पुष्पकमल दाहाल : राजनीतिक उपयोगितावादका समर्थ नायक

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 11 mins

प्रा. पुरुषोत्तम दाहाल

महाजनो येन गता स पन्था : हामीले आजका दिनसम्म महाजन बनाएका र ठानेका नेताहरूले हिँडेको बाटो नै सही हो भनेका छौँ र हिँडिरहेका छौँ । फरक यत्ति हो महाजन कसले कसलाई कसरी देख्छ र अनुशीलन गर्छ त्यो फरक विषय हो ।

(क) राजनीतिमा महाजन :
अहिले नेपालको राजनीतिको महाजन हुनुभएको छ पुष्पकमल दाहाल (प्रचण्ड) । उहाँले जुन रूपमा जस्तो बाटो पार गरेको भए पनि उहाँ निरन्तर उचाइतर्फ अग्रसर हुनुहुन्छ । उहाँको अग्रसरतामा व्यवधान गर्ने क्षमता समकालीन राजनीतिको कुनै पनि खेलाडी, कसैमा पनि देखिएको छैन । भन्न त चाणक्य जस्तो गरी केपी ओलीको चर्चा नहुने होइन । तर, चाणक्यलाई समेत उपयोग गर्ने सामथ्र्य पुष्पकमल दाहालमा रहेको प्रमाणित भएको छ । यसैकारण राजनीतिका महाजन हुनुभयो दाहाल भनेर वर्तमानले उहाँको मूल्यांकन गर्दा अन्यथा हुने छैन ।

अंग्रेजीमा यौटा कहावत छ मैले कतै पढेको थिएँ त्यसको अर्थ हुन्छ : तिमीले आफूलाई कहिल्यै पनि सीमित नगराऊँ किनकि हामी सीमाहीन विश्वमा अन्त्यहीन सम्भावनाहरू लिएर बाँचेका छौँ । यो वाक्यलाई यथार्थमा पुष्पकमल दाहालले शतशः आफूमा चरितार्थ गरिरहनु भएको छ । उहाँ अहिले नेपालको प्रधानमन्त्री हुनुमा यही वाक्यले प्रमाणित गर्दछ । दाहालले आफूलाई कुनै पनि सीमामा बाँध्नुभएको देखिदैन । उहाँ न सिद्धान्तको सीमामा आबद्ध हुनुहुन्छ, न अरू कुनै व्यवहार र अनुशासनको सीमामा प्रतिबद्ध । उहाँको राजनीति यथार्थमा सीमाहीन सम्भावना बोकेर यहाँसम्म आइपुगेको छ ।

(ख) ननिदाई देखेको सपना :
मैले ०५० सालतिर उहाँलाई पहिलोपटक भेट्दा र उहाँसँग करिब तीन घण्टासम्मको संवादमा रहँदा केही टिप्पणी गरेको थिएँ । त्यसबेला डा. बाबुराम भट्टराईको कोटेश्वरस्थित घरमा हाम्रो त्यो संवाद अनेक सन्दर्भमा रोचक थियो । कुनै समयमा प्रचण्ड भन्ने कुनै मानिस नै छैन वा निर्मल निवासमा भेटिन्छ भन्ने अनेक टीका टिप्पणीहरू सुनिन्थे । कतिले त प्रचण्डको अस्तित्वमा नै सन्देह गर्न सुरु गरेका थिए । मैले उहाँसँगको संवादपछि रेडियो नेपालको अत्यन्त लोकप्रिय तत्कालीन कार्यक्रम घटना र विचारमा यौटा टिप्पणी गरेको थिएँ : मानिसहरू सुतेर मात्रै सपना देख्छन् तर यौटा मानिस ननिदाईकन सपना देखिरहनु भएको छ ।

उहाँको त्यो सपनालाई बडो मिहिन ढंगले प्रस्तुत गर्नुभएको थियो । त्यति लामो समयसम्म बस्दा पनि डा. भट्टराई एकशब्द बोल्नुभएको थिएन । संवादमा उहाँ मात्र साक्षीजस्तो हुनुभएको थियो । प्रचण्डले पहिलो वर्षदेखि अन्तिम पन्ध्र वर्षमा सिंगो नेपाललाई आफ्नो विचारअन्तर्गत विजय गर्ने रूपरेखा खुलेर राख्नुभएको थियो । उहाँको सपना नेपालमा गरिब, सर्वहाराको राज्यसत्ता स्थापना नै थियो । तर, मैले वनारसको लड्डु जस्तो हुने सपना भनेर मेरो अन्तिम प्रतिक्रिया दिएको थिएँ ।

(ग) सपनाको खोजीमा बनेको सिँढी
उहाँले भनेजस्तो सर्वहारा वा गरिबको सत्ता त आएन तर त्यसै नाममा आफ्नो राजनीतिको सिँढी बनाउने सफलता भने प्रचण्डले पाउनुभयो । सुरुमा उहाँ कृषिको विद्यार्थी छँदै रूपलाल विश्वकर्मा जस्तो भेटर्न कम्युनिष्ट नेतासँग पुग्नुभयो (तर विश्वकर्माले जीवनको उत्तराद्र्धमा कम्युनिष्ट आन्दोलनलाई र विचारलाई समेत भ्रम भनेर परित्याग गर्नुभएर दिवंगत हुनुभयो) त्यसपछि उहाँ शिक्षक हुनभयो र केही समयपछि युएसएडमा जागिरे हुनुभयो । त्यसै समयमा उहाँको अन्तर्चेतनाले सीमा विस्तारको सोच बनायो र मोहनविक्रम सिंहको शिष्य हुन पुग्नुभयो । केही वर्षमा नै सिंहलाई विस्थापित गरी आप्mनै नेतृत्वमा पार्टी गठन गर्नुभयो । जनमोर्चाका नाममा संसद्को उपयोग गर्नुभयो र दुई वर्ष नपुग्दै संसदीय व्यवस्था असफल सिद्ध भएको निष्कर्ष सुनाउनुभयो । उहाँ पार्टीको महामन्त्री र अधिनायक बन्नुभयो । तीस वर्षदेखि अहिलेसम्म उहाँ निरन्तर पार्टीको प्रमुख नै हुनुहुन्छ ।

०५२ देखि ०६२ भर चलेको सशस्त्र हिंसाक्रममा उहाँले दरबार र तत्कालीन राजा र दरबारियाहरूको बेजोड सहानुभूति र समर्थन लिनुभयो, नेपालको धार्मिक र सांस्कृतिक परिचय अन्त्य गर्न सांस्कृतिक धार्मिक अतिक्रमणको योजना बनाउनेहरूको भौतिक आर्थिक सहयोग जुटाउनुभयो, भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्धको उद्घोष गरेपछि तत्कालीन भारतीय सत्ता, गुप्तचर निकाय र अन्य सुरक्षा संयन्त्रको भरमार सहयोग लिनुभयो, नेपालमा अस्थिर, राजनीतिको भरमार फाइदा लिन पछिपर्नु भएन । एमाले र कांग्रेसको विभाजन, आकण्ठ भ्रष्टाचारमा लिप्त राजनीतिक नेतृत्व, छुवाछुत र विभेदले चुर्लुम्म डुवेको समाज सबै यी कुरूप व्यवहारलाई आफ्नो सशस्त्र अभियानको सहकर्मी बनाउनुभयो र नै ०६० देखि ०६२ सम्म राजनीतिको माथिल्लो केन्द्र, भयको सगरमाथा र सम्भावनाको सारथि हुन पुग्नुभयो ।

(घ) नेपाली कम्युनिष्ट आन्दोलनको तेस्रो नायक
०६२ को १२ बुँदे सहमति र ०६३ को बृहत् शान्ति सम्झौताले उहाँलाई कम्युनिष्ट आन्दोलनको तेस्रो नायक सिद्ध गर्‍यो । पहिलो पुष्पलाल, दोस्रो मदन भण्डारी र तेस्रो दाहाल । जुन स्थान यथावत् छ । यो स्थानमा पुग्नासाथ उहाँको सीमा अन्त्य भएन । गिरिजाप्रसाद कोइरालाको उपयोग गर्नुभयो र प्रधानमन्त्री हुने अवसर लिनुभयो, खुद कोइरालाको अपमानको कारण बन्न उहाँलाई कुनै अप्ठेरो भएन । उहाँको राजनीतिक खेलमा कहिले झलनाथ, कहिले माधवकुमार नेपाल र कहिले डा.बाबुराम सहयोगी हुनुभयो । ०७० मा संविधानसभा निर्वाचन गराउन प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने योजना पनि प्रत्यक्षमा अरूको थिएन । अप्रत्यक्षमा भन्ने हो भने समग्र नेपालको राजनीति आत्मनिर्भर हुनै सकेको छैन ।

०७० पछि कुनै दिन एमाले नेता केपी ओली, कुनै समयमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र अन्तिमपटक यतिखेर ओलीको टोउकोमा पुग्नुभएको अवस्था छ । रूपलालबाट आरम्भ दाहालको राजनीतिक यात्रा अनेक बांगाटिंगा घुमाउरा बाटा, गौँडा गल्छेडाहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । यसरी करिब पचास वर्षको राजनीतिक यात्रामा निरन्तर नेतृत्वमा बस्ने, सत्ताको सफल खेल मञ्चन गर्ने र हरेकपटक झुक्याउन सक्ने, विश्वास दिनसक्ने, प्रभाव पार्नसक्ने सामथ्र्य अरू कुनै पनि नेपाली नेतामा देखिएको छैन । माओवादीबाट सर्वाधिक पीडित क्षेत्रका जनताले समेत उहाँलाई समर्थन गरेका र मत दिएको अवस्था छ । उहाँका विरुद्ध अनेक नारा छन् अभियोग छन्, मानव अधिकार हननका अनगिन्ती सूचनाहरू सर्वत्र पुगेका छन् तर आम नागरिकको मन मात्रै होइन केपी शर्मा जस्ता चाणक्यलाई हात लिन, देउवा जस्ता लोकतान्त्रिक आन्दोलनका परिचितलाई इख्याउन, माधव नेपाल जस्ता दिग्गजलाई शून्यमा परिणत गर्न, राजावादीको झुण्डलाई आफ्नो सहयात्राको भारी बोकाउन र क्रान्तिकारी परिवर्तनकारी दाबी गर्ने नवपुस्ताको प्रतीक मानिने रवि लामिछानेहरूका काँधमा बस्न, पहाड तराई र सबै जाताजातिका धरापहरूमाथि मज्जासित टेक्न पुष्पकमल दाहाल समर्थ हुनुभएको छ । योभन्दा अनुपम के हुन सक्छ ? अबका दिनमा उहाँले सावधान हुनुपर्ने के हो भने : आफ्नो काँधमा अरू कसैले बोकाएको बन्दुकले अरू कसेको सिकार नगरोस् ।
अन्त्यमा : अनेक काँढाहरू छिमल्दै प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा कार्यकाल निष्कण्टक रहोस् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?