गज्जब काशी, काश्मीर र अजब नेपाल

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 14 mins

अहिलेको साल पनि नेपालको शिरको साँढेसाती हटेन । धेरैलाई आस थियो बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएपछि नेपालका राजनीतिकर्मीका घैँटामा घाम लाग्नेछ । नेपाली राजनीति विश्वको भन्दा अलि फरक त थियो नै । यहाँका हामी नेपाल राज्यको एकीकरण हुनुभन्दा पहिले साना धेरैवटा भारेभुरे राज्यका अधिनमा रहेका थियौँ । सानाले सानालाई नै पायो भने नराम्रोसँग हेप्छ, दल्छ र उसलाई स्वाभिमानहीन बनाएर छाड्दिन्छ । रूस र युक्रेनले यो उदाहरण पाउनुपर्छ जस्तो लाग्छ मलाई ।

म पनि मान्छे हुँ त्यो पनि मान्छे हो भन्ने भाव नै पुटिनमा देखिएन । मजस्तै मान्छेमा भएका जति सबै गुण र क्षमता ममा पनि छन् भन्ने बोधका अभावको मान्छेमा मान्छेत्व नै मरेको हुँदोरहेछ । म सानो छँदा सिन्धुली जिल्लाको एउटा गाउँमा बस्थेँ । त्यहाँ पनि सबै नेपाली पहाडी गाउँबस्तीमा जस्तै बाहुन, क्षेत्री, दमाईं, कामी, तामाङ, मगर, नेवार, माझी, दनुवार, बिग्रन्ती, सन्यासी आदि पहाडी जातका अनेकौं थरिको बसोवास थियो । त्यसमध्ये झार्लाङ्टार, बेसारेको बेसी, मोरङ्ङेटार, टारीगाउँ र माझी दनुवार गाउँमा गरेर जोड्दा पुगनपुग दुई सय घर जतिको आवादी हुँदो हो ।

यति आवादीमा आफ्ना जमिनमा खेती गरेर खान पुग्ने मुस्किलले २०/२५ घरभन्दा बढी भएजस्तो मलाई आज पनि लाग्दैन । धेरै भयो म नगएको कस्तो भयो मान्छे तिनै त्यहीँ छन् कि म जस्तै बसाइँ सरेर कहाँबाट कहाँ गइसके भन्न सक्दिन । बुधे सार्की, गुमाने सार्की साला भेना थिए । गरिब तर असाध्य इमान्दार । हाम्रा घरमा दशौं वर्ष यिनले हलो जोते । अरूका घरमा हली गोठालालाई च्याँख्ला या त कोदाको ढिँडो र गुन्द्रुक अनि मोहीसँग मात्र खान पाउँथे रे । हाम्रा घरमा सबैलाई एकै खालको भाततिहुन पकाउने चलन थियो । बा भन्नुहुन्थ्यो खाने कुरामा विभेद गर्नु हुँदैन सबैको आँत एकै हो ।

धेरै वर्ष भइसक्यो तिमीलाई बाली पनि बढाएको छैन क्यारे किन हाम्रामा जोतिराखेको गुमाने दाइ ? भनेर मैले सोध्दा एक दिन उसले पल्याकपुलुक हेरर मलाई नजिकै बोलाएर भन्यो, ‘नानीहरूको घर मैले छोडेँ भने त फेरि मैले यस्तो घर पाउनै सक्दिन नि ।’ त्यस्तो के रहेछ हाम्रा घरमा मैले बुझेको थिएन । गुमाने दाइ रोगी भए । बाले कता कता लगेर उपचार गर्दा पनि निको भएन । हलो जोत्न नसक्ने भए । हामीले अर्को हली राखेछौँ तर चाडबाडमा सधैँ गुमाने दाइका परिवार हाम्रै घरमा खान्थे सानो काम गर्र्थे र केही लिएर पनि जान्थे । म जनकपुरमा गएर पढ्न थालेँ ।

मेरा गाउँका ती निम्नवर्गीय केटा, रोशीखोलाका मानिस र आजको मेरा देशका कांग्रेस-कम्युनिष्टमा कहाँनेर छन् भिन्नता प्रमाणित गरिपाऊँ । त्यस बेला लुकेर ज्यान बचाउन लुट्थे, आज हाक्काहाक्की महल ठड्याउन र विदेशी बैंकमा पैसा जम्मा गर्न जनता लुट्छन् सरकारमा बसेर ।

कहिलेकाहीँ घर आउँदा मलाई तेरा बाबुआमाले खोलाचलन बिगारेर बसिनसक्नु भयो । हलीगोठालालाई पनि आफूले खाने भातदाल दिन्छन्, हामीले त मान्छे पाउन छाड्यौँ । पछि यस्तै कुरामा निकै झगडा भएछ गाउँमा त्यसपछि बा लेटाङतिर जानुभयो । म पनि पढ्न छाडेर आइन अनि त आमा पनि बाकै पछि लाग्नु भएछ अब त सन्चो भयो गाउँलेलाई कि ? माओवादी पनि भए होला शोषक सामन्त भनेर कतिलाई उठीबास गराए होला । आज म सम्झन्छु हामी शायद त्यसबेला ५०औं मुरी अन्न बेच्थ्यौँ । हाम्रामा हलीगोठालो बस्नेले काम र ज्यान हेररे सालको पाँच मुरी या तीन मुरी यस्तै कति पाउँथे । न अड्डा थियो न त अदालत ?

आज मिटर ब्याजीका मुठीको माखो हाम्रो सरकार बनेको देखेर माओवादी हुँ भन्नेले अवैध पैसा देशमा भित्र्याउने प्रयास गरेको देख्दा मेरो चेतना प्रत्यावर्तीत भयो र त्यस बेलाको गाउँमा पुग्यो । आखिर शोषक त जो पनि हुँदोरहेछ । मत्स्यन्याय त हटेको रहेनछ त । आफू हृवेल माछो बनेर प्रचण्ड भुरो खान खोज्दा शेरबहादुर देउवामात्र होइन उनका अघिपछि दायाँबायाँ चमर हम्कनेको पनि हिस्सबुढी हरिया दाँत भए । गरिबका तारणहारले पनि मौका परेपछि छाड्दा रहेनछन् त गराउँदा नै रहेछन् ।

फागुन-चैततिर भयानक खडेरी हुन्थ्यो । गरिबका घरमा आगो बल्दैनथ्यो । सक्ने र बद्मास चारकोसे झाडी कुर्न जान्थे । हाम्रा गाउँका निम्नवर्गीय मानिसको सालिन्ने धन्दै यही हुन्थ्यो । कहिले काहाँको लुटियो रे भन्थे । म चाहिँ त्यस्तो खबर सुन्नेबित्तिकै मेरा गाउँका को को हिँडेछन् भनेर दिनभरि गाउँ डुलेर साथी खोज्थेँ । आज ती साथी कहाँ छन् ? के गर्दै छन् ? मनमा अनेकौं प्रकारका खुल्दुली उठ्छन् । रोसी खोलाका बाटामा तल कोशीमाथि आटब्बेको भीर जंगल अनि त बाटामा कोही आएपछि मान्छे वरपरबाट बोलेको सुनिन्थ्यो रे लैनु कि ? थारो कि ? बकेर्नु कि ? टकेर्नु ? यसपछि भगवानका कृपाले कोही बाँचेमात्रै नत्र सुनकोशीका माछाको आहार बटुवा बन्थे रे ।

उससँग भएको दनदौलत मालमत्ता चाहिँ रोशीखोलेका पोल्टामा पुग्थ्यो भनेको पनि सुन्थेँ । पछि त्यो बाटो हिँड्दा ५/६ जना नभइकन हिँड्नु हुँदैन भनेर भनेको सुनेँ पनि र भोगेँ पनि । अलिकति त शंकर कोइरालाले ‘खैरेनी घाट’ मा चित्रण गरेका छन् तर भोक्ताले जे भोगे त्यो त न शंकरले उतार्न सके न त अर्को कुनै बंकरले नै । सामाजिक थिचोमिचो (खासगरी आर्थिक) निर्मूल पार्न राज्यनियन्त्रित अर्थतन्त्र चीनको जस्तो, पुँजी नियन्त्रित अर्थतन्त्र अमेरिकाको जस्तो र मिश्रित अर्थतन्त्र भारत नेपालको जस्ताको विकास ग¥यो मानवले तर पनि खोइ त समाधान ? चीनमा जति मान्छे एक्लो निरीह र असहाय विश्वमा काहिँ देखिनँ मैले ।

बोल्न पाइँदैन, कानुन छैन, खल्तीमा पैसा पनि छैन भने रोएर सडकका किनारामा मर्नु या मारिनु बाहेक चीनमा मान्छेको अर्को गति छैन । साना त्रुटिमा पनि तातो गोली आफ्ना नागरिक या विदेशीलाई हान्ने अनि दुनियाँका अगाडि धाक लाएर कोरोनाका निहुँमा चिनियाँ जनतालाई दुःख दिनेलाई छाडिँदैन भनेको सुन्दा जे मन लाग्छ गर, चर्को स्वर निकाल दुनियाँले तिम्रो सामाना गर्नै सक्दैन भन्ने चार्वाकीय दर्शन भनेको नै आजका कम्युनिष्ट हुन् झैँ लाग्यो । हुन त राजनीतिशास्त्रका बोके दार्शनिक रिसाउलान् मेरा कुराले तर मैले त यस्तै देखेँ भोगेँ र लेखेँ है त ।

मेरा गाउँका ती निम्नवर्गीय केटा, रोशीखोलाका मानिस र आजको मेरा देशका कांग्रेस कम्युनिष्टमा कहाँनेर छन् भिन्नता प्रमाणित गरिपाऊँ । त्यसबेला लुकेर ज्यान बचाउन लुट्थे, आज हाक्काहाक्की महल ठड्याउन र विदेशी बैंकमा पैसा जम्मा गर्न जनता लुट्छन् सरकारमा बसेर । अब पनि हामी भन्न सक्छौँ ? हाम्रो विकास भएन भनेर ? जीवनभरि घाँस काट्न भकारो सोहोर्नभन्दा नजानेका पनि त सांसद मन्त्री बने । के यो विकास होइन ? सबै कुचाको मुख काटेजस्तो एकनास एकछत्त त कल्पनामा मात्रै सम्भव छ होइन ?

हिजोका बुधुने र गुमाने आज स्रोत नखुलेका विदेशी पैसा ओसार्न लागेका छन् । ती केटाहरू कुनै न कुनै मन्त्री सांसदका पिए बनेर दैनिक लाखौंको व्यवस्था गराइरहेका छन् । हिजो तिनीहरू नै अहिले नागरिकता विवाद झेलेर नै भए पनि बन्दुक र घँगारुका हाकिम बनेका छन् ।

हिजोका बुधुने र गुमाने आज स्रोत नखुलेका विदेशी पैसा ओसार्न लागेका छन् । ती केटाहरू कुनै न कुनै मन्त्री सांसदका पिए बनेर दैनिक लाखौंको व्यवस्था गराइरहेका छन् । हिजो थकौले घारीमा गाउँका सोझा अनक्षरा भाँड्ने उरन्ठेउला अहिले नागरिकता विवाद झेलेर नै भए पनि बन्दुक र घँगारुका हाकिम बनेका छन् । यो देशले जति विकास दुनियाँका कुनै देशले पनि गर्न सकेका होलान् जस्तो मलाई लागेको छैन । नागरिकता विवाद होस् या श्रेयप्रेय पस्कनेको लर्को गनी साध्यै नहोओस् ताकेकै पाइन्छ पाइन्छ । खाली नुनढिकी नफोर्ने र अलिनु नखानेको जोडी मिल्नु पर्छ । केहो त्यो नैतिकता र चरित्र ?

त्यसले के दिन्छ ? दुनियाँका अन्य कुनै देशमा यस्तो हुनसक्छ ? असम्भव कुनै हालतमा हुँदैन । धन्य हुन् पशुपति शर्मा ‘अन्त छैन छुट..., लुट्न सके लुट कान्छा’ भनेर उनले त बेलैमा सल्लाह दिएका हुन् । बुझ्नेले नबुझेपछि के लाग्यो ? जसको बोल्ने लुर छैन उही दलको नेता, जो हिंसाको राजनीति गरेर आयो उही गरिबको तारणहार, न्यायप्रेमी, विकासप्रेमी वाहरे नेपाल, गज्जब काशी काश्मीर अजब नेपाल । बाघ, स्याल, सर्प, भ्यागुतो, बाज, परेवा, बिरालो र मुसाको जोडी मिलेर देशको विकास गर्ने भएका छन् ।

कति रमाइलो जुन खोलीमा पानी नाई त्यही खोलीले हजार मुरे खेत बगायो । नीलो मसीमा डुबेको स्याल स्यालै हो कि होइन भनेर छुट्याउन वनको स्याल कराउन्जेल त पर्खनै पर्छ । जुन गोरुको सिङै छैन उसैको नाउँ तिखे । शास्त्रले पनि भन्छ- ‘निरस्त पादपे देशे एरन्ड्योपि द्रुमायते’ यस्तै हो ओली र शेरबहादुरजी अहिलेको नेपालका क्रान्तदर्शी राजनेता नमरी बाँचे कालले साँचे ‘स्यालका सिङ र मुसाको जुरो’ पलाएको पनि देख्न पाइने रहेछ कि क्या हो ?

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2023-01-11 3:20 pm

केपी ओलीले बालुवाटारमा तीन घण्टा थुनेर दाइलाई पनि उखान टुक्का हालेर पेल्न सिकाए जस्तो छ। नेताहरूले पढ्दैनन् के गर्नु। दनक राम्ररी पुगेको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?