शून्य प्रायः जस्तै देखिन्थ्यो बालुवाटार

Read Time = 17 mins

✍️ नन्दकृष्ण जोशी

काठमाडौं शहरमा जाडो बढिरहेको छ । इसाई धर्मालम्बीहरूको पर्व क्रिस्मस मनाउनेहरू खुशीयालीमा शुभकामना एकआपसमा बाँडिरहेका थिए । बत्तीको उज्यालोले सिंगारिएको थियो शहर । राजनीतिले एकाएक नयाँ मोड लिइरहेकाले समाज तातेको थियो । राष्ट्रपतिले सरकार गठनका लागि दिएको एक हप्ताको समय बित्न एक दिनमात्र बाँकी थियो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको भनिए तापनि सबैसदस्यहरूको उपस्थिति जनाइएको थिएन । एक दिन अघिसम्म वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले ठूलो पार्टीको हैसियतले पाउनुपर्ने दाबी गरिरहनु भएको जानकारी सञ्चारमाध्यमद्वारा बाहिर आएको थियो ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले पनि सञ्चारमामार्फत सोही जानकारी दिनुभएको थियो । पुस ९ गते बिहान प्रधानमन्त्री देउवाले नेता विमलेन्द्र विधिलाई ताजा जानकारीका लागि नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई भेट गर्न खुमलटारमा पठाउनु भयो । त्यसअघि बालुवाटारमा प्रम देउवा र प्रचण्डबीच शक्ति बाँडफाटका बारे धनीभूत वार्ता भएको बताइएको थियो । पार्टीका पदाधिकारीको सल्लाहअनुसार सभापति देउवा आफ्नो अडानमा हुनुहुन्थ्यो ।

यता प्रचण्ड जसरी भए पनि प्रधानमन्त्री पद आफूले पाउनुपर्ने अडानमा हुनुहुन्थ्यो । दुई नेताबीच प्रम पद प्राप्तिका लागि रस्साकस्सी चलिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजनीति आफ्नो पक्षमा पार्ने सुरमा हुनुहुँदो रहेछ । त्यसका लागि दिन पहिले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई खुमलटारमा वार्ताका लागि पठाइसकेका ओलीले प्रचण्डबाट सकारात्मक सन्देश पाइसक्नु भएको बताइएको थियो । त्यसैले पनि प्रचण्ड आफूलाई ओलीबाट पूरा सहयोग मिलेर प्रम पद नगुम्ने मनशायमा हुनुहुन्थ्यो र देउवासँग यसबारे कडा रूपमा प्रस्तुत हुनुभएको रहेछ । सो कुरा देउवा र सहयोगीले नबुझ्नु भूल थियो । अझ देउवा पत्नी आरजु, डा.महत, ज्ञानेन्द्र कार्कीलगायतले देउवालाई दुइटा पद छोड्न हुन्न भन्ने राय बारम्बार दिइरहेको जानकारी बाहिर आएको थियो ।

पार्टीका पदाधिकारीहरूको सल्लाह अनुसार सभापति देउवा आफ्नो अडानमा हुनुहुन्थ्यो । यता प्रचण्ड जसरी भए पनि प्रधानमन्त्री पद आफूले पाउनुपर्ने अडानमा हुनुहुन्थ्यो । दुई नेताबीच प्रम पदका लागि रस्साकस्सी चलिरहँदा नेकपा एमाले अध्यक्ष केपी ओली राजनीति आफ्नो पक्षमा पार्ने सुरमा हुनुहुँदो रहेछ ।

उहाँहरूको मात्र कुरा सुन्नु, पार्टीका महत्वपूर्ण पदाधिकारीलाई बोलाएर राय नमाग्नु, देउवाको कमजोरी देखिन्छ । यसैगरी प्रम देउवाप्रति संस्थापन इतर पक्षका केन्द्रीय सदस्यमात्र नभएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो महत्वपूर्ण समयमा प्रम देउवालाई समय-समयमा उचित सल्लाह नदिनुलाई राजनीतिक गल्ती मानिन्छ । ‘भौती बिराली मुसी नमारौँ’ भन्ने सुदूरपश्चिमेली कहानी यसबेला चरितार्थ भयो । स्थानीय चुनावताका पाँच दलीय गठबन्धनको योजना सफल नै मान्नुपर्छ । त्यसअघि दुईपटक संसद् विघटन गर्न लागेका तत्कालीन प्रम ओलीका विरुद्ध प्रचण्ड र माधव नेपाल समूह गालीगलौज गर्दै तल्लोस्तरको राजनीतिक क्रियाकलापसहित काठमाडौंका सडकहरूमा ओर्लिएका घटना मिलाएको थिएन । सडकमा धर्नामा बसेर ‘हामी यहाँ छौ’ भनिरहनु भएको थियो । उहाँहरूबीचको राजनीतिक दूरी राष्ट्रिय चुनावमा प्रष्टरूपमा देखिएको थियो । गठबन्धनका विरुद्ध नेकपा एमाले बहुमत ल्याएर सरकार निर्माण गर्नेछ भन्ने केपी ओलीको चुनावी सन्देश थियो ।

तर, कांग्रेसले ८९ सिट (५७+३२) ल्याएर पहिलो, एमालेटले (४४+३४) ७८ सिटमा विजय हासिल गरेर दोस्रो स्थानमा रहनु पर्‍यो । यसैगरी माओवादी केन्द्र ३२ सिट (१८+१४) मा तेस्रो भयो भने राष्ट्रिय पार्टीका रूपमा उक्लन नसकेर १० सिटमा सीमित रहन पुग्यो नेकपा समाजवादी पार्टी । गत असारमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो (७+१४) स्थान हासिल गर्न सफल भयो । राजनीतिमा मात्र होइन, जोडघटाउको अंंकगणितमा पनि सिपालु केपी ओलीलाई देउवाको भद्रपनको राजनीतिक सदुपयोग गर्न बेर लागेन । आफू प्रम रहँदाका बखत प्रचण्डले आफ्नोविरुद्ध बिख वमन गरेका सम्पूर्ण बोली व्यवहार भुलेर दुवै वामनेता राज्यका बागडोर आफ्नो आफ्नो पक्षमा पार्न तम्सिए ।

अढाई वर्षे प्रम पदको बाँडफाँट गरेर राष्ट्रपति सभामुखलगायत महत्वपूर्ण पद आफ्नो पक्षमा पार्नु यसभन्दा सुनौलो मौका केपी ओलीका लागि अर्काे भएन । यता कांग्रेस पार्टी आन्तरिक शीतयुद्ध अथवा घर झगडाले गर्दा न्याउरी मारी पछुतोको अवस्थामा सीमित रहृयो ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै अहिले शक्ति गुमाएपछि कांग्रेसजनमा पछुतोपन, घोर निराशापन छाइरहेको देखिन्छ । यता प्रचण्ड प्रम पदमा आरुढ भए तापनि रानजीतिक दम्भ, पद र प्रतिष्ठाका लागि सम्झौता गर्न कसैसँग पछि नहट्ने नेता रूपमा देखापर्नु भएको छ । सत्ताबाट बाहिरिएपछि दोस्रो दिन निवर्तमान प्रम बनिसकेको देउवालाई भेट गर्न बिहानीपख प्रम निवास बालुवाटार पुगे । दुलही अन्माएपछिको बिहेघर जस्तै देखिन्थ्यो बालुवाटार तैपनि आफ्नो धर्म राखी सुरक्षाकर्मीले केही बेर रोके । पिए भानु देउवा र कैलाश भट्टले देउवासँग भेट गर्ने समय मिलाए । देउवा सधैंकै झैँ दौरासुरुवालमा कोठामा एक्लै बसिरहनु भएको थियो ।

मलाई देखेर धेरै दिनपछि आउनु भयो, के छ भनी सोध्नुभयो । वास्तवमा गत असोज २२ गतेदेखि त्यता गएको थिएन । चुनावताका जिल्लामा बसेर पार्टीले टिकट दिलाएका उमेदवारलाई विजयी गराउन भनी मन, वचन र कर्मले लागिपरेँ । राजधानी फर्केर पनि नेका पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिन त्यता पुगेको थिइन । यसो हुनुको एउटा कारण पार्टीले जहिले पनि पन्छाउने तर उम्मेदवारलाई जिताउन र संगठन विस्तार गर्न निजी खर्चले जिल्ला गइरहनुपर्ने भन्ने थियो । अर्काे देउवा प्रधानमन्त्री पदमा नियुक्त भएपछि एकमुष्ट बधाई र शुभकामना दिने भन्ने मनशाय थियो, अफशोच सो पूरा हुन पाएन ।

प्रम निवास बालुवाटारमा लगभग दश मिनेटको भेटमा राजनीतिका बारे उहाँसँग केही कुरा गरेँ । उहाँ चिन्तित हुनुहुन्थ्यो । कम बोल्ने तर अर्थपूर्ण बोली बोल्ने उहाँको बानी मलाई थाहा छ । यसपटक यस्तै भयो दुःख नमान्नु होला भनी टिकट दिन नसकेको कुरातर्फ मोडिँदा म त्यस विषयले होइन हातमा आएको सत्ता गुम्यो जसको असर लोकतन्त्र र संविधानमा कतै नपरोस्, पार्टीमा पनि असर नपरोस् भन्नाका लागि सम्झेर आएको हुँ भनेँ । संसदीय समिति र केन्द्रीय समितिका महत्वपूर्ण व्यक्तित्वले के हजुरलाई सहयोग गरेनन् या घटनाक्रमबाट बेखबर पारियो भनी जिज्ञासा राख्दा उहाँले सोबारे बताउन चाहनु भएन ।

सधैँभरि नेता कार्यकर्ता र समाजका हरेक वर्गको उपस्थितिले भरिभराउ हुने प्रम निवास त्यस दिन रित्तो प्रायः थियो । पार्टीको मुख्य सचिव कृष्णप्रसाद पौडेल, कांग्रेस युवा नेता खिलानाथ दाहाल, स्वकीय सचिव, अन्य केही अनुहारबाहेक अरू थप व्यक्तिको उपस्थिति थिएन । एक किसिमको निन्याउरो जस्तै देखिन्थ्यो देशको कार्यकारी प्रमुखको निवास बालुवाटार । यता बालकोटमा त्यही बेला प्रचण्डको नेतृत्वमा सरकार गठनको विषयलाई लिएर केपी ओलीले मिनी मिटिङ बोलाएको, पदको टुंगो लागि सकेर राजनीतिक खुशीयाली बाढिरहेको भनेर खबर आएको पनि सुनिएको थियो ।

राष्ट्रपति कहाँ शपथ ग्रहणको कार्यक्रम बेलुका ४ः०० बजे तय गरेको जानकारी सञ्चारमाध्यमले दिएका थिए । निवर्तमान प्रमको हैसियतले देउवाले पनि त्यता जानुपर्ने भनेर होला १२ः०० बजे दिउँसोदेखि उहाँ तयारीमा बस्नुभएको रहेछ । अक्सर उहाँलाई दुःख पर्दा मेरो भेट हुन्छ । सुखमा पनि हुन्छ तर कम हुन्छ । २०५९ सालमा असक्षम भनी तत्कालीन राजाले बर्खास्त गर्दा, २०६१ या उहाँलाई शाही आरोप लगाएर थुनिदिँदा २०७२ मा उहाँलाई ९२ वर्षीय पिता श्रीप्रसाद सिंह देउवाको निधनमा शोक पर्दा उपस्थित भएर साथ दिँदै आएको व्यक्ति हुँ । सुदूरपश्चिमका चुनावी सभामा त प्राय : उहाँसँगै हिँडेको छु, घरको जहानपरिवार ससाना बालबच्चालाई छोडेर ।

प्रम निवास छोडेर देउवा चप्पलकारखाना नजिक एक घरमा सर्नुभएछ पुस १२ गते, मंगलचौथी तिथिका दिन । बूढानीलकण्ठ निवास नगएर भाडामा बस्नुको औचित्य केही होला । पूर्वमन्त्री भक्तबहादुर बलयारले बताए अनुसार सजिलो रहेछ, उहाँ बस्ने निवास । बाहिर घाममा दौरा सुरुवालमा केही कार्यकर्तासँग कुरा गर्दै बसिरहनु भएको थियो । उभिएरै सामान्य कुरा भयो । एकछिनपछि नेता एनपी सावद, गोविन्दबहादुर शाह आइपुग्नु भयो । एनपीसँग मात्र कुरा गर्नुभयो पार्टी सभापति देउवाले । पंक्तिकार र गोविन्द शाह एकछिन गफमा भुल्यौँ, कवितामा रमायौँ ।

भेट गर्न आएका केही व्यक्ति त्यताबाट निस्के पनि मैले त्यताको राजनीतिक वातावरण नियाले । ओरालोमा लागको मृगजस्तै लाग्यो त्यसबेलाको देउवाको राजनीतिक परिवेश । इतर पक्षले विशेष महाधिवेशन बोलाएर पार्टी सभापति पदबाट हटाउनेसम्मका आवाज उठाइरहेका छन् ।

भेट गर्न आएका केही व्यक्ति त्यताबाट निस्के पनि मैले त्यताको राजनीतिक वातावरण नियाले । ओरालोमा लागको मृगजस्तै लाग्यो त्यसबेलाको देउवाको राजनीतिक परिवेश । इतर पक्षले विशेष महाधिवेशन बोलाएर पार्टी सभापति पदबाट हटाउनेसम्मका आवाज उठाइरहेका छन् । बुद्धिजीवी र पार्टीका निकटस्थ व्यक्तिहरूको उपस्थिति त्यहाँ नि देखिन । देउवा चिन्तित मुद्रामा हुनुहुन्थ्यो । देउवा इमानदार नेता हुन् तर इमानको अर्थ लाग्दो रहेनछ राजनीतिमा । एकछिनपछि नेतृ डा.आरजु राणा देउवा कोठाबाट बाहिर निस्कनु भयो ।

त्यहाँ उपस्थित कांग्रेस युवा नेता बहादुर तामाङले जितेको उपलक्ष्यका उहाँलगायत सबैलाई मिठाई बाढ्नुभयो । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डिना उपाध्याय, युवानेतृ लक्ष्मी खतिवडालगायत सबैले हालको घटनाका बारे डा.देउवासँग जिज्ञासा राख्दा प्रत्युत्तरमा यस्ता घटना भइरहन्छन्, पार्टीमा पनि आपसी टीकाटिप्पणी आई नै रहन्छन् यसलाई अनौठो मान्नुपर्ने कारण देख्दिनँ पार्टीमा एकजुट भएर लाग्नुपर्छ भन्नुभयो । झण्डै पाँच वर्षपछिको उहासँगको भेट थियो मेरो । बीचमा कोरोनाका कारणले पनि भेट नभएको हो ।

एक घण्टाको बसाईपछि म निस्के । सुरक्षाकर्मीहरूले मसँग नजिकको आत्मीयता गाँसे र सल्लाह दिए-हजुरले देउडा गीत गाउन न छोड्नु होला । धन्यवाद दिँदै फर्के । मनमा, वर्तमान राजनीतिक घटनाक्रमले कस्तो रूप लेला ? के एउटा जंगलभित्र दुईटा बाघ मिलेर बस्न सक्छन् ? नेपाली कांग्रेस पार्टीभित्र पाँच रेक्टर स्केलको भूकम्प त कतै जाँदैन ? इत्यादि कुराहरूले जरा गाडिरहृयो । सुकेधारा घर पुगेर सांसद तथा नेकाका नेता डा.चन्द्र भण्डारीसँग फोनमा वार्ता गरेँ । उहाँको उत्तर थियो-वामपन्थीहरूको भर हुँदैन, अहिलेको सरकार तासको घरजस्तै बन्दैछ, नेपाली कांग्रेस पार्टी जीवन्त पार्टी हो, हामी मिलेर सहकार्य गर्छाैं, प्रतिपक्षीको भूमिका निभाउँछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?