वेल्स र फ्रान्सका कप्तानको सन्न्यास

Read Time = 4 mins

लण्डन । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्न्यास घोषणा गर्नुभएको छ । बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्न्यास घोषणा गर्नुभएको हो ।

बेलले सामाजिक सञ्जालबाट सन्न्यासको घोषणा गर्नुभएको हो । ‘होसियार र सोचविचार गरेर मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्न्यासको घोषणा गर्दछु’, उहाँले भन्नुभएको छ, ‘मलाई मनपर्ने खेललाई मैले करिअर बनाउन पाएँ । त्यसमा म सन्तुष्ट छु ।’

बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनुहुन्छ । उहाँले वेल्सका लागि १११ खेल खेल्नुभएको छ । साउथ हृयाम्पटनबाट व्यावसायिक फुटबलको थालनी गर्नुभएका बेलले टोटेनहम र रियल मड्रिडबाट खेल्नुभएको थियो । पछिल्लो पटक उहाँले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेल्नुभएको थियो । कतार विश्वकपमा बेलले वेल्सको नेतृत्व गर्नुभएको थियो ।

बेलले रियल मड्रिडबाट पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्नुभएको छ । उहाँ देशका लागि समेत सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुनुहुन्छ । उहाँले देशका लागि ४१ गोल गर्नुभएको छ । वेल्सले पाएको आजसम्मकै उत्कृष्ट खेलाडीका रूपमा उहाँलाई चिनिन्छ ।

टोटेनहम हट्सपरमा रहँदा बेल दुईपटक वर्ष खेलाडी बन्नुभएको थियो । २०१२-१३ पछि उहाँ तत्कालीन विश्व कीर्तिमान मूल्यमा रियल म्याड्रिड पुग्नुभएको थियो । उहाँका लागि रियलले त्यसबेला ८० मिलियन युरो तिरेको थियो ।

रियलमा रहँदा बेलले पाँच च्याम्पियन्स लिगको उपाधिसहित तीन लिगको उपाधि पनि जित्नुभयो । त्यसबाहेक उहाँले तीन क्लब विश्वकप, तीन युएफ सुपर लिग र एउटा स्पेनिस कपको पनि उपाधि जित्नुभएको छ ।

यस्तै, विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक हृयुगो लोरिसले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । ३६ वर्षीय लोरिसकै कप्तानीमा फ्रान्सले २०१८ मा विश्वकपको ट्रफी उचालेको थियो । ‘मैले सबथोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने निर्णय गरेको छु,’ लोरिसले सन्न्यास घोषणा गर्दै भन्नुभयो, ‘मलाई लाग्छ कि यो अहिले घोषणा गर्नु महत्वपूर्ण छ । किनकि युरो छनोट सुरु साढे दुई महिनाको समय छ ।’

फ्रान्स युरो २०२४ को छनोट समूहमा जिब्राल्टर, ग्रिस, नेदरल्याण्ड्स र रिपब्लिक अफ आयरल्याण्ड रहेको समूहमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?