कफी कृषकलाई बगैँचा व्यवस्थापन सम्बन्धि पाठशाला

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा कफीको बगैँचा व्यवस्थापनका लागि कृषकहरुलाई विभिन्न अभ्यास गराउन सुरु गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीले कफी कृषकहरुको बगैँचामा नै गएर कफीको बगैचा व्यवस्थापन सम्बन्धि विभिन्न अभ्यास १४ हप्तासम्म गराउने भएको हो ।

प्राङ्गारिक कफी बगैचा व्यवस्थापन सम्बन्धि पाठशाला सुरु गरेर कफी कृषकलाई कफीको बिरुवाको बारेमा दक्ष बनाउने उदेश्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख गंगा कुमारी पोख्रेलले जानकारी दिनुभयो ।

“पाठशालाबाट कृषकहरुको दक्षता वृद्धि गर्ने र आफ्नो कफी बगैचामा देखिएका स-साना समस्याहरुलाई आफै पहिचान गर्ने क्षमता विकास हुनेछ ।” उहाँले भन्नुभयो, “हामीले कृषकहरुलाई कफीको उत्पादन, उत्पादकत्व वृद्धि, समस्या पहिचानका साथै रोग–किराहरुको बारेमा जानकारी गराउछौं ।”

यस पाठशालाबाट कृषकहरुले स्वस्थ बाली उत्पादन गर्न सक्ने प्रेरणा मिल्नेछ । खेतबारीको नियमित अनुगमन गरिने तथा मित्र जीवको संरक्षण गरिने सम्बन्धि कुराको जानकारी गराइने उहाँले बताउनुभयो ।

यहाँ पाठशालामा समूहगत रुपमा व्यवसायीक कफी कृषकहरुको सहभागिता हुने गर्दछ । कफी खेतीको बारेमा जानकारी लिनका लागि उनीहरुले साताको एक पटक कार्यालयका कर्मचारी तथा कफी अनुसन्धान विज्ञहरुसँग बिशेष कक्षा मार्फत पनि जानकारी लिने बताइएको छ । कफी कृषकले मनमा लागेको जिज्ञासा तत्कालै सोधेर समस्याको पहिचान गर्ने छन् ।

मदाने गाउँपालिकाको सिर्सेनी, मालिका गाउँपालिकाको मर्भुङ्ग, सत्यवती गाउँपालिकाको कुटडाँडा, लाहरच र मराङ्गदी, कालीगण्डकी गाउँपालिकाको खोत्रोक लगायतका विभिन्न स्थानमा प्राङ्गारिक कफी बगैचा व्यवस्थापन सम्बन्धि कृषक पाठशाला सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीले जनाएको छ ।

यस जिल्लाका १२ वटै स्थानीय तहमा कफी खेती गरिन्छ । यहाँ १०९ हेक्टर कफी उत्पादनशील क्षेत्र रहेको छ । जसमा २।५ मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । ३२ समूह, सहकारी तथा फार्महरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीमा सूचीकृत भएको परियोजना प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?