढी संस्कृत पाठशालाहरू लुप्त हुँदै गए । यसरी संस्कृतशिक्षाको जरा काट्ने काम भयो । जसको परिणाममा परम्परागत महत्वपूर्ण ज्ञानपरम्परा पनि लुप्त हुने अवस्थामा पुग्यो ।
क्यालकुलेटर लगायत कुनै गणितीय उपकरण नहुने समयमा, कापी-कलमको समेत व्यवस्था नहुँदा काठको पाटीमा धूलो राखेर छेस्कोले केरकार गरेरै चन्द्रग्रहण, सूर्यग्रहण पत्ता लगाउने ज्योतिषविद्या हाम्रा घरगाउँमा सुरक्षित थियो । आयुर्वेदसम्बन्धी जडिबुटीको ज्ञान घरघरमा पाइन्थ्यो । नाडी छामेर अचम्म लाग्ने गरी रोग पत्ता लगाउने, दूतनाडी हेर्ने र जडिबुटीको प्रयोग गरेर अचूक औषधि गर्ने ज्ञानपरम्परा पनि हाम्रो पिँढी शिक्षाबाट चलिआएको थियो ।

अरू यस्ता जीवनोपयोगी धेरै कला हामीसँग सुरक्षित थिए । ती अब हरूाउँदै गएका छन् । परिणाममा धेरै कुराले देश पराधीन हुँदै गइरहेको छ । अब पनि बेलैमा चनाखो नहुने हो भने हाम्रै लापरबाहीका कारण हाम्रा सन्तानहरूले ठूलो ज्ञानसम्पदाबाट वञ्चित हुनुपर्ने स्थिति आउँदैछ । यो चिन्ता र चासोको विषय हो ।

यस सन्दर्भमा केही त्यागी तपस्वी विद्यासाधकहरूको सत्प्रयासबाट नेपालमा गुरुकुलशिक्षाको पुनरुत्थान भइसहेको छ । गुरुका घरमा गएर संस्कारसँगै विभिन्न कुराहरू सिक्ने ठाउँ नै गुरुकुल हो । गुरुकुल भन्नाले यौटा पाठशालामात्र होइन र त्यो संस्कृत विद्यालय पनि होइन । संस्कार सिक्ने र खास गरी जीवन जिउने कला सिक्ने ठाउँ हो । गुरुकुलमा पढाइका विषय गौण हुन्छन् । पढ्ने वा सिक्ने तरिका मुख्य हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण खुल्छ । गुरुकुलमा बसेर प्रकृतिको काखमा रमाउँदै जीवन र जगतलाई पढ्न सिकियो भने पढाइका अन्य विषयहरू आफै खुल्दैजान्छन्, त्यतिमात्र होइन नयाँ विषयको अविष्कार पनि हुँदै जान्छ भन्ने गुरुकुल शिक्षाप्रणालीको मूल मर्म हो ।

गुरुकुल शिक्षाबट विषयगत ज्ञान त हुन्छ नै, त्यससँगै कडाइका साथ चरित्रनिर्माणको शिक्षा पनि प्राप्त हुन्छ । चरित्र निर्माणको कुरा भनेर वा पढेर बन्दैन । बाल्यकालदेखिको अभ्यासबाट मात्र बन्दछ । बाल्यकालदेखि चरित्र निर्माण गर्न गुरुकुलभन्दा पनि पहिले पूर्वाधारको रूपमा मातृकुल शिक्षा आवश्यक हुन्छ । त्यसपछि पितृकुल शिक्षा हुँदै आचार्यकुल शिक्षामा पुगिन्छ । यी सबै गुरुकुल शिक्षाका विभिन्न अङ्गहरू हुन् । यसप्रकार गुरुकुल शिक्षाबाट प्रशिक्षित जनशक्ति चरित्रवान् व्यक्तिको रूपमा समाजमा जान सक्छ । वास्तवमा व्यक्तिगत चरित्र निर्माणबाटै राष्ट्रिय चरित्रको पनि निर्माण हुने हो । व्यक्ति चरित्रहीन हुँदैगएपछि राष्ट्रिय चरित्रनिर्माणका आधार कमजोर हुँदैजान्छन् । आज नेपालमा दिनानुदिन यस्तै अवस्था आइरहेको छ ।

नेपालमा हाल प्रचलित शिक्षाले समाजले अपेक्षा गरेजस्तो जनशक्ति उत्पादन भएन भन्ने चिन्ता र चासो बढिरहेको छ । अहिले नेपालमा शिक्षित व्यक्तिमा आफ्नै देशलाई माया गर्ने र सुख दुःख जेभए पनि परिश्रम गरेर मैले मेरै देशलाई सिंगार्नुपर्छ भन्ने मान्यता कम हुँदै गएको देखिन्छ । देशमा बढिहरूेको भ्रष्टाचारको सूची हेर्दा अशिक्षित व्यक्तिभन्दा बढी पढेलेखेका भनिने व्यक्तिहरू भ्रष्टाचारी देखिन्छन् । त्यसैले अब प्रचलित शिक्षामा केही परिमार्जन हुनु जरूरी छ । समाजलाई असल बाटोमा ल्याउन फेरि गुरुकुल शिक्षा आवश्यक छ भन्ने स्वर उठ्न थालेको छ । तर अहिले चलेजस्ता केही गुरुकुलले पूरै समाजलाई परिवर्तन गर्न सम्भव छैन, त्यसैले गुरुकुलमा शिक्षा होइन शिक्षामा गुरुकुलको अवधारणा ल्याउनुपर्छ भन्ने विज्ञहरूको भनाइ छ ।

गुरुकुल भन्नाले गुरुघरमा बसेर गुरुको निर्देशनमा संस्कारसहितको शिक्षा लिनु हो । गुरुकुलमा शिक्षा लिने तरिका परम्परागत हुन्छ । गुरुकुलको यो परिभाषाले नेपालका परम्परागत सबै शैक्षिक संस्था गुरुकुल प्रकृतिका हुन् भन्न पनि मिल्छ । तर पनि गुरुघरमा बसेर वैदिक वाङ्मयको अध्ययन गर्ने शैक्षिक संस्थालाई मात्र गुरुकुल भन्ने चलन छ । हाल सरकारले पनि गुरुकुल, गोन्पा र मदरसालाई परम्परागत शिक्षाको रूपमा मान्यता दिएको छ ।

अहिले नेपालमा करिब पाँच सयजति गुरुकुल छन् । साधुसन्तहरूको नेतृत्वमा चलेका गुरुकुलहरू अझै राम्रा र व्यवस्थित छन् । करिब १७ सयजति गोन्पा र पाँच हजारभन्दा बढी मदरसा छन् । नेपालको मौलिक परम्परागत शिक्षाको रूपमा किरातहरूको मुन्धुम शिक्षालाई पनि समावेश गर्नुपर्ने हो तर हालसम्म पनि मुन्धुमशिक्षाले सरकारका तर्फबाट शैक्षिक संस्थाको रूपमा मान्यता प्राप्त गरिसकेको छैन ।
अधिकांश गुरुकुल, गोन्पा र मदरसाहरूले शैक्षिक संस्थाको रूपमा सरकारी अनुमति पाएका छन् । यिनीहरूको सञ्चालनका लागि सरकारका तर्फबाट वार्षिक रूपमा एकमुष्ट अनुदान दिने व्यवस्था पनि छ । पहिले शिक्षाविभागबाट जारी निर्देशिकाबमोजिम परम्परागत विद्यालयले सिधै अनुदान पाउँथे । अहिले त्यो दायित्व स्थानीय निकायमा सरिआएको छ । स्थानीय निकायमा कुरा बुझाउन नसक्दा कतिपय गुरुकुलले अनुदान पाउन नसकेको गुनासो आउनेगर्छ । गुरुकुल, गोन्पा र मदसराका लागि माध्यमिक तहसम्मको छुट्टाछुट्टै पाठ्यक्रम बनाइएको छ, एकप्रकारले राज्यले परम्परागत शिक्षाप्रणालीलाई सम्बोधन गरेको छ ।

विगतमा शिक्षामन्त्रालयबाट गुरुकुल गोन्पा र मदरसाको व्यवस्थापनका लागि छुट्टाछुट्टै व्यवस्थापन परिषद्को गठन पनि गरेको थियो र यी परिषद्ले सरकारलाई आवश्यक रायपरामर्श दिने गर्थे । हाल ती परिषद्ले पनि निरन्तरता पाउन सकेका छैनन् ।

तर, यतिमात्र पर्याप्त छैन । विगतमा शिक्षामन्त्रालयबाट गुरुकुल गोन्पा र मदरसाको व्यवस्थापनका लागि छुट्टाछुट्टै व्यवस्थापन परिषद्को गठन पनि गरेको थियो र यी परिषद्ले सरकारलाई आवश्यक रायपरामर्श दिने गर्थे । हाल ती परिषद्ले पनि निरन्तरता पाउन सकेका छैनन् । राजनीतिक अस्थिरता र पूर्वाग्रहको दुष्प्रभाव त्यहाँ पनि परेको छ ।

पाठ्यक्रमको ढाँचा बनेको छ, तर सबै विषयका पाठ्यपुस्तक बनेका छैनन् । पाठ्यक्रममा पनि धेरै ठाउँमा विसंगति छ । उच्च शिक्षासम्म पुग्दा पाठ्यक्रम र पाठ्यविषय परस्पर नमिलेको देखिन्छ । यी सबै कुराको व्यवस्थापन गर्न विशेषगरी राज्यले नै दृष्टि दिनुपर्छ । परम्परागत विद्याको संरक्षणका लागि राज्यले लिनुपर्ने नीतिगत अवधारणा र गर्नैपर्ने काम निम्नानुसार छन् । नीतिगत अवधारणा-
१. गुरुकुल शिक्षालाई नेपालको परम्परागत मौलिक शिक्षापद्धतिको रूपमा विशेष मान्यता दिने ।
२. संस्कृत वाङ्मयभित्रका महत्वपूर्ण ज्ञानसम्पदालाई संरक्षणीय विधाको रूपमा सूचीकृत गर्ने ।
३. अन्य आधुनिक शिक्षाको पाठ्यक्रममा पनि परम्परागत ज्ञानका विषयवस्तु समावेश गर्ने ।
उपर्युक्त नीतिलाई कार्यान्वयन गर्न निम्नानुसारका कार्य गर्नुपर्ने देखिन्छ -

१. सम्बद्ध क्षेत्रमा कार्यरत विषय विशेषज्ञ गुरुहरूको सहयोग लिएर परम्परागत गुरुकुल शिक्षासम्बन्धी नीति निर्माण गर्ने र त्यसलाई नियमावली वा निर्देशिककाको रूपमा मान्यता दिई लागू गर्ने ।
२. गुरुकुल समेतका परम्परागत शिक्षाको व्यवस्थापन र समन्वय गर्न शिक्षामन्त्रालय अन्तर्गत परम्परागत शिक्षा व्यवस्थापन महाशाखा वा परम्परागत शिक्षा व्यवस्थापन परिषद्को गठन गर्ने ।
३. प्रदेश र स्थानीय तहमा पनि सरोकारवालाको संलग्नतामा अधिकार सम्पन्न परम्परागत शिक्षा व्यवस्थापन परिषद्को गठन गर्ने व्यवस्था मिलाउने ।
४. गुरुकुलमा आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तकको निर्माण र प्रकाशनको समुचित प्रबन्ध मिलाउने ।
५. संस्कृत पढाइने गुरुकुलमा सम्बद्ध भाषा विषयबाहेक हरूेक विषय संस्कृतमा पढाउन अनुमति दिने ।
६. सम्बद्ध विषय विशेषज्ञको संलग्नतामा शिक्षक÷गुरुहरूलाई पुनर्ताजकीकरणका लागि तालिम दिने ।
७. परम्परागत शैक्षिक संस्थाको मौलिक विशेषताको संरक्षणमा आँच नआउने गरी सञ्चालन गर्न दिने
८. निर्धारित उद्देश्यअनुरूप सञ्चालन भएका संस्थाहरूलाई पर्याप्त अनुदान सहयोगको व्यवस्था गर्ने ।
९. सरकारबाट प्रदत्त अनुदान रकमको सही सदुपयोग भएनभएको अनुगमनको व्यवस्था गर्ने ।

यसरी राज्यको स्वीकृति र अनुदान लिएर सञ्चालन हुँदैमा परम्परागत विद्याको संरक्षण भइहाल्दैन । त्यसका लागि सञ्चालकहरूमा विषय विशेषज्ञता, निष्ठा र त्यागी प्रवृत्ति पनि चाहिन्छ । सञ्चालकहरूमा गुरुकुल सञ्चालनको खास उद्देश्यको बोध हुनुपर्छ । सञ्चालकहरूले राख्नै पर्ने अवधारणा निम्नानुसार छन्-
१. लक्ष्यबोध, २. अध्यात्मिक भावना, ३. राष्ट्रियताको चिन्तन, ४. समर्पण, ५. उत्तरदायित्व आदि ।

हाल सञ्चालन भइरहेका गुरुकुलहरूमध्ये अधिकांश गुरुकुललाई तपस्वी सन्त महात्मा र त्यागी प्रवृत्ति भएका व्यक्तिहरूले अफ्नो साधनाको रूपमा चलाउनुभएको छ र ती संस्थाहरू सफल देखिन्छन् । तर कतिपय व्यक्तिरूले कर्तव्यबोधभन्दा बढि देखासिकीमा लागेर गुरुकुलको नाम लिँदा द्रव्यार्जन हुन्छ भन्ने आशामा गुरुकुल खोल्नुभएको देखिन्छ । त्यस्ता गुरुकुलहरूले गुरुकुलको लक्ष्य प्राप्त गर्न सक्दैनन् र गुरुकुलको सञ्चालन पनि हुन सक्दैन, त्यसैले गुरुकुल सञ्चालन गर्न चाहनेले पहिला आफुमा गुरुपरम्पराप्राप्त कठिन साधनाद्वारा गुरुत्वको अधान गर्नुपर्छ, त्यसपछि मात्र गुरुकुल सञ्चानल हुनसक्छ । अस्तु ।। - gurupdsubedi@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?