नेपाल पुलिसको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो ।

खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५-१४ ले हरायो भने खेलको दोस्रो सेट २५-९ ले जित्यो । त्यस्तै, खेलको तेस्रो सेट पुलिसले २५-६ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा छ अंक जोडेको छ ।

त्यसैगरी सोमबार नै भएको महिलातर्फको अर्को खेलमा न्यु डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५-२ ले जित्यो भने दोस्रो सेट २५-८ तथा तेस्रो सेट २५-६ ले हरायो । जितसँगै समूह ‘ए’ को न्यु डायमण्डले तीन अंक जोडेको छ ।

यसअघि भएका खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले महिला र पुरुष दुवैतर्फ जित हात पार्दै दोहोरो सफलता पाएका थिए ।

आर्मीले पुरुषतर्फ भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई २५-२०, २५-२१, २५-२१ को सोझो सेटमा पराजित गरेको थियो । नेपाल पुलिसले पहिलोपटक सहभागिता जनाएको न्युटन भलिबल एकेडेमीमाथि ३-० को जित निकाल्यो । पुलिसले न्युटनलाई २५-१७ र २५–१६ ले पराजित गरेको थियो ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५-१०, २५-६ र २५-८ को सोझो सेटमा पराजित गरेको थियो भने आर्मीको महिला टोलीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि २५-३, २५-५ र २५-१० को जित निकाल्न सफल भयो ।

माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलातर्फ आठ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान चार लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, इन्टरनेट सेवा प्रदायक भायनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई तीन महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?