सत्ता गठबन्धन देश र जनताका लागि कि नेताहरूका लागि ?

प्रा. देवीभक्त ढकाल
Read Time = 16 mins

संसारमा गठबन्धन सरकार सामान्य परिस्थितिमा भन्दा संसदमा एकल बहुमत प्राप्त नभएको अवस्थामा वा युद्ध, प्राकृतिक प्रकोप जस्ता राष्ट्रिय समस्यालाई पार्टीहरू मिलेर समाधान गर्ने सिद्धान्तमा बन्छ । त्यस्तो विषम परिस्थितिको सरकार असफल हुँदा देश झन् संकटग्रस्त हुन्छ । गठबन्धनभित्रका दलहरूको राजनीतिक नीति, सिद्धान्त र कार्यशैली फरक हुँदाहुँदै देशले भोग्नुपरेका तत्कालीन जल्दाबल्दा समस्याको समाधान एउटै दृष्टिकोणले गर्ने भन्ने सहमति हो गठबन्धन । यस्तो गठबन्धन संसदीय गणितको आधारमा भन्दा समस्याबाट नागरिकलाई छिटो राहत दिने ध्येयले हुन्छ ।

गठबन्धनभित्रका फरक दृष्टिकोण राख्ने दलबीच निर्णय प्रक्रियामा समानताको प्रत्याभूति दिने पद्धति गठबन्धन हो । सिद्धान्ततः कसैलाई सत्तारूढ र सत्तच्युत गर्ने वा प्रतिशोधको संकीर्ण दृष्टिकोणबाट गठबन्धनको निर्माण हुन्न भन्ने विषयलाई नेतृत्वले आत्मसात गर्नुपर्छ । गठबन्धन राजनीतिक प्रतिशोध नभएर देशका समस्याको प्राथमिकीकरण र समाधानको सामूहिकीकरण हो । समस्या समाधानको विवादरहित सूत्र हो तर नेपालमा गठबन्धन र गठबन्धन संस्कृतिको अभावका कारण अहिलेसम्मका गठबन्धनका दल र नेताहरू चरम अविश्वासको कारण बने ।

सबै दलहरूभित्र चरम गुटबन्दी र बेमेल छ । दलभित्रका साथीहरूको विश्वास लिन सबै दलको नेतृत्व पंक्ति पूर्णतः असफल र अयोग्य छ । एक दलको नेता अर्को दलमा चलखेल गर्ने चरित्रका कारण नेतृत्वसँग जनविश्वास गुमेको अवस्था छ ।

गठबन्धनमा दलहरूको हैसियत संख्यात्मक रूपमा फरक हुँदाहुँदै त्यो विपरीत समानताको आधारमा सञ्चलन हुन्छन् भन्ने मान्यताप्रति सबै दलको प्रतिबद्धता जरुरी हुन्छ । तर नेपालमा अहिलेसम्मका गठबन्धन त्यो मान्यतालाई कुल्चने र कुनै एक दल वा दलहरूको वर्चस्व देखाउने शैली र प्रवृत्तिका कारण गठबन्धन सरकारहरू अन्ततः उपलब्धिहीन सिद्ध हुँदा नेतृत्वमा हुनेहरूको प्रतिष्ठा स्खलित छ ।

गठबन्धनको चरित्रविपरीतका क्रियाकलापले गठबन्धन सरकारहरूले अहिलेसम्म देश र जनताको हितमा सिन्को भाँचेनन् । गठबन्धनमा आबद्ध दलहरूले गठबन्धनको आवश्यकता र औचित्यलाई अहिलेसम्म व्यवहारबाट पुष्टि गर्न असफल भए । गठबन्धनप्रति जनविश्वास संकटग्रस्त छ । त्यसैले गठबन्धन देशको आवश्यकतालाई नभएर नेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिको साधन र सत्तालिप्सले हुन्छ भन्ने जनबुझाइ छ । नेपालमा भएका गठबन्धन सैद्धान्तिक रूपमा नहुँदा गठबन्धनका सरकारहरूको आवश्यकता र औचित्यलाई तर्कपूर्ण पुष्टि गर्ने प्रचलनको अभ्यास छैन । व्यक्ति वा पार्टीले प्रधानमन्त्री पद कसरी हत्याउने र अमुक व्यक्ति वा पार्टीसँग प्रतिशोध कसरी लिने भन्ने दृष्टिकोणबाट बनेका गठबन्धन सामूहिक लक्षलाई अलपत्र पार्दै सधैं तिक्ततापूर्ण अवस्थामा छुट्टिन्छन् ।

आफ्नो स्वार्थ पूरा हुने झिनो सम्भावना भए तिक्तता त्यसै हराउँछ । हाम्रा नेताहरूको राजनीतिक झगडा केटाकेटीको खेलको झगडा जस्तै लाग्छ । क्षणमै झगडा, क्षणमै मिलन । किन गठबन्धन ? किन भंग ? त्यसका कारण र परिणामको औचित्य दलले पुष्टि नगर्दा गठबन्धन सधैं शंकाको घेरामा छ । मिलन र बिछोडको सिद्धान्त भनेको सबैको पद हत्याउने र जनताका भावनालाई लत्याउने हो ।

सबै दलभित्र चरम गुटबन्दी र बेमेल छ । दलभित्रका साथीहरूको विश्वास लिन सबै दलको नेतृत्व पंक्ति पूर्णतः असफल र अयोग्य छ । एक दलको नेता अर्को दलमा चलखेल गर्ने चरित्रका कारण नेतृत्वसँग जनविश्वास गुमेको अवस्था छ । यस्तो चरित्र दलीय राजनीतिमा दलीय मूल्य, मान्यता र मर्यादाविपरीत मानिन्छ । दलहरूले निर्वाचनमा उम्मेदवार बनाउने प्रक्रिया त्रुटिपूर्ण छ । योग्य र इमानदार व्यक्ति उम्मेवार बन्नै पाउँदैनन् । उम्मेदवारको छनौटमा नातावाद, धनवाद, डनवाद, गुटवाद र टिकटको खुलम्खुल्ला टेण्डरका कारण योग्य व्यक्ति छान्ने अवसरबाट जनता वञ्चित छन् ।

कताकति चामलको बियाँ झैँ पर्ने ती योग्यमध्येका व्यक्ति नेताको चाकरी, चापलुसी र चौकिदारी गर्दैनन् । नेतृत्वले तिनीहरूलाई जिम्मेवारीविहीन बनाउँछ र सबै उस्तै त हुन भन्ने बनाएर राम्रा भनिएका उम्मेदवारलाई आफैँ जस्तै बनाएर तुलनात्मक रूपमा राम्रा हुन नदिने प्रयास हुन्छ । सबै खराब मिल्छन् । सीमित संख्यामा निर्वाचित योग्य सांसदलाई अब एउटै श्रेणीमा मूल्यांगन हुने परिस्थिति निर्माण गरेर जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ बनाउन दलीय नेतृत्व सफल छ ।

निर्वाचनले नेतृत्व परिवर्तन गर्ने सम्पूर्ण सम्भावनालाई नामेट पार्दै भ्रष्ट नेतालाई जनताले विश्वास गर्नुपर्ने परिस्थिति सिर्जना गर्छ । निर्वाचनबाट नेतृत्व परिवर्तन हुने सम्भावनालाई अविश्वसनीय बनाउन नेतृत्व सफल छ । यस्तो सफलता देश र जनताको दुर्भाग्य भन्नुपर्छ । आवधिक निर्वाचनबाट उनै पुराना र भ्रष्ट नै निर्वाचित हुने हुँदा पार्टीहरू सुध्रने सम्भावनासम्म प्रदर्शन गर्न असफल छन् । निर्वाचनले पार्टीहरूमा नयाँ नेतृत्व विकास हुन नदिने रणनीतिले नयाँ पुस्ता नेतृत्वमा आउने परिस्थिति छैन । नेतृत्व परिवर्तन वर्तमान नेतृत्वको देहावसानभन्दा पहिल्यै हुनै नसक्ने अवस्थाले नयाँ नेतृत्वको उदय हुने सम्भावनालाई नामेट पार्न सबै पार्टीको वर्तमान नेतृत्व सफल छ ।

नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीहरूको प्रतिवर्ष जनाधार घट्दा आवधिक निर्वाचनबाट कुनै एक पार्टीले बहुमत ल्याउने अवस्था छैन । यस्तो अवस्थामा नेपालमा गठबन्धन सरकार अनिवार्य जस्तै छ । समानुपातिक व्यवस्था भएको देशमा एउटै पार्टीले बहुमत ल्याउने विषय असम्भव प्रायः भएकाले त्रिशंकुु सरकारबाट दलका नेताहरूले फाइदा लिने रणनीतिनुसारै संविधानमा समानुपातिक पद्धतिलाई अंगिकार गरेका हुन् भन्दा अत्युक्ति हँुदैन । धर्म निरपेक्षता, संघीयता र समानुपातिक जस्ता संवैधानिक प्राबधानले देशमा स्थिर, एकलौटी सरकारको सम्भावना छैन । मिलिजुली शासन गर, मिलिजुली भ्रष्टाचार गर भन्ने सूत्र क्रियाशील छ । समानुपातिक पद्धतिअन्तर्गत स्थिर सरकार हुँदैन, विकास र समृद्धिको सिन्को भाँचिँदैन भन्ने अब त प्रमाणित भएको छ ।

गठबन्धन सरकारका लागि पनि नेताहरूमा लाज, नैतिकता, धर्म र इमानदारी नितान्त जरूरी हुन्छ । त्यसको अभावमा बन्ने गठबन्धनको सरकार नितान्त अस्थिर, भ्रष्ट र कुशासन मुखी हुन्छ । त्यस्ता सबै अवगुणहरूको प्रतिनिधित्व गठबन्धनका सरकारले गर्छन् । समानुपातिक पद्धति गठबन्धन सरकारको विकृतिको कारण देश र जनताको अभिशापको सूत्र हो । नेतृत्वको व्यक्तिवादी चरित्र, घमण्ड, अनैतिकता, सत्तालिप्साले गठबन्धन सरकारहरू स्थिरता र विकास दुवैमा असफलमात्रै भएनन् अफाप सिद्ध भए ।

गठबन्धनको संस्कृतिसँगै भ्रष्टाचारको संस्कृति पनि गठबन्धनका सरकारहरूले उपहार दिएकाले सरकारको उपस्थिति नै भ्रष्टाचारको उपस्थितिभन्दा हुन्छ । हाम्रा गठबन्धन सरकार राष्ट्रिय स्वार्थका कारण होइन व्यक्तिगत, गुटगत स्वार्थले बनेकाले गठबन्धन सरकारसँग न त राष्ट्रिय स्वार्थ हुन्छ न त राष्ट्रिय लक्ष्य न उद्देश्य नै । त्यसैले अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर आफ्नो स्वार्थ पूरा गर्ने माओवादी पार्टीको नेतृत्वले संसदीय निर्वाचनमा एमालेसँग कम्युनिष्ट एकताको झुत्रो नारालाई प्रयोगमा ल्याएर निर्वाचनमा गठबन्धन गरे ।

दुई वा दुईभन्दा धेरै पार्टीसँगको गठबन्धनका कारण संसदीय गणितको खेल आफ्नो पक्षमा बनाउन त उनीहरू सफल भए तर स्वार्थ प्रेरित गठबन्धन भएकाले जब उनीहरूको स्वार्थ बाझियो कम्युनिष्ट एकता र पचासौं वर्ष कम्युनिष्ट शासन गर्छौं भनेर जनतालाई झुक्याउनेबीचमा आफैं झुक्किएको अभिव्यक्ति दिए ।

कम्युनिष्टहरूको कांग्रेसलाई सिध्याउने रणनीति हो भन्ने कुरा नबुझेर पदको सम्भावित प्रलोभनमा शेरबहादुर आफैं कांग्रेस समाप्त गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्न पुगे । शेरबहादुर, रामचन्द्रजस्ता व्यक्तिहरू पुष्पकमल दाहाल र माधव नेपालको प्रवक्ता बन्दा उनीहरूले विगतमा दशकौं कांग्रेसमा गरेको लगानीलाई क्षणभरमा खरानी पारे ।

कम्युनिष्ट पार्टीहरूलाई स्थायी सरकार बनाउन जनताले दिएको जनमतलाई कम्युनिष्टले धोखामात्रै दिएनन् देशमा स्थायी सरकार दिन दलहरू समर्थ छैनन् भन्ने प्रमाणित गरे । यो संसदीय व्यवस्थाप्रतिको प्रायोजित जन अविश्वास हो । कम्युनिष्ट एकताका खलनायकहरू फेरि वर्ग शत्रु भनेर घोषणा गरेको कांग्रेस पार्टीका शेरबहादुरको शरणमा जान लाजमात्रै पचाएनन् कि अविश्वासको प्रस्तावमा फ्लोर नै क्रस गरेर आफ्नै सरकार ढालेपछि शेरबहादुरलाई माध्यम बनाएर आफ्नो स्वार्थ पूरा गर्ने खेतीपाती सुरुवात गरे ।

अब फेरि स्थानीय निर्वाचनमा व्यक्तिगत र पार्टीगत फाइदा लिन गठबन्धन बीसौं वर्षसम्म राख्छौँ भनेर जनताको आँखामा धुलो छरे । कांग्रेससँग गठबन्धन गरेका जनाधार शून्य दलहरूको निर्वाचन चिहृनमा मतदान गर्न शेरबहादुर, रामचन्द्रको दबाबलाई चुनौती दिँदै कांग्रेसका होनहार कार्यकर्ता, स्थानीय र संसदीय निर्वाचनमा बागी उम्मेदवार बन्ने वातावरण सिर्जना गरेर । कांग्रेसको संगठनात्मक संरचनालाई मात्रै ध्वस्त गरेनन् कि कांग्रेसको सबैतहको नेतृत्वमा एकअर्कालाई अविश्वास र धृणा गर्ने वातावरण निर्माण गरेर कांग्रेसको मजबुत संगठनात्मक संरचनालाई इतिहासमै नभएको क्षति गर्न सफल भए ।

यो कम्युनिष्टहरूको कांग्रेसलाई सिध्याउने रणनीति हो भन्ने कुरा नबुझेर पदको सम्भावित प्रलोभनमा शेरबहादुर आफैं कांग्रेस समाप्त गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्न पुगे । शेरबहादुर, रामचन्द्रजस्ता व्यक्तिहरू पुष्पकमल दाहाल र माधव नेपालको प्रवक्ता बन्दा उनीहरूले विगतमा दशकौं कांग्रेसमा गरेको लगानीलाई क्षणभरमा खरानी पारे । जनतालाई जसले शासन गरे पनि उसलाई चाहिएको छ सुशासन, विकास र समृद्धि । वर्तमान गठबन्धनको सरकार दिगो बनोस् हाम्रो शुभकामना तर हिजो कम्युनिष्टहरूको एकल बहुमत त वामएकताका पक्षधरले जोगाएर पाँच वर्ष टिकाउन सकेनन् भने यो खिचडी गठबन्धन लामो समय टिक्ने सम्भावनै छैन ।

सबै दलहरू व्यक्तिगत र दलीय स्वार्थका कारण जोडिएका छन् । राष्ट्रिय स्वार्थ नै नभएका नेताबाट यसलाई टिकाउने व्यावहारिक र सैद्धान्तिक आधार छैन । ध्रुवीकरणबाहेक राजनीतिक निकास र विकासको अर्को कुनै उपयुुक्त बाटो छैन । गठबन्धन सरकारको दीर्घ रोगबाट देश मुक्त हुनैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?