सत्ता राजनीति र साझा चरित्रको चिरफार

Read Time = 17 mins

✍️ चन्द्रमणि गौतम

सत्तालिप्साको राजनीतिक लुछाचुँडीले राष्ट्रका तन्तुहरू खल्बल्याएको, दण्डहिनता, भ्रष्टाचार र शासकीय दोषले राज्यलाई दयनीय तथा अस्तव्यस्त अवस्थामा पुर्‍याएको, तस्कर, कालोबजारिया तथा आर्थिक अपराधीहरू अर्थतन्त्रमा हावी भएको, देश उन्नतिको स्रोत-युवाशक्ति बेरोजगार, आजित भएर विदेश पलायन भइरहेको, समाजमा चेतना मरिरहेको र उत्तेजना फैलिरहेको, बाहृय शक्तिले हात हालेको जस्ता सनातनी भयावह परिसूचकबीच देशको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेसले हालै अप्रत्याशित, नाटकीय तथा तिलश्मी तरिकाले सत्ता-गठबन्धनको नेतृत्वबाट हट्नु पर्‍यो र नयाँ गठबन्धन सत्तामा पुग्यो । नयाँ र पुरानो गठबन्धन सरकारको आकृतिमा फरक होला तर प्रकृति र तात्विक विशेषतागत रूपमा एउटै प्रजातिका हुन् पहिलेको र अहिलेको सरकार ।

विद्यमान परिस्थितिले स्पष्टै औंल्याएको तीतो यथार्थ हो-नेपाल, नेपाली र नेपाली कांग्रेस आज एकसाथ प्रतिरक्षात्मक र अन्योलको दोबाटोमा पुगेका छन्, मानौँ जनता, भनेको राजनीतिले लादेको यातना र खानु-बिराउनु विनाको दण्ड-सजाय चुपचापसँग भोग्नुपरेका मूक प्राणी हुन् । कांग्रेसले नेतृत्व गरेको गठबन्धन-सत्ता अनायास खोसिएर होइन, जनसमर्थन नपुगेर पनि होइन, आफूभित्रकै दोष र कमजोरीले गर्दा सत्ता गुमाउनु पर्‍यो । नेतृत्वको अनुत्तरदायी, अहंकारी, सतही र लापरबाहीपूर्ण कार्यशैलीको कारणले पार्टीको संगगठनात्मक स्वास्थ्य पनि निकै रुग्ण अवस्थामा पुग्यो । तै पनि, प्रतिनिधिसभामा एकल ठूलो पार्टी भए पनि सत्ताबाट हट्नुपरेको गल्तीको बारेमा समीक्षा गर्ने र सार–शिक्षा लिने इच्छामा कांग्रेसको नेतृत्व नदेखिनु मूर्खतापूर्ण हठ हो ।

कांग्रेसको वर्तमान नेतृत्व-मण्डली बासी विचार तथा पुरातन कार्यशैलीबाट मुक्त नभएकाले उत्साहहिन र निर्भीक चरित्र–चित्रण गर्नुपर्दा लफंगापनले ग्रसित छ । संस्थागत र पार्टी विधान अनुरूपको क्रियाकलाप न्यून छ भने नेतृत्वको स्वेच्छाचारिता, अंकुशरहति र अनियन्त्रित अवस्थामा घिसिपिटी चलिरहेको छ ।

नेपालमा हालेको मतले मात्र होइन फालेको मतले पनि निर्वाचन जित्न सकिन्छ । गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा कतिपय नयाँ दल संसद्मा आइपुगेको पृष्ठभूमि हेर्दा जनताको उल्लासपूर्ण मानसिकताको अभिव्यक्ति पाइन्न । नयाँ दलहरूको उत्पत्तिको कारण ती पार्टीहरूको मौलिक वा विलक्षण विशेषता नभई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले सत्तामा बसेर गरेको ज्यादतीको परिणामजन्य उपज हो । साविकका पार्टीहरूप्रति जनताले व्यक्त गरेको आक्रोश, अविश्वास र निरासाको एकमुष्ट रूप नवोदित पार्टीहरू प्रकट भए । सत्ता चलाएका र चलाइरहेका तीन दलले फालेको मत नयाँ पार्टीको रूपमा देखापरे ।

शान्ति र अमनचैन कहिल्यै नहुने घरपरिवारका बालकहरूको मनोविज्ञान बिग्रेर तिनीहरूमा विचलन आउन थाल्दछ । नेपालका पार्टीहरूमा त्यही हालत छ । नेताहरूको सिद्धान्तहीन, अनैतिक झगडाले पार्टीको प्रतिष्ठा, लोकप्रियता त खस्किन्छ नै कार्यकर्तामा वितृष्णा, निरासा र पलायनको अवस्था उत्पन्न हुन थाल्छ । साविकका पार्टीभित्र कार्यकर्ताको निरासा, विचलन नयाँ पार्टीहरूको भाग्य बन्यो । तर, संसदमा आउनासाथ नवोदित पार्टीहरूले विपक्षी बेञ्चमा बसेर सरकारमाथि खबरदारी सशक्त बनाउन जनताको अपेक्षालाई भरोसामा विकसित गर्न खोजेनन् । संसद्मा आउनासाथ सत्ताको खेलमा च्याँखे खेलाडी बनेर प्रस्तुत भएका छन् । यसबाट जनताको अपेक्षा र विश्वासमा कुठाराघात नहुने सुनिश्चितता भने अझै टाढै रहेको छ ।

कांग्रेसको वर्तमान नेतृत्व-मण्डली बासी विचार तथा पुरातन कार्यशैलीबाट मुक्त नभएकोले उत्साहहिन र निर्भीक चरित्र-चित्रण गर्नुपर्दा लफंगापनले ग्रसित छ । संस्थागत र पार्टी विधान अनुरूपको क्रियाकलाप न्यून छ भने नेतृत्वको स्वेच्छाचारिता, अंकुशरहति अनियन्त्रित अवस्थामा घिसिपिटी चलिरहेको छ । उपलब्ध परिस्थितिमा पार्टीले अपनाउने कार्यनीति, गन्तव्य, लक्ष्य र रणनीति के हो ? अन्य पार्टीसँगको रणनीतिक सम्बन्ध वा तालमेल के हो ? त्यतातिर ध्यान र चिन्तन भएको नदेखिने खेदजनक परिस्थिति छ ।

नेतृत्वका लागि माथिल्ला ओहोदा, जिम्मेवारी ताक्ने धेरै छन् तर पार्टीलाई संगठित र जनभावनाका साथ मिलाएर नेतृत्व दिनसक्ने योग्यता, सामथ्र्य र इच्छाशक्ति भएको दूरदर्शी र जिम्मेवार नेता कोही छैनभन्दा धेरैलाई नमिठो लागे पनि अतिशयोक्ति नहोला । यस्तो अवस्थालाई पार्टीको वैचारिक मृत्यु भनिन्छ, जहाँ आधारभूत वा अपरिवर्तनीय सिद्धान्त पनि मुच्र्छित वा स्खलित स्थितिमा पुग्नसक्छ ।

निष्ठाको राजनीति गर्नेहरू मूल्य र मान्यताका लागि लड्दछन् । तिनीहरूको लडाइँ आदर्शले प्रेरित हुने गर्छ । नेपाली समाज रामायण र महाभारतका चरित्रप्रति परिचित, आकाश-पातालको अन्तर मान्यता बुझेको जनसमुदाय हो । रामायणको मान्यता छ, राज्यका निम्ति दाजुभाइ आपसमा नलड्ने । महाभारतको मान्यता हो राज्यका निम्ति दाजुभाइ नलडी नछोड्ने । रामायणमा सम्बन्ध जोड्दै जाने, जोडेका सम्बन्धलाई घनिष्ट बनाउँदै जाने प्रयत्न हुन्छ ।

महाभारतमा भइरहेको सम्बन्ध पनि तोडिएर शत्रुतामा परिणत हुन्छ । नेपाली कांग्रेसका संस्थापक राजनेताहरूमा एकले अर्कोलाई पद सुम्पिने रामायण-चरित्र थियो । आजका देउवा वा अन्य समकालीनमा पदको पछि अन्धो भएर लाग्ने र छोड्नुपर्ने अवस्थाको पदमा समेत सबैलाई शत्रु बनाएर भए पनि टाँसिइरहने महाभारत–चरित्र छ । नेपालको वर्तमान सत्ता राजनीतिमा महाभारतका सम्पूर्ण रहस्य र इन्द्रजालहरू लागू भइरहेका छन् ।

पञ्चायतकालमा कांग्रेस प्रतिबन्धित हुँदा आफ्नो सैद्धान्तिक अडान र स्वाभिमानका आधारमा राष्ट्रिय शक्तिको रूपमै रहृयो । कांग्रेसका व्यक्त विचारले तत्कालीन राजनीतिक वृत्तमा महत्वपूर्ण हलचल ल्याउँथ्यो । प्रतिबन्धित भए पनि कांग्रेस के भन्छ भनेर अन्तर्राष्ट्रिय जगतले समेत महत्वका साथ सुन्ने गथ्र्यो । कांग्रेसलाई ‘एक नम्बर दुश्मन’ घोषणा गरेका कम्युनिष्ट घटक पनि महत्वपूर्ण राजनीतिक मोडमा कांग्रेसकै मुख ताकेर सोही तालमा आफ्नो चाल मिलाउँथे । गम्भीर कदमका लागि निर्णय लिनुपर्दा सबै पार्टी कांग्रेसकै प्रांगणमा भेला हुने गरेका हुन् । दस्तावेजमा लेखिएका पार्टीका सिद्धान्त र नीति व्यवहारमा अनुवाद भएकै हुन्थे । पार्टी नेतृत्वले कार्यकर्तामा वैचारिक नयाँपन खोज्ने गथ्र्यो । जनप्रिय, अध्ययनशील, विचारवान र नैतिकवान कार्यकर्ता नेतृत्वको प्रिय हुने गथ्र्यो । नेतृत्वको एक आहृवानमा कार्यकर्ता ज्यानको आहुती दिन तयार हुन्थे ।

व्यवस्था बहुदलीय हुँदैमा सार्थक लोकतन्त्र भइहाल्ने प्रत्याभूति हुँदैन । जनताले मत दिएका पार्टीहरूलाई लोकतन्त्रका संवाहक र जनताका सेवकका रूपमा हेर्न चाहेको कुरामा कुनै विवाद नहोला । तर, पार्टीहरूका क्रियाकलाप लोकतन्त्रको संवाहक होइन लोकतन्त्रको उपभोक्ता भएको र जनताको सेवक होइन केवल जनमत बटुल्ने मालिक भएको, पार्टीहरूकै साझा प्रवृत्तिले झल्काउँछ । पार्टीहरूमा सत्तालिप्साको एकोहोरो ध्यान र नेताहरू सत्तालिप्साका मनोरोगी (साइकियाट्रिक)को रूपमा देख्नुपर्दा कोतपर्वको प्रेतले ऐँठन लगाएको भन्ने अर्थ लगाउनु कुनै दोष नहोला ।

नारामा देश र जनतालाई शीरमा राखिन्छ तर व्यवहारमा पैतालामुनि पुर्‍याइन्छ । रूपमा लोकतन्त्रवादी तर आचरणमा अधिनायकवादी हुने नेतृत्वलाई सत्ता सुम्पिएपछि त्यही हालत हुनसक्छ, जुन हालत मस्जिदका मौलानालाई पशुपतिको भट्ट बनाउँदा हुन्छ । यो एकादेशको कथा होइन, हाम्रै वरिपरि देखा परिरहेको साक्षात चरित्र हो । हिटलरको उदय बालिग मताधिकारको गलत अभ्यास र लोकतान्त्रिक संसद्बाटै भएको इतिहास नभुल्न उपलब्ध परिस्थितिले घच्घच्याइरहेको छ ।

जनादेश त एकल ठूलो पार्टी भए पनि सत्ता सम्हाल्ने बुद्धि र ढंग नभएपछि नियतिले नेपाली कांग्रेसलाई संसदमा मुख्यविरोधी दलको भूमिका निर्वाह गर्ने स्थानमा पुर्‍याएको छ । न्यूनतम संख्याबल, हैसियत र क्षमता नपुग्ने पार्टीलाई सत्ताको प्रलोभन देखाएर अस्थिरताको सत्ता–खेलमा लाग्न कांग्रेसलाई किमार्थ शोभा दिँदैन ।

पृथ्वीनारायाण शाहको पालादेखि नै नेपालले जसरी अस्तित्व बचायो, त्यसमा कूटनीतिक चलाकी निहित थियो । बीचबीचमा कमजोर कूटनीति हुँदा राष्ट्रिय अस्तित्व र भौगोलिक अखण्डता धरापमा परेको थियो । हिजोका दिनमा अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक गतिविधि निकै महत्वपूर्ण मानिन्थ्यो । नेपाल राष्ट्रसंघ सुरक्षा परिषद्को दुईपटक अस्थायी सदस्य हुन पायो । आज त्यो कूटनीतिक दक्षता कहाँ लोप भयो ? दलहरूले जनतालाई जवाफ दिऊन् । स्थिति यतिसम्म दयनीय भइसकेको छ, २०७२ मा भूकम्पले थिलथिलो भएको नेपालमाथि भारतले थोपरेको नाकाबन्दीले प्रतिबिम्बित गरेकै हो । नाकाबन्दीको विरोधमा बोलिदिने नेपालले एउटा मुलुक पनि पाएन, न त नेपालका अग्रणी पार्टीहरूले नै नाकाबन्दी भन्ने हिम्मत देखाउन सके । असफलोन्मुख राज्यको प्रारम्भिक लक्षण र संकटग्रस्त नेपालको असफल छिमेकी नीति एवं विदेशनीतिको प्रारम्भिक रूप हो यो ।

‘ठूला’ पार्टीहरूमा क्षुद्र हानथाप मच्चिरहनु नियमित आकस्मिकता नै भएको छ । यस चरित्रको कलहले गैरजिम्मेवारी र पतनशीलता नाप्ने डिग्रीको काम गरेको छ । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसभित्र पन्पिरहेका कलहहरू सैद्धान्तिक द्वन्द्व होइनन्, न त जनतालाई सुविस्ता दिने होडबाजीका क्रममा पैदा भएका हुन् । यी पार्टीभित्र जनताले भोगेका कमी, कठिनाइ र आवश्यकताबारे एजेण्डाका रूपमा बिरलै छलफल भएको छ । भ्रष्टाचारबाट मुलुकलाई मुक्त राख्न पार्टीहरूमा शुद्धीकरणका लागि निर्ममतापूर्वक देशव्यापी अभियान चलाउनुपर्नेमा कहिल्यै सोचिएन ।

जनादेश त एकल ठूलो पार्टी भए पनि सत्ता सम्हाल्ने बुद्धि र ढंग नभएपछि नियतिले नेपाली कांग्रेसलाई संसदमा मुख्यविरोधी दलको भूमिका निर्वाह गर्ने स्थानमा पुर्‍याएको छ । न्यूनतम संख्याबल, हैसियत र क्षमता नपुग्ने पार्टीलाई सत्ताको प्रलोभन देखाएर अस्थिरताको सत्ता–खेलमा लाग्न कांग्रेसलाई किमार्थ शोभा दिँदैन । शेरबहादुर देउवा कांग्रेसका सभापति हुन् तर उनी नै नेपाली कांग्रेस होइनन् । कांग्रेसले आफ्नै बुतामा खडा भएर आफ्नो देशव्यापी जनाधार र पार्टी-संगठनको भरमा लोकतान्त्रिक राजनीतिक भूमिका निर्वाह गर्नुपर्छ । पार्टीको लोकप्रियता, प्रतिष्ठा र गरिमाको मूल्यमा मनपरी गर्ने छुट देउवा वा कसैलाई छैन । कांग्रेसको वर्तमान भूमिका, प्रमुख विपक्षी दलको रूपमा सरकारका गलत क्रियाकलाप उदांग बनाउने र अस्तव्यस्त भइरहेको पार्टीको संगठनात्मक संरचनालाई सुदृढ बनाएर शक्ति आर्जन गर्नेमात्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?