संसदीय दलको निर्वाचनले देखाएको कांग्रेसको भविष्य

Read Time = 16 mins

✍️ युवराज पौडेल

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन केही फरक परिदृश्यका साथ सम्पन्न भयो । संस्थापन पक्षबाट देउवा र सस्थापनइतर पक्षबाट गगन थापा चुनावी मैदानमा थिए । परिणाम घोषणा भयो । जम्मा ८९ मतमध्ये देउवाले ६४ मत प्राप्त गरे भने गगनले जम्मा २५ मतमात्र प्राप्त गरे । अनुमान गरेजस्तै संसदको गणितीय जोडघटाउमा फेरि देउवा नै बलिया सावित भए ।

बुधबार बिहान सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनमा केही नसोचेका र भिन्न परिदृश्य देखिए । ती भिन्न परिदृश्यले नेपाली कांग्रेसको भावी राजनीतिक जीवनमा मात्र नभएर सिंगो नेपाली राजनीतिमा नयाँ संकेत गरेका छन् । गगन थापा यसपटक काठमाडौं-४ का सांसद बन्दै गर्दा उनले जनतासँग आफू संसदीय दलको नेतामा चुनाव लड्ने र प्रधानमन्त्रीको लागि पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए, जसलाई उनले पूरा गरे । संसदको अंकगणित बुझेका सबैलाई गगनले हार्छन् भन्ने स्पष्ट नै थियो । तर पनि शेखर समूहले गगनलाई अगाडि सारेर देउवा समूहलाई चुनौती दियो ।

यो संसदीय दलको निर्वाचनमा विश्वप्रकाश शर्माको भूमिकालाई धेरैले मन पराए । गगनलाई संसदीय दलको नेताका रूपमा अगाडि सार्ने काम शर्माले नै गरेपछि यसले कांग्रेसको युवा पुस्तालाई निकै उत्साहित बनायो । कांग्रेस र कांग्रेसबाहिर समेत लोकप्रिय दुई निर्वाचित महामन्त्री एकै ठाउँमा उभिएर युवाको पक्षमा मतदान गर्न अपिल गर्नु कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण परिघटना हो । त्यतिमात्र होइन, कांग्रेसमा प्रखर युवा नेताका रूपमा छवि बनाएका कांग्रेसका निर्वाचित उपसभापति धनराज गुरुङले पनि गगनलाई साथ दिए । प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत प्रभावशाली युवा नेता पनि गगनको पक्षमा उभिए । कांग्रेसका भरोसालाग्दा यी युवाहरूले देखाएको एकताको सन्देश दूरगामी महत्वको छ । यद्यपि उनीहरूकै भनाइमा एजेण्डा अनुसारको एकता र ध्रुवीकरण स्वभाविक छ ।

कांग्रेसमा ७० वर्षसम्म पनि युवा नेता भन्ने आमपरम्परा जस्तै बनिसकेको छ । कतिपय बुढा नेताहरूले गगनको प्रधानमन्त्री हुने उमेर नै नभएको पनि भन्न भ्याए । झण्डै आधा शताब्दीको डिलमा उभिएका गगनलाई उमेरकै कारण प्रधानमन्त्री हुन अयोग्य ठान्ने केही नेताको अभिव्यक्तिलाई धेरैले चासोका साथ हेरे ।

देउवाले संसदीय व्यवस्थाको आँत छामेका छन् । पाँचौंपटक प्रधानमन्त्री भइसकेका देउवा कूटनीति र रणनीतिमा सफल देखिएका छन् । नेपालमा लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने कुरामा देउवाको योगदानलाई कुनै पनि लोकतन्त्रवादीले अवमूल्यन गर्न सक्दैन ।

यतिबेला कांग्रेसको आन्तरिक पार्टी जीवनमा रूपान्तरणको प्रश्न सबैभन्दा पेचिलो बनेको छ । चौधौं महाधिवेशनबाट शेरबहादुर देउवाबाहेक लगभग बाबु पुस्ताकै नेताहरू जिम्मेवारीमा पुगेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश, उपसभापति धनराज र पूर्णबहादुरलगायत नेताहरू उमेरका हिसाबले मात्र होइन, विचारका हिसाबले पनि प्रायः परिवर्तनको कित्तामै उभिएका छन् । हामीकहाँ उमेरका हिसाबले मात्र बुढो र युवाका रूपमा मूल्यांकन गर्ने अभ्यास बढी छ तर उमेरभन्दा पनि प्रवृत्ति र चिन्तनका हिसाबले पुरानो र नयाँको मानक स्थापित हुनुपर्छ । कोही उमेरले युवा भए पनि विचार, चिन्तन र प्रवृत्तिका दृष्टिमा परम्परावादी र ढोंगी हुन सक्छ भने कोही उमेरले पाको हुँदा पनि वैचारिक हिसाबले उत्तर आधुनिक हुन पनि सक्छ ।

शेरबहादुर देउवाले उमेरले ७५ वर्ष काटिसक्दा पनि दल र सरकारको नेतृत्व गरिरहने महत्वाकांक्षालाई भने छाड्न सकेनन् । पाँचौंपटक प्रधानमन्त्री भइसकेका, सात पटकसम्म सांसद भएका, पार्टी सभापति भइसकेका देउवाले अब यो गरिब मुलुकबाट पाउन बाँकी केही छैन । उनले जति पाउनुपर्ने हो त्योभन्दा धेरै बढी पाए । उनले हिजो गरेको संघर्षको सबै साँबा, व्याज, स्याज उहिल्यै चुक्ता गरिसके । फेरि देशलाई दिनुपर्ने त्यस्तो खास केही दिएनन् । दिँदा–दिँदा समय नभएर अन्तिम पटक मुलुकलाई दिने कुरा बाँकी रहृयो भनेर बोनस अवधि प्रधानमन्त्री हुन खोजेको भए पनि कुरा अर्कै हुन्थ्यो होला तर विचार, चिन्तन, प्रवृत्ति र योजना सबै दृष्टिले उनी ’डेटएक्सपायर’ भइसकेकाले मुलुक र जनताले उनीबाट थप अपेक्षा पनि केही गरेको छैन ।

देउवाले संसदीय व्यवस्थाको आँत छामेका छन् । पाँचौंपटक प्रधानमन्त्री भइसकेका देउवा कूटनीति र रणनीतिमा सफल देखिएका छन् । नेपालमा लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने कुरामा देउवाको योगदानलाई कुनै पनि लोकतन्त्रवादीले अवमूल्यन गर्न सक्दैन । सूदरपश्चिमको एउटा गरिब पहाडी गाउँबाट सामान्य पारिवारिक पृष्ठभूमिबाट नेविसंघको संस्थापक सभापति हुँदै कलिलै उमेरमा गृहमन्त्री र प्रधानमन्त्री भइसकेका देउवा भाग्यमानी नेता पनि हुन् । उनले निरंकुुश पद्धति अपनाएर पार्टी सभापति भएका पनि होइनन् र संसदीय दलको नेता पनि लोकतान्त्रिक पद्धिभित्रबाटै भएका हुन् । यस अर्थमा विधि र पद्धतिको हिसाबमा देउवा सही मार्गमै छन् तर यहाँ मूलत राजनीतिक नैतिकताको प्रश्नमात्रै उठाइएको हो ।

एउटै व्यक्तिले मात्र पटकपटक अवसर पाइरहने र अरूले उसैलाई सधैं बाचुञ्जेल जिताइरहनुपर्ने हो भने अरूले किन राजनीति गर्नुप¥यो ? के देउवाले हिजो विद्यार्थी कालबाटै गरेको संघर्ष यसैका लागि थियो ? विसं १९९७ मा गंगालाल, दशरथचन्द्रहरूले स्वतन्त्रता र प्रजातन्त्रका लागि दिएको बलिदान नेपालमा फेरि केही जंगबहादुर जन्माउने उद्देश्यका लागि पक्कै थिएन । २००७ सालको बीपी कोइरालाहरूको संघर्ष पनि अवसरको समान वितरण र सामाजिक न्यायसहितको राज्य रूपान्तरणका मूल मर्ममै केन्द्रित थियो ।

राजनीतिमा शक्ति हत्याउने खेल भई नै रहन्छ । राजनीति सिधा रेखामा हिँड्ने कुरा पनि होइन । शक्ति र संघर्षका अनेकन् उतारचढावपूर्ण खेल भइरहन्छन् । राजनीतिको तिकडम र षड्यन्त्रका चालबाजीभित्र असम्भव जस्ता लाग्ने कुरा पनि सम्भव जस्ता बनिरहन्छन् । राजनीति भनेकै अन्ततः सत्ता प्राप्तिकै खेल हो । सत्तामा जानै नहुने आदर्शवादी विमर्श केवल भ्रममात्र हो । तर सत्तामा केका लागि र कसका लागि जाने तथा सत्तामा गएर के दिने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । नेतृत्वले आफूले लिएको विचार, आदर्श, नीति, कार्यक्रम र योजनालाई सत्ताबाटमात्रै डेलिभरी गर्न सक्छ ।

गुजरातको मुख्यमन्त्री भएर अर्थतन्त्रको नयाँ मोडेलसहित डेलिभरीमा देखाएको सक्षमताकै कारण मोदीको राष्ट्रिय राजनीतिको मार्ग सहज बनेको थियो । गुजरातमा मुख्यमन्त्री हुने अवसर नपाएको भए सायद मोदीलाई भारतले प्रधानमन्त्रीका रूपमा नपाउन पनि सक्थ्यो । चिनमा सि जिङपिन विगत दशकौंदेखि सत्तामा छन् । सत्तामै बसेर उनले चिनलाई विश्व अर्थतन्त्रको सबैभन्दा शक्तिशाली राष्ट्र बनाउन भूमिका खेले । दिल्लीका केजरीवालले सत्तामा गएरै लोकप्रियता हासिल गरिरहेका छन् ।

नेपालमा सत्ताको मोहभित्र फँसेर त्यसैको चास्नीमा हराउने अनि परिवारवाद, चाकडीवाद, पैसावाद, डनवादको विकास गरेर दलीय सिन्डिकेट खडा गर्ने, परिवर्तित व्यवस्था अनुसार नयाँ मुखिया वा नयाँ राजा बन्ने, सत्तालाई निजी स्वार्थ र पार्टीको गुटका लागि प्रयोग तथा उपयोग गर्ने, जनतासँगको सम्बन्ध विच्छेद गर्दै छेपारो प्रवृत्ति बाराम्बार पुनरावृत्ति गरिरहेकाले यतिबेला जनताले देउवा, ओली र प्रचण्डहरूको पुस्ताप्रति गुनासो गरिरहेको हो ।

हिजो गिरिजाप्रसादले पनि त्यो प्रवृत्ति देखाएर कांग्रेस कमजोर बनाए । अहिले देउवा प्रवृत्तिले परिवर्तन चाहने नेपाली जनता र कांग्रेसका परिवर्तनकारी युवाहरूलाई निरुत्साहित गरिरहेको छ । जताततैबाट पार्टी कब्जा गर्ने, आफ्ना भाइभारदार र यसम्यानहरूलाई छानीछानी टिकट दिने र तिनैका बलमा पुनः प्रधानमन्त्री बन्ने देउवा अभिष्टको मर्म बुझेर नै गगन थापा र विश्वप्रकाशहरूले संसदीय निर्वाचनमा देउवाका विरुद्ध शालिन विद्रोहको झण्डा उठाएका हुन् ।

गगनले संसदीय दलमा निर्वाचन त हारे भलै उनले राजनीति जितेका छन् । उनले चुनावताका जनतासँग गरेको वाचा पूरा गरेका छन् । देउवाइतर क्याम्पबाट सर्वसम्मतिमा गगन संसदीय दलको नेताको उम्मेदवार छानिनु नै उनको पहिलो जित हो । शेखर कोइराला, विश्वप्रकाश, धनराज र प्रदीपहरूले समेत उनको नेतृत्वमा जान तयार हुनु नेपाली राजनीतिमा सामान्य विषयमात्र होइन । गगनले पछिल्लो समय जुन हिसाबबाट नेतृत्व क्षमता विकास गरिरहेका छन् त्यसले कांग्रेसको युवा पुस्ता परिवर्तनका लागि सक्षम छ भन्ने सन्देश राम्रोसँग प्रवाहित गरेको छ ।

गगनले संसदीय दलमा निर्वाचन त हारे भलै उनले राजनीति जितेका छन् । उनले चुनावताका जनतासँग गरेको वाचा पूरा गरेका छन् । देउवा इतर क्याम्पबाट सर्वसम्मतिमा गगन संसदीय दलको नेताको उम्मेदवार छानिनु नै उनको पहिलो जित हो ।

जीवनकै उत्तरार्धतिर राजनीतिको तिकडमबाजीमा सफल देखिएका देउवाका पक्षधरहरूले देउवालाई पुन प्रधानमन्त्री बनाएर सत्ताको स्वादिलो तर मार्ने अभिष्टबाहेक अन्य कुनै नयाँ एजेण्डा वा विचार तीसँग छैन । तिनको वैचारिक चिन्तन भनेकै ‘काले काले मिलेर खाउँ भाले’ नै हो । कुनै योजना नचाहिने, सत्तामा गएर पनि केही गर्नु नपर्ने, भजन कलामा पूर्ण भएपछि सबै कुरा मिल्ने भएपछि किन दुःखपूर्ण बाटो हिँड्ने कष्ट उनीहरूले गर्ने कुरै भएन । गगन शेखरको बाटो लामो, अनिश्चित, घुमाउरो र दुःखपूर्ण छ । सत्तामा यो बाटोबाट झट्टै पुग्ने सम्भावना पनि छैन । सत्तामा गए पनि केही गरेरै देखाउनुपर्ने बाध्यता हुने भएकाले यो बाटो सत्तामा पुगेपछि पनि संस्थापन पक्षको जस्तो सजिलो छैन ।

चाकडीले मात्र काम चल्ने ठाउँमा संघर्ष र रूपान्तरणको अनिश्चित योजना बोकेर गगनका पक्षमा उभिनु व्यक्तिगत राजनीतिक लाभहानीको दृष्टिमा बढी जोखिमपूर्ण देख्ने नालायकहरूले देउवालाई सक्रिय राजनीतिमै अड्याउने प्रपञ्च रचिरहेका छन् भने गगन जस्ता प्रतिभाशाली युवालाई पेलेरै ठीक पार्ने अन्तिम धृष्टता गरिरहेका छन् ।

संसदीय दलको निर्वाचनमा शेखर कोइरालाले देखाएको त्यागले उनको राजनीतिलाई थप बलियो र लोकप्रिय बनाएको छ । उनले गगनको सट्टामा आफैलाई संसदीय दलको नेतामा उभ्याउन सक्ने क्षमता भएर पनि उनले युवा पुस्ताको रूपान्तरणको चाहना बमोजिम गगनलाई उभ्याइदिए । शेखर कोइरालाको यो त्यागले उनको राजनीतिक साखलाई उचो बनाइदिएको छ भने देउवाइतर पक्षमा उनको लोकप्रियता बढेको छ । देउवापछिको उक्त क्याम्पको नेतृत्व गर्ने सम्भावना बोकेको उचाइको नेता पनि नदेखिएको सन्दर्भमा शेखर कोइराला भविष्यमा कांग्रेसको साझा नेता बन्दै पन्ध्रौं महाधिवेशनमा कांग्रेसको सभापति बन्ने बाटोमा अग्रसर भएको अनुमान गर्न सकिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?