खेलमैदान नहुँदा डडेल्धुरामा खेलाडी पलायन हुँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 6 mins

डडेल्धुरा । डडेल्धुरामा खेलमैदान नहुँदा प्रतिभावान खेलाडी पलायन भइरहेका छन् । जिल्ला सदरमुकाममा एउटा पनि व्यवस्थित खेलमैदान छैन भने २०४० सालमा निर्माण भएको कभर्डहल भत्किएको चार वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा इन्डोर खेलहरू पनि प्रभावित भएका छन् । डडेल्धुरामा खेलका महत्वपूर्ण अभ्यास र प्रतिस्पर्धाहरू गराउन उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने ३५ करोडको बहुउद्देश्यीय डिपिआरसमेत अलपत्र परेको मात्र छैन मुलुकको राजनीतिक अस्थिरताको शिकार पनि डडेल्धुराको खेल जगत् भएको जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताउनुभयो ।

अघिल्लो समितिले डिपिआर तयार पारी राष्ट्रिय खेलकुद परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत पेश गरेको तर संघीय सरकार परिवर्तनको घटना र शृंखलाले गर्दा उक्त योजनाहरू पेण्डिङ रहेको हुनसक्ने जिल्ला खेलकुद समितिका पूर्वअध्यक्ष राजु थापा मगरले बताउनुभयो ।

प्रस्तावित उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने क्रममा आवश्यक जग्गा लिने, फिल्ड निर्माण गर्ने र कभर्डहलका लागि आठ पिल्लरसहित पर्खाल निर्माण र तारजाली लगाउने कामहरू पनि भए तर योजनाको निरन्तरता नहुँदा त्यसको प्रत्यक्ष असर अहिले देखिरहेको वर्तमान अध्यक्ष डम्बर थापाले बताउनुभयो ।

डडेल्धुराको खेल जगत्मा यहाँको राजनीतिक वृत्तले पटक्कै ध्यान नदिएको स्थानीयको भनाइ छ । स्थानीय भन्छन्, खासगरी संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरू क्रियाशील भएपछि नेताहरू आफ्नो पालिकातर्फ मात्र केन्द्रित भए, जिल्ला सदरमुकामलाई उपेक्षा र बेवास्ता गरे ।

‘जिल्ला सदरमुकाममा आवश्यक पूर्वाधार भए जिल्लाकै इज्जत बढ्थ्यो होला, यहाँ राष्ट्रिय प्रादेशिक कार्यक्रमहरू हुन पाए डडेल्धुराकै स्थानीय लाभान्वित हुने थिए तर यस विषयमा स्थानीय तहका नेतृत्वहरूले ध्यान दिएका छैनन्,’ समाजसेवी गणेश कठायत गुनासो गर्नुहुन्छ ।

जिल्लामा खेलमैदानसँगै खेल सामग्रीसहित पर्याप्त बजेट नहुँदा खेलाडीको अभ्यास, खेलाडी उत्पादन र प्रोत्साहन गर्ने सबै गतिविधिहरू ठप्पप्रायः रहेको भए पनि खेलमा रुचि भएका विद्यार्थी समूहका खेलाडीले जेनतेन जोहो गर्दै आएको खेलाडी बताउँछन् ।

‘जिल्ला खेलकुद विकास समिति डडेल्धुराको कार्यालयसमेत रहेको कभर्डहल पनि वर्षाले भत्किएपछि एकपटकको ५० लाख बजेट फ्रिज भयो र पुनः सेमि कभर्डहल बनाउन दुई करोड १२ लाखमा टेण्डर खोलिसकेकाले अब कभर्डहल बन्नेमा हामी विश्वस्त छौँ, तैपनि बाहिरी खेल खेलाउन पर्याप्त ठाउँ भएको खेलमैदान हामीसँग छैन,’ अध्यक्ष थापा बताउनुहुन्छ ।

‘तराईमा कहिले हुस्सु त कहिले गर्मी, गर्मी मौसममा हुने हरेक खेलहरू पहाडमा सम्भव छन् त्यसमा पनि उपयुक्त हावापानी, सबैको पायकपर्दो, कुनै जिल्लालाई पनि धेरै टाढा नहुने, पहाडमा त मौसम सफा रहन्छ, मनोरम हिमालयहरू देख्न पाइन्छ, यहाँको कृषि उद्यमलगायत यातायात क्षेत्रसहित समग्र व्यवसाय प्रवद्र्धन हुन्थ्यो, जिल्लाको अर्थतन्त्र पनि चलायमान हुने थियो, सबैले काम पाउँथे तर के गर्नु कसैले ध्यान दिँदैनन्,’ स्थानीय वसन्त ठकुराठी बताउनुहुन्छ ।

गर्मी मौसममा पनि ठूला खेल आयोजनाको सम्भावना रहेको डडेल्धुरामा खेलाडीका लागि एउटा पनि खेल मैदान र आवश्यक पूर्वाधार छैन । यसले खेलाडीहरू नियमित अभ्यासबाट वञ्चित हुनुका साथै उनीहरू पलायन हुने क्रम बढेको अनुभव जिल्ला भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्ना सुनाउनुहुन्छ ।

डडेल्धुराका सात स्थानीय तहमध्ये अजयमेरु, नवदुर्गा गाउँपालिका र पर्शुराम नगरपालिकाले स्तरीय खेलमैदान निर्माण गरेका छन् भने आलिताल गाउँपालिकाले सुनखोलाको बगरमा प्रस्ताव गरिएको खेलमैदान बाढीले बगाइसकेको छ । भागेश्वर गाउँपालिकामा खेलमैदान नै छैन भने गन्यापधुरा गाउँपालिकामा पनि नयाँ निर्माण भएको छैन । सदरमुकाममै रहेको अमरगढी नगरपालिकासँग स्थानीय तहको स्वामित्वमा पनि कुनै खेलमैदान नभएपछि अघिल्लो नगर विरपत्ता जंगलमा निर्माण गर्न खोजिएको क्रिकेट खेलमैदान पनि विवादमा पर्दा यथास्थितिमा नै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?