प्रतिनिधिसभाको पहिलो बैठक : जनताको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित बनाउने शीर्ष नेताहरूको अठोट

अनिल क्षेत्री
Read Time = 20 mins

काठमाडौं । गत मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बसेको छ । २०७२ सालमा संविधान जारी भएपछि भएको दोस्रो निर्वाचनबाट नयाँ प्रतिनिधिसभा गठन भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको संसद्को पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

यो संसद् हाम्रो परीक्षाको केन्द्र हो, निरन्तर जनताको निगरानीमा छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताउनुभएको हो । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामी भर्खरै जननिर्वाचित भएका छौँ । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्छ, निःसर्त छैन । हामी सुशासन दिन सक्छौँ वा सक्दैनौँ ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौँ ? यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने दाबीसमेत गर्नुभयो । संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै प्रचण्डले भन्नुभयो, ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ । संसद्मा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्छ । संसद्मा उत्तेजनाभन्दा पनि समझदारीमा अगाडि बढ्नुपर्छ । राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नुछ । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिइनेछ । सहमति मात्रै होइन हाम्रा मतभेद पनि मर्यादापूर्ण हुनेछन् ।’ प्रधानमन्त्री प्रचण्डले नवगठित संसद्मा नयाँ दलको प्रवेश लोकतन्त्रकै सुन्दर पक्ष भएको जिकिर गर्नुभयो ।

संसद्‌मा रचनात्मक रूपमा प्रस्तुत हुन्छौँ : देउवा
प्रतिपक्ष दलका नेतासमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसद्को ठूलो दल कांग्रेस रचनात्मक रूपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताउँदै भन्नुभयो, ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलीकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौँ ।’
सभापति देउवाले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिनुभयो । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन् । हाम्रो आगामी यात्रा स्पष्ट हुन जरुरी छ । संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छन् । संविधानको रक्षा र त्यसका लागि नीति, कानुन बनाउनु छ । लोकतन्त्रको उन्नयनका निमित्त संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्व हुन्छ ।’ सभापति देउवाले प्रतिनिधिसभाले आफ्नो ऊर्जा नेपाल र नेपाली जनताको हितमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

संसद् विघटनको बचाउमा ओली
सत्तारूढ दलको एक घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद् विघटनको बचाउ गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद् विघटन गलत नभएको भन्दै बचाउ गर्नुभएको हो । त्यसका लागि उहाँले बेलायतको उदाहरण दिँदै भन्नुभयो, ‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन, यति पनि जान्ने नहुने हो कि, त्यसो भए त बेलायतमा कतिपटक प्रतिगमन भएछ भएछ, संसदीय व्यवस्थाको जन्मदाता देशमा अस्तिसम्म संसद् विघटन भएको थियो । अन्यत्र लगेर सरकार ढाल्न खोजे प्रतिगमन हुन्छ ।’

अध्यक्ष ओलीले अहिलेको सत्तारूढ दल प्रतिगमनका पक्षमा नजाने दाबी गर्दै भन्नुभयो, ‘अहिलेको कोलिसन प्रतिगनममा जाँदैन, जानु हुँदैन । यो समीकरण समग्रतामा राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय हितको पक्षमा उभिन्छ । यसो भन्न अप्ठेरो मान्न पर्दैन ।’ अध्यक्ष ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रहसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गोटी चालाचाल होइन, काम गरौँ । सकारात्मक भएर काम गरौँ । बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बाद हुन्छ ।’

सम्बोधनका क्रममा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको तर सरकारका लागि सहज परिस्थिति भने नरहेको टिप्पणी गर्नुभयो ।

जुनसुकै भ्रष्टाचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको विषयमा सरकार निर्मम हुने दाबी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै लामिछानेले भन्नुभयो, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ । यसअघि भएका भ्रष्टाचारका घटनाको छानबिनमा पनि संसद् क्रियाशील हुनुपर्छ । कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला ।’

गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने र आफ्नो दलका नेता तथा सांसद अनियमिततामा सहभागी नहुने साथै नागरिकलाई दुःख नदिने दाबी गर्दै भन्नुभयो, ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौँ । हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनुपर्ने छैन । कुनै अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्ममभन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफ्नो दलले पाएको मत निराशा नभई आशाको मत भएको जिकिर गर्नुभयो ।

राप्रपा अस्थिरताको कारक बन्दैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू देशको अस्थिरताको कारक नबन्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनादेशले कसैलाई पनि निषेध गरेर जान नसक्ने सन्देश दिएको जिकिर गर्दै भन्नुभयो, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हामीभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । त्यसैले देशलाई शिरमा राखेर देशका समस्याहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्छ । राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन ।’

गणतान्त्रिक व्यवस्थाप्रति उच्च सम्मान छ : राउत
जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सिके राउतले गणतान्त्रिक व्यवस्थाप्रति उच्च सम्मान रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै राउतले गणतान्त्रिक व्यवस्थाकै कारण जनताका छोराछोरी राष्ट्रको उच्च पदमा पुग्न सकेको भन्दै व्यवस्थाको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताउँदै राउतले भन्नुभयो, ‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैँ आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले मुलुकको अखण्डताको लागि संघीयता अपरिहार्य भएको जिकिर गर्नुभयो ।

ठूला दलको कार्यकर्ता नभएकैले रेशम चौधरीमाथि मुद्दा चलाइयो : रञ्जिता
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको जिकिर गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठ चौधरीले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मुद्दा लगाइएको जिकिर गर्दै भन्नुभयो, ‘रेशम चौधरीलाई कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मुद्दा लगाइयो । र, थारू भएकै कारण रेशमसँगै अरूलाई पाँच वर्षदेखि जेलमा राखियो । टीकापुर थारू आन्दोलन, टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन, हजारौँको भिडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखिएको छ ।’
अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्व-न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपि सभाध्यक्ष पशुपति शमशेर राणासमक्ष बुझाउनुभएको छ ।

भ्रष्टाचार र बिचौलियाको सेटिङ भत्काउनुहोस् : नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार र बिचौलियाको सञ्जाल भत्काउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई बोली र व्यवहारमा सामञ्जस्यता ल्याउन सुझाव दिनुभयो । छिटोछिटो सरकार परिवर्तन होस् भन्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘भोलि त विश्वासको मत लिनुछ । यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरूको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन् । हामी चाहँदैनौँ छिनछिनमा सरकारहरू परिवर्तन होस् । विगतको अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नुपर्छ ।’

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ : यादव
जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यादवले संविधानमा भएका प्रावधानहरू समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो । मुलुकमा देखिएका तमाम राजनीतिक समस्याहरू संविधान सर्वस्वीकार्य नहुनुकै परिणाम भएको जिकिर गर्दै नेता यादवले अहिले पनि संविधानलाई पूर्णता दिन मुख्य कार्यभार भएको जिकिर गर्नुभयो ।

राज्यले ढाँट्यो भने अराजकता सुरु हुन्छ : भण्डारी
लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं सांसद शरतसिंह भण्डारीले राज्यले नै ढाँटेमा अराजकता सुरु हुने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै नेता भण्डारीले अहिले राज्यले नै ढाँटेका कारण अराजकताको स्थिति रहेको जिकिर गर्नुभयो । राज्यले विभिन्न समूहसँग गरेका सम्झौता कार्यान्वयन नगरेकोप्रति आपत्ति जनाउँदै नेता भण्डारीले भन्नुभयो, ‘राज्यले ढाँट्न हुँदैन । जब राज्यले नै ढाँट्न थाल्छ, राज्यले जनविश्वास गुमाउँछ र अराजकताको अवस्था बन्छ । विभिन्न समूहसँगका सम्झौता कार्यान्वयन नगरेर राज्यले ढाँटेको छ । त्यसैले अराजकताको स्थिति देखिँदै छ ।’

चित्रबहादुर केसीको प्रश्न : ‘संसद् भत्काउन हो वामपन्थी गठबन्धन ?’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् भत्काउन वामपन्थी गठबन्धन हो ? भन्दै प्रश्न उठाउनुभएको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा प्रश्न उठाउनुभएको हो । ओलीले संसद् विघटन गरेर ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै संसद् बाहिरबाट सरकार बनाउनु प्रतिगमन भएको बताउनुभएको थियो । जवाफमा केसीले संसद् भत्काउन वामपन्थी गठबन्धन गरेको हो ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘संसद् विघटन गर्नु प्रधनमन्त्रीको अधिकार हो । हो, त्यस्तै हो ? संविधानले त्यस्तै भनेको छ ? संसद् भत्काउन वामपन्थी गठबन्धन हो ?’ संसद् विघटनविरुद्ध जन्मिएको गठबन्धन फुटाएर प्रधानमन्त्री पदको लागि एमालेसँग मिलेको अध्यक्ष केसीले भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचनासमेत गर्नुभयो ।

माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा
संसद्को पहिलो बैठकमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने बताएको छ । यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसद्को प्रतिपक्षमा बस्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसद्को प्रतिपक्षको बेञ्चमा बस्नुभएको छ । एकीकृत समाजवादीले सरकारलाई समर्थन गरेको छैन । एकीकृत समाजवादीका १० सांसद छन् ।

सभा सञ्चालनका लागि सात सांसद मनोनीत
प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत भएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उहाँहरूलाई नियुक्त गरेको जानकारी गराउनुभएको हो । नियुक्त भएका सांसदहरूमा ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपाली ठकुरी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?