संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमती, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु । प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिवद्ध छु । यो देशमा जतिपनि सार्थक परिवर्तन भएका छन । बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन । १०४ वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामी बीचको सहकार्यकै परिणाम हो । राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकैठाउमा उभिदै आएका छौं । हामी मिल्दा देश अगाडि गएको छ । नमिल्दा देश संकटतिर गएको छ ।’

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?